हकरदेखि प्रहरी निरीक्षकसम्म

चार वर्ष हुँदा नहुँदै जन्मदिने आमाले सदाका लागि छोडेर गएपछि उहाँले गहिरो गरी आमाको माया र स्नेह पाउनु भएन । एक त गरिब परिवारमा जन्मिएको मान्छे त्यसैमा आमाले संसार छोडेर जाँदा उहाँ अर्थात् उमाकान्त जोशीको बाल्यकाल दुःखद्मात्रै होइन कष्टपूर्ण बन्यो । त्यो कष्ट टार्न उहाँले केमात्रै गर्नुभएन ? काँचो उमेरमै घरधन्दादेखि पत्रिका बेचेरसमेत परिवारको गर्जो टार्नुभयो ।

Shivraj२०४५ सालमा डोटीको गैरागाउँ-५ मा बुबा खडकराज जोशी र आमा जुनादेवी जोशीको पहिलो सन्तानका रूपमा जन्मिुनभएका उमाकान्तलाई आमाको मृत्युले टुहुरोमात्रै बनाएन घरको जेठा छोरा भएका कारण कलिलै काँधमा पढाइभन्दा घरधन्दामा समय दिनुपर्‍यो ।

उमाकान्त र थप एक भाइ जन्मिएपछि आमाको मृत्यु भयो । आमा स्वर्गवास भएपछि बुवाले अर्को बिहे गर्नुभयो । दोस्रो आमाबाट पनि एक भाइको जन्म भयो । अर्की आमा पनि लामो समय बाँच्नु भएन । दोस्रो आमा पनि एक भाइ थपेर सबैलाई टुहुरो बनाएर संसार छोडेर जानुभयो । यो घटनाले जोशी परिवारमा दुःखको चाङ लाग्यो । दुईदुईटा श्रीमतीको मृत्युको सहनै नसक्ने पीडा र अर्कोतर्फ टुहुरा तीन नाबालक छोराको लालनपालन, शिक्षा, दीक्षाका लागि आवश्यक जोहो गर्न खडकराजलाई निकै अप्ठेरो पर्‍यो । ‘दुईदुईटा श्रीमती बितेपछिको पीडा सहन नसकी बुवा हामी तीनै भाइलाई बोकेर तराई झर्नुभयो’, उमाकान्तले बाल्यकालका ती तीता दिन सम्झिँदै भन्नुभयो, ‘पहाड छोडेर तराई झर्दा म कक्षा ४ मा पढ्दै थिएँ ।’

तराई उमाकान्तको परिवारसँग एक धुर पनि जमिन थिएन । केही समय उनीहरू मामाको घरमा आ श्रय लिएर बसे । ‘पछि बुवाले दुःखजिलो गरेर धनगढीको जुगेडामा थोरै जग्गाको जोहो गर्नुभयो’, उमाकान्तले भन्नुभयो, ‘त्यसैमा घर बनाएर बस्न थालियो ।’

प्रहरी निरीक्षक उमाकान्त एकाएक यहाँ पुग्नुभएको होइन । २०६१ सालमा एसएलसी परीक्षा दिइसकेपछि उहाँले दुईचार रुपैयाँ कमाउन धनगढीमा पत्रिका वितरकको काम गर्नुभयो । साइकलमा पत्रिकाको पोको बोकेर उहाँ पसल, कार्यालय र घरघर चहार्नुभयो ।

जस्तोसुकै दुःख पीडा भए पनि पढ्नुपर्छ भन्ने कुराले भने उमाकान्तलाई कहिल्यै छोडेन । जता गए पनि उहाँले पढाइलाई निरन्तरता दिइरहनुभयो । आमा गुमाउँदाको पीडा र लालनपालन, शिक्षादीक्षाका लागि बुवाले गरेको दुःख कष्ट देखेर पढिलेखी सरकारी जागिर खाएर बुवालाई शान्तिको सास फेर्ने धोको उहाँको मनमा थियो ।
दुःख पीडा र थुप्रै अभावमा पनि पढाइलाई निरन्तरता दिनुभएका जोशीको धोको सहजै भने पूरा भएन ।

‘२०६८ को कुरा हो, एक दिन पहाडको घर आएका बेला लोकसेवा आयोगको क्षेत्रीय कार्यालय दिपायलमा नायब सुब्बाको आवेदन दिने सोच मनमा आयो’, उमाकान्तले भन्नुभयो, ‘त्यसअघि नै जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत प्रहरी निरीक्षक कृष्णराज ओझा (भिनाजु पर्ने) सँग भेट गर्ने अवसर जुर्‍यो । प्रहरी सहायक निरीक्षक (असई) का लागि आवेदन खुलेकाले भिनाजुले त्यसैमा आवेदन दिन सल्लाह दिनुभयो ।’ निजामती सेवातर्फ जागिर खाने सोच बनाएको बेला सुरक्षाकर्मीतर्फ जागिरका लागि सल्लाह पाएपछि उहाँले प्रहरी सहायक निरीक्षकमा आवेदन दिएर धनगढी फर्किनुभयो । भिनाजुको सल्लाहअनुसार तयारी गरेपछि जोशी पहिलो पटकमै लिखित र मौखिक परीक्षामा उत्तीर्ण हुनुभयो । नभन्दै सरकारी जागिर खाने धोको २०६९ मा पूरा भयो ।

जुगेडाको जनकल्याण माविबाट एसएलसी तथा कैलाली बहुमुखी क्याम्पसबाट एमबीएससम्मको अध्ययन पूरा गर्नुभएका उमाकान्तको परिचय अहिले असईमा सीमित छैन । बाल्यकालमा दुईपटक आमा गुमाएर टुहुरो बन्दै बाबुले ज्याला मजदुरीमा हुर्किएका उमाकान्त खुल्ला प्रतिस्पर्धाबाट नेपाल प्रहरीको प्रहरी निरीक्षक बन्न सफल हुनुभएको छ । करिब ३८ महिना असई पदमा सेवा गरेका उमाकान्तले प्रहरी निरीक्षकको सबै प्रक्रिया पूरा गरेर यही जेठ १९ गते पासआउट हुनुभएको छ ।

उमाकान्त एकाएक यहाँ पुग्नुभएको होइन । २०६१ सालमा एसएलसी परीक्षा दिइसकेपछि जोशी दुईचार रुपैयाँ कमाउन सकिन्छ कि भनेर धनगढीमा पत्रिका वितरकको काम सुरु गर्नुभयो । साइकलमा पत्रिकाको पोको बोकेर उहाँ पसल, कार्यालय र घरघर चहार्नुभयो । घाम, पानी, भोक, प्यास, जाडो, गर्मी नभनी जोशीले करिब आठ महिनासम्म पत्रिका वितरणको कामसमेत गर्नुभयो । ढिलो भए पनि पैसा पाउने आसमा आठ महिनासम्म काम गर्दा पैसा नपाएपछि उहाँले यो पेसा छोड्नुभयो । ‘केही पैसा पाइन्छ कि भनेर काम गरियो साइकलको पन्चर टाल्नका लागि पाँच रुपैयाँ पनि साथीसित माग्नु पथ्र्यो’, जोशीले ती दिनका दुःख सम्झिनुभयो, ‘जन्मिएदेखि प्रहरी निरीक्षकको तालिम सकेर पासआउट हुँदासम्म जे जति दुःख कष्ट आइपरे ती सबै सजिलै सहन सकेकाले नै आज यो ठाउँमा छु जस्तो लाग्छ ।’

यो सफलता हासिल गर्न उमाकान्तले कम परि श्रम गर्नु परेन । छोरालाई जसरी पनि पढाउनुपर्छ भन्ने मान्यता बोकेका बाबु भएकै कारण आफूले स्नातकोत्तरसम्मको पढाइ पूरा गर्न पाएको उहाँ बताउनुहुन्छ । बुवाकै प्रेरणा र हौसलाले प्रहरी निरीक्षक पदमा खुल्ला प्रतिस्पर्धाबाट नाम निकाल्न सफल भएको उहाँ सुनाउनुहुन्छ । आफूहरूको लालनपालनका लागि बुवाले ऋण निकालेको एक लाख ५० हजार रुपैयाँ आफूले असई हुँदा कमाएको रकमबाट तिरेको उहाँले बताउनुभयो । सानैमा दुःख पीडा सहन सक्ने बानी परिसकेकाले जीवनमा त्यसपछि आएका जस्तोसुकै दुःख पीडालाई पनि सहन सक्ने क्षमता आफूमा विकास भएको जोशीले सुनाउनुभयो । ‘त्यही दुःखलाई शक्तिमा बदल्दै कर्तव्यपथमा लम्किरहँदा सायद सफलता मिलेको हो’, उमाकान्तले भन्नुभयो।

जीवनमा कहिल्यै खुसीको अनुभुति नगर्नु भएका खडकराजलाई छोरा असई भएको खबर सुन्दा जीवनमा निकै सुखी भएको सुनाउनुभयो । पछिल्लो पटक छोरा प्रहरी निरीक्षक भएर पासआउट हुने बेला थप खुसी हुनुभयो । खडकराजले जीवनमै पहिलो पटक प्लेन चढेर काठमाडौं जाँदा लागेको खुसी व्याख्या गर्न नसकिने बताउनुभयो । इमानदार र कर्तव्यनिष्ठ भएर देशको सेवा गर्ने शपथ खाएकाले जनताको सेवामा रातदिन तल्लिन भएर अघि बढ्ने उमाकान्तको लक्ष्य छ ।

शिवराज खत्री ,

अन्पूर्ण पोष्ट बाट