हुवावेईलाई आपूर्ति घटाउँदै अमेरिकी प्रविधि कम्पनी

न्यूयोर्क (अमेरिका) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले चिनियाँ दूरसञ्चार उपकरण निर्माता कम्पनी हुवावेईमाथि लगाएको प्रतिबन्धको असर देखिन शुरू भएको छ । इन्टेल कर्पोरेशन, क्वालकम इंक, सिलिङ्स इंक र ब्रोडकम इंक लगायत अमेरिकी प्रविधि कम्पनीले नयाँ सूचना जारी नहुँदासम्मका लागि हुवावेईलाई चिप आपूर्ति बन्द गर्न आआफ्ना कर्मचारीलाई आदेश दिएका छन् ।

बहुराष्ट्रिय सर्च इञ्जिन गूगलले हुवावेईलाई हार्डवेयर र केही सफ्टवेयर सेवाको आपूर्ति नै बन्द गरेको छ । कम्पनीले हुवावेईको उपकरणमा आफ्नो एन्ड्रोइड अपरेटिङ सिस्टमको अपडेटमा नै रोक लगाएको छ । यो निर्णयसँगै हुवावेईको अहिलेको फोनमा एपहरू र गूगल प्ले सर्भिसको अपडेट गर्न त मिल्नेछ, तर कम्पनीले यसै वर्षको अन्त्यतिर ल्याउन लागेको नयाँ डिजाइनका स्मार्टफोनमा भने नयाँ संस्करणको एन्ड्रोइड उपलब्ध हुनेछैन । भविष्यमा आउन सक्ने उपकरणहरूमा यूट्युब र गूगल म्याप्स लगायत एप पनि हुनेछैनन् ।

गत बिहीवार अमेरिकाले मुलुकका कम्पनीहरूले कारोबार गर्न नसक्ने कम्पनीहरूको सूचीमा हुवावेईलाई पनि राखेको थियो । सरकारी निर्देशनको पालना भइरहेको र यसले पार्ने प्रभावको समेत समीक्षा भइरहेको गूगलले बताएको छ । यसले हुवावेईको कन्जुमर व्यवसायमा ठूलो प्रभाव पार्ने विश्लेषण गरिएको छ । एजेन्सी