हुवावेईमाथि थप कडाई गर्दै ट्रम्प

जेठ २, वाशिङटन डीसी (अमेरिका) । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले साइबर हमलाको खतरातर्फ औल्याउँदै राष्ट्रिय संकटकालको घोषणा गरेका छन् । बुधवार एक कार्यकारी आदेशमा हस्ताक्षर गरेर उनले यस्तो घोषणा गरेका हुन् । सो आदेशले घरेलु दूरसञ्चार कम्पनीहरुलाई राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गराउन सक्ने ठानिएका विदेशी उपकरण जडानमा प्रतिबन्ध लगाएको छ ।

ट्रम्पको आदेशले सक्रिय र बढ्दो रूपमा सूचना प्रविधि पूर्वाधार र सेवाको क्षेत्रमा रहेका कमी कमजोरीहरूको फाइदा उठाउने विदेशी प्रतिद्वन्द्वीहरूको प्रभावबाट अमेरिकालाई बचाउने एक विज्ञप्तिमा हवाइट हाउसले भनेको छ । आदेशमा कुनै पनि कम्पनीको नाम भने उल्लेख गरिएको छैन । यद्यपि, यसले हुवावेईलगायत चिनियाँ दूरसञ्चार कम्पनीहरुको अमेरिकी बजार र त्यहाँको कम्पनीमा पहुँचमा रोक लाग्ने निश्चित प्रायः छ ।

चीन सरकारले हुवावेईको उपकरणमार्फत आफ्नो जासुसी गर्न सक्नेभन्दै अमेरिकाले लामो समयदेखि चिन्ता व्यक्त गर्दै आएको छ । यो सूचिमा पछिल्लो समय अष्ट्रेलिया, न्यूजिल्याण्डलगायत अन्य देशहरु पनि आएका छन् । तर हुवावेईले भने यी आरोपहरुको खण्डन गदै आएको छ । जासुसीसम्बन्धी चिन्ता साम्य पार्न सरकारहरुसँग जासुसी नगर्ने सम्झौतामा हस्ताक्षर गर्नै तयार रहेको हुवावेईका अध्यक्ष लियाङ हुवाले मंगलवार मात्रै बताएका थिए ।

अमेरिकाले आफ्ना संघीय निकायहरूलाई हुवावेईका उत्पादन प्रयोग गर्न प्रतिबन्ध लगाइसकेको छ । उसले आफ्ना मित्रराष्ट्रहरुलाई समेत हुवावेईको ५जी मोबाइल नेटवर्क प्रयोग नगर्न दबाब दिइरहेका छन् । ट्रम्पको यस कदमलाई केही विश्लेषकहरुले भने चीनसँग व्यापार युद्ध चर्किन थालेपछि हुवावेईलाई निशाना साधेको रुपमा समेत अथ्र्र्याएका छन् ।

यसै सन्दर्भमा अमेरिकाको वाणिज्य मन्त्रालयले हुवावेई र योसँग सम्बन्धित दर्जनौं कम्पनीहरूलाई कालो सूचीमा राख्न लागेको छ । यसले घरेलु कम्पनीहरुलाई सरकारको अनुमति बिना प्रविधि किन्न रोक लगाउने छ । गत हप्तायता अमेरिका र चीन एक अर्काको देशबाट आयातित वस्तुमा अतिरिक्त महसुल बढाउने होडबाजीमा लागिसकेका छन् । अमेरिकीसरकारको यस कदमले चीन र अमेरिकाबीचको तनाव थप भड्काउने छ ।

५ जीको लडाई
पछिल्लो समय ५ जी अमेरिका र चीन दुवै देशको पूर्वाधार भविष्यको लागि महत्वपूर्ण प्रविधिको रुपमा उदाएको छ । यस्तोमा यो प्रविधिमा आफ्नो वचश्र्व बढाउन दुवै देश भिडिरहेका छन् । हालैका वर्षमा विश्वको ५जी नेटवर्कमा हुवावेईले निकै फड्को मारेको छ । उसका उत्पादनहरु सस्तो पनि छन् । यस्तोमा वाशिङ्टनले अमेरिकामा मात्रै होइन विश्व बजारमा नै हुवावेईको प्रयोगमा रोक लगाउन खोजिरहेको छ ।

विगत केही महीनाहरुमा हुवावेई र चीन सरकारले समेत अमेरिकाको यस कदमको खुलेर विरोध पनि गरिरहेका छन् । ट्रम्पको पछिल्लो आदेशले हुवावेई, जेड्टीई लगायत चिनियाँ दूरसञ्चार कम्पनीहरुलाई कस्तो प्रभाव पार्ला भन्ने चाँहि स्पष्ट छैन । एजेन्सी