गूगल सबैभन्दा मूल्यवान ब्राण्ड

जेठ २४, न्युयोर्क (अमेरिका) । अमेरिकी बहुराष्ट्रिय सर्च इञ्जिन कम्पनी गूगल इङ्क विश्वको सबैभन्दा मूल्यवान ब्राडका रूपमा रहेको छ । मङ्गलवार डब्ल्यूपीपी र कण्टर मिलवार्ड ब्राउनले सार्वजनिक गरेको १ सय शीर्ष ब्राण्डको सूचीअनुसार गूगलको ब्राण्ड मूल्य २ खर्ब ४५ अर्ब ५८ करोड डलरभन्दा धेरै छ । यसलाई पछ्याउने क्रममा अमेरिकी स्मार्टफोन निर्माता कम्पनी एप्पल इङ्क रहेको छ । एप्पलको ब्राण्ड मूल्य २ खर्ब ३४ अर्ब ६७ करोड डलर रहेको छ ।

त्यस्तैगरी सफ्टवेयर कम्पनी माइक्रोसफ्ट कर्पोरेशन १ खर्ब ४३ अर्ब २२ करोड डलरको ब्राण्ड मूल्यसहित सूचीको तेस्रो स्थानमा रहेको छ । उता, चौथो स्थानमा अनलाइन रिटेलर एमाजन रहेको छ । गतवर्षको तुलनामा यस वर्ष यो चार स्थान माथि उक्लिएको छ । सो अवधिमा यसको ब्राण्ड मूल्य ४० अर्ब ३० करोड डलरले बढी १ खर्ब ३९ अर्ब ३० करोड डलर पुगेको छ । सामाजिक सञ्जाल फेसबूक इङ्क १ खर्ब २९ अर्ब ८० करोड डलर मूल्यसहित पाँचौं ठूलो ब्राण्डका रूपमा रहेको छ ।

दूरसञ्चार कम्पनी एटीएण्डटी, वित्तीय सेवा प्रदायक कम्पनी भिसा इङ्क, चिनियाँ लगानी होल्डिङ कम्पनी टेन्सेण्ट, प्रविधि कम्पनी आईबीएम र फूड चेन कम्पनी म्याकडोनाल्ड पनि शीर्ष १० स्थानभित्र पर्न सफल भएका छन् । यस वर्षको सूचीमा इण्टरनेट कम्पनीहरूको वर्चस्व रहेको छ । उता, बेलायतमा भोडाफोन सबैभन्दा मूल्यवान ब्राण्डका रूपमा रहेको छ । गतवर्षको तुलनामा यस वर्ष शीर्ष १ सय ब्राण्डको मूल्य ८ प्रतिशतले बढी ३६ खर्ब ४० अर्ब डलर पुगेको छ । एजेन्सीहरू