विश्वका १० सर्वाधिक खराब विमानस्थल

जेठ ३,
विगतका वर्षहरूमा विश्वका सर्वाधिक खराब विमानस्थलको सूचीमा पर्दै आएको त्रिभुवन विमानस्थल यस पटक भने खराब १० को सूचीमा परेको छैन । एयर ट्राभल वेबसाइट ‘एयरहेल्प’ले हालै मात्र विश्वका प्रमुख विमानस्थलहरूको वर्गीकरण सार्वजनिक गरेको छ ।
यसमा विश्वका १ सय ३३ विमानस्थललाई समावेश गरिएको छ । उपभोक्ता सेवा, सरसफाइ, समयपालना र यात्रुहरूलाई उपलब्ध खाद्यान्न र किनमेलको विकल्पका आधारमा विमानस्थलहरूको वर्गिकरण गरिएको छ । विमानस्थलहरूलाई समग्रमा १० अंक दिइएको छ । समयपालनको भूमिकालाई मात्रै ६० प्रतिशतको अंक दिइएको छ । सेवा गुणस्तरलाई २० प्रतिशत र खाद्यान्न तथा किनमेल विकल्पलाई पनि २० प्रतिशतको अंक दिइएको छ ।

सर्वाधिक कम अंक प्राप्त गर्ने विश्वका १० विमानस्थलमा १० युरोपका रहेका छन् भने एक एसिया र एक उत्तर अमेरिकाको रहेको छ ।
‘एयरहेल्प’का अनुसार पोर्चुगलको लिस्बन पोर्टेला विमानस्थल १० खराब विमानस्थलको सूचीमा विश्वकै खराब विमानस्थलका रूपमा रहेको छ । यो विमानस्थलले अनटाइम भूमिकामा ४.७, सेवाको गुणस्तरमा ७.३ र खानेकुरा र किनमेलमा ७.४ अंक प्राप्त गरेको छ । समग्रमा यो विमानस्थलले ५.७७ अंक पाएको छ ।
दोस्रो खराबमा कुवेतको कुवेत अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । यसले अनटाइम भूमिकामा ४.३, सेवाको गुणस्तरमा ८ र खानेकुरा र किनमेलमा ८ अंक प्राप्त गरेको छ । समग्रमा यो विमानस्थलले ५.७८ अंक पाएको छ ।
तेस्रो खराबमा नेदरल्यान्डको इन्डोभेन विमानस्थल रहेको छ । यसले समग्रमा ५.९३ अंक पाएको छ ।
चौथो खराबमा रोमानियाको हेनरी कोअन्डा विमानस्थल रहेको छ ।
पाँचौंमा माल्टाको माल्टा अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । यसले समग्रमा ६.०५ अंक प्राप्त गरेको छ ।
छैटौं खराबमा संयुक्त अधिराज्यको म्यानचेस्टर विमानस्थल रहेको छ । यसले समग्रमा ६.२६ अंक प्राप्त गरेको छ ।
सातौ खराबमा पेरिस आर्लि विमानस्थल रहेको छ । यसले समग्रमा ६.३७ अंक प्राप्त गरेको छ ।
आठौं खराबमा पोर्टा विमानस्थल रहेको छ । यसले ६.४६ अंक प्राप्त गरेको छ । नवौं र दसौं खराबमा टोरन्टो सिटी विमानस्थल र लन्डन गाटविक विमानस्थल परेका छन् ।
यी विमानस्थलहरूले क्रमशः ६.५० र ६.६२ अंक प्राप्त गरेका छन् ।एजेन्सी