देउवाको अन्तिम अवसर

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको छवि खास उज्यालो होइन । पावरफुल नेता गिरिजाप्रसाद कोइरालासँग पन पैठेजोरी खेल्न सक्ने हिम्मतिला नेताका रुपमा उनको उदय भएको हो । जसलाई उनले निरन्तरतासमेत दिए । त्यो साहस र हिम्मत राष्ट्रका नाममा प्रयोग गरुन् भन्ने कांग्रेसीहरुको चाहना हो । यसअघि ३ चोटि प्रधानमन्त्री भइसकेको देउवाका तिनै कार्यकालमा गरेका राम्राभन्दा नराम्रा कामकै चर्चा नेपाली राजनीतिक इतिहासमा हुँदै आइरहेको छ । पहिलोपटक २०५२ मा प्रधानमन्त्री हुँदा उनले पजेरो संस्कृति भिœयाए । सुरासुन्दरीका काण्डहरु पनि संसदमा उनकै प्रधानमन्त्रित्वकालमा देखियो । दोस्रोचोटि २०५८ मा प्रधानमन्त्री हुँदा संकलकाट लागु गरे । युद्धलाई महत्व दिए वार्तालाई भन्दा बेसी । तेस्रोचोटि २०६१ मा चाहिँ राजालाई लोकतन्त्र सुम्पिए ।
तिनै देउवा फेरि मुलुकको प्रधानमन्त्री बनेका छन् । अबचाहिँ यो अन्तिम मौका हो । अहिलेको स्थानीय तह चुनावले पनि धेरै हदसम्म देखाइसकेको छ कि नेपालीहरुले इतिहासको मूल्यांकन गर्छन्, वर्तमानको मूल्यांकन गर्छन् र भविष्यका लागि मतदान गर्छन् । सर्वाेच्च अदालतकी प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने, प्रहरी प्रमुख आफ्नै भौगोलिक क्षेत्रको चाहिने जस्तो शेरबहादुर देउवाका हत्कन्डाले कांग्रेसले पराजय भोग्नुप¥यो । नेता रामचन्द्र पौडेलले परम्परागत मतदाता रहेको ग्रामीण क्षेत्रमा मात्रै कांग्रेसले चुनाव जित्नु ठूलो उपलब्धि नभएको तर काठमाडौं र पोखरा जस्ता सचेत मतदाता रहेको ठाउँमा कांग्रेसले हार्नुको अर्थ भएको विचार सार्वजनिक जो गरेका छन् । त्यो मनासिव छ ।
गिरिजाप्रसाद कोइरालाको पूर्वकार्यकालभन्दा पछिल्लो कार्यकाल उज्यालो बनेको थियो । नेपाली राजनीतिमा सबैभन्दा आलोचना गरिएका प्रधानमन्त्री भएको कोइरालाले जीवनको उत्तराद्र्धमा मुलुकको अभिभावकको भूमिका जो निर्वाह गरे, त्यसपछि उचाइ बढ्यो । माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने जस पनि उनलाई धेरै हदसम्म जान्छ । पहिलोपटक २०६५ मा प्रधानमन्त्री बन्दा उत्ताउलिएका र मात्तिएका माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यसपालि परिपक्क र गम्भीर देखिए । उनको यो दोस्रो कार्यकाल अघिल्लोभन्दा धेरै राम्रो रह्यो । उनले पुरानो छविलाई सुधारे । धेरै जिम्मेवार देखिए । दोस्रो कार्यकाल उनले भनेझैं सफल कार्यकाल रह्यो । एमालेका अध्यक्ष केपी ओलीको शासनकाल पनि सुन्दर नै मान्नुपर्छ नेपालमा । त्यसअघिका सुशील कोइरालाले त झन् संविधान जारी गर्ने जस लिन पाए ।
अब देउवाका लागि चुनौती हो, पुरानो छवि सुधार्ने । दोस्रो र तेस्रो चरणको स्थानीय तह चुनाव गर्नु देउवाको पहिलो दायित्व हो । त्यसपछि संविधानले भने बमोजिम २०७४ माघ ७ भित्र प्रादेशिक र संघीय संसदको चुनाव गर्नुपर्छ । यी महत्वपूर्ण दायित्व निर्वाह गर्न पाउनु मौका पनि हो । यही मौकामा उनले विगतको छवि सुधार्नुपर्छ ।

eznepal-sidebar add

Rakshya Travel-sidebar