शान्तिको बाटो

नेपालमा स्थानीय तहको दोस्रो चरणको निर्वाचन पनि शान्तिपूर्ण रुपमा सम्पन्न भइसक्दा नसक्दै राजनीतिक वृत्तमा सुखद र सकारात्मक समाचार आयो—राजपा दल दर्ता । मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टी पनि निर्वाचन आयोगमा दर्ता हुनु अहिलेलाई नेपाली राजनीतिको एउटा घुम्ती सहज तवरले पार हुनु जस्तै हो । दल दर्ताको उद्देश्य निर्वाचनमा भाग लिनु हो । नेपाली राजनीतिमा पछिल्लो समय देखिएको ‘समस्या’ मधेस हो । मधेस र मधेसीको चित्त बुझाउन नसक्ने हो भने नेपालको राष्ट्रिय एकता खलबलिने पक्का भएकाले पनि त्यस समस्या हल हुन जरुरी छ र त्यसका लागि मधेस केन्द्रित दल चुनावमा भाग लिएर मूलधारको राजनीतिमा आउनु हो ।
मधेसको पनि कोर ठाउँ मानिएको प्रदेश नं २ मा असोज २ गते चुनाव गर्ने गरी तीन चरणमा निर्वाचन पु¥याइनुको उद्देश्य राजपाले चुनावमा भाग लिएमात्रै पूरा हुन्छ । संकेत सुखद देखिएको छ ऊ आयोगमा दर्ता हुनुबाट । महन्थ ठाकुर जो राजपा अध्यक्ष मण्डलका अध्यक्ष हुन् उनले संविधान संशोधनको मागलाई सँगै लिएर जाने भन्ने बताएकै छन्, जसलाई गलत मान्न मिल्दैन । एजेन्डा छोडेरै चुनावमा आऊ भन्न मिल्ने कुरा होइन । चुनावमा पनि भाग लेऊ र तिम्रा माग पनि सकेसम्म पूरा गर्दै जान्छौं भन्नु मूलधारका दलहरुको कर्तव्य हो ।
नेपालमा मधेस हेपिएको भन्ने जुन राजपाको भनाइ छ, त्यो असत्य कदापि होइन । मधेस मूलधारमा समेटिएको छैन । महिला, दलित र जनजाति पनि समेटिएका छैनन् मधेसी जस्तै । नेपाल कुनै खास जाति वा धर्म विशेषको विशेषमात्रै हुन सक्दैन । हुनु हुँदैन पनि । सबै नेपालको नेपाल हुनुपर्छ । सबैको भावना समेटिनुपर्छ । मधेसका बासिन्दालाई नेपाली नै नठानिने जुन व्यवहार हुन्थ्यो, हुन्छ, त्यो क्रमशः घट्दै भने गएको छ । मधेसका बासिन्दालाई पनि सबै नेपालीको जत्तिको समान व्यवहार नागरिक तवरबाटै हुन थालेको छ । मधेसमा पनि खास गरी दलित वर्ग सबैभन्दा बञ्चित छ राज्यबाट पाउनुपर्ने अधिकारबाट । मधेसको राजनीति गरेका नेताहरुले पनि अझ खास उठाउनुपर्ने विशेष आवाज मधेसका दलितहरुको हो । उनीहरुको उन्नति प्रगतिका लागि राज्यले खासखास के के गर्नु उपयुक्त हुन्छ त्यसबारे सोच्नै पर्छ र त्यसअनुसारको व्यवहार हुनुपर्छ । तर नेपालमा आफैंमा अति गरिबतम् राष्ट्र भएको हुँदा यसको क्षमता र गच्छे अनुसार स्रोत साधनको वितरणमा सबैले हक खोज्नु उपयुक्त हुन्छ । हिमाल, पहाड र तराई मधेसका नेपालीको संयुक्त प्रयास नेपालमा स्थायी शान्ति स्थापना गरेर समृद्धिको बाटोमा मुलुकलाई डो¥याउनु नै हो । सबै नेपालीले समान हैसियतको व्यवहार महसुस गरेमा त्यो असम्भव कदाचित छैन । मधेसका नेपालीले पनि समानताको आभास महसुस गर्न सक्ने वातावरणको प्रत्याभूति आजको आवश्यकता हो । त्यसैबाट नेपालमा दीगो शान्ति र समृद्धि सम्भव छ ।

eznepal-sidebar add

Rakshya Travel-sidebar