परीक्षामा जनप्रतिनिधि

संविधानले परिकल्पना गरे बमोजिम स्थानीय तहमा पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ । निर्वाचित जनप्रतिनिधिहरुले देश र जनताको नाममा सपथ लिएर कार्यभार सम्हालिसकेका छन् । सरकारका स्थानीय इकाइमा झण्डै २० वर्ष लामो जनप्रतिनिधिविहीन अवस्थाको अन्त्यसँगै नागरिकमा नयाँ उत्साह र आशा पनि पलाएको छ ।
निर्वाचित जनप्रतिनिधिले नागरिकको आशा र विश्वास कति यथार्थमा उतार्छन्, अब नागरिकका ध्यान त्यता केन्द्रित हुँदैछ । सरकारका स्थानीय इकाइमा जनप्रतिनिधि चुन्ने नागरिकका पट्यारलाग्दो पखाईको समाप्ति भएको छ । अबविकास र समृद्धिका बाटोमा जनप्रतिनिधिहरु कसरी अघि बढ्छन्, उनीहरुको निर्णय, दुरदर्शिता र कार्यशैलीमा भर पर्नेछ ।
जनप्रतिनिधिका कामतिर नागरिक दृष्टि केन्द्रित भइरहेको बेला निर्वाचनमा दलहरुले देखाएका कार्यशैली ओझेल पर्दैछ । निर्वाचनमा कसले जित्ने वा कसले हार्ने भन्ने कुरा प्राविधिक विषय हो । तर कसैको जित वा हार अहिलेका सचेत नेपालीका लागि दलहरुले मनन् गर्नु जरुरी छ ।
प्रदेश नं. ४ मा निर्वाचनका बेला देखिएका केही अनोठा गतिविधिका विरुद्ध देखिएको जनमतको कदर दलहरुले गर्छन् या पुन लत्याउँछन्, हेर्न बाँकी छ । स्थानीय निर्वाचनमा सबैभन्दा वैचारिक मदभेद राख्ने कांग्रेस–माओवादी केन्द्र गठबन्धन होस् या एमाले–राप्रपा गठबन्धन, नागरिकले त्यस्ता गठबन्धनलाई खारेज गरिदिएका छन् । मत परिणाम तपाईं हाम्रो सामुन्ने छ ।
पोखरा महानगरमा एमालेसँग १३ हजारभन्दा बढी मतान्तरले हार्नुपर्ने कांग्रेसको नियति अहिले यथार्थ बनेको छ । यो नियति भोग्नुका पछाडि दलभित्रका आन्तरिक कारण त होला नै, त्योभन्दाबढी वैचारिक संघर्षमा रहेको माओवादी केन्द्रसँगको साँठगाँठ नागरिकले अस्विकार गरिदिएका छन् । अब यतिमात्र होइन, दलहरुले उम्मेदवार उठाउँदा आम नागरिक र कार्यकर्ताको मन जित्न सक्ने वा जनसरोकारमा भिजेका उम्मेदवारलाई मात्र सचेत मतदाताले मतदान गर्न सक्छ भन्ने समेत प्रमाणित गरिदिएका छन् ।
निर्वाचनमा जसलाई उठाएपनि पार्टीको बाहुबलले मात्र जित्न सकिँदैन भन्ने उदाहरण कास्की लगायत विभिन्न जिल्लाका मतपरिणामहरुले दिएको छ । जनतामा विश्वास राख्ने दलहरुले जनमतको कदर गर्नुपर्छ र गरेका पनि छन् । निर्वाचन एकपटक मात्र होइन, भावी दिनमा समेत यस्ता निर्णयहरु लिँदा जनताले के भन्लान् ? भन्नेबारे गहिरो विचार विमर्श गर्नुपर्ने अवस्थामा नेताहरुलाई पु¥याइदिएको छ ।
मुलुकको विकास वा समृद्धि नेताहरुको कारणले भन्दा पनि सचेत नागरिक वा मतदाताका कारण सम्भव हुन्छ । जहाँ सचेत नागरिक छन्, त्यहाँ असल र जनसरोकारमा भिजेका नेतृत्व चुनिन्छन् । उनीहरुले नै आफ्नो गाउँ, सहर र देशलाई विकास र समृद्धिको बाटोमा अघि बढाउँछन् ।
अहिलेको स्थानीय तहमा जो जो चुनिएका छन्, उनीहरुले नागरिकको अथाह भरोसा पाएका छन् । यस भरोसालाई उनीहरुले कत्तिको सुझबुझका साथ अघि बढाउँछन्, यसैमा उनीहरुको भविश्यसमेत निर्धारण गर्नेछ । जनअपेक्षा पूरा गरुन्, सबैलाई शुभकामना ।

eznepal-sidebar add

Rakshya Travel-sidebar