महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुखमा खनाल

काठमाडौं, साउन १० । महानगरीय ट्राफिक प्रहरी महाशाखामा प्रमुखको जिम्मेवारी वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनाललाई दिइएको छ ।
यसअघि, खनाल प्रहरी प्रधान कार्यालयअन्तर्गत्को महानिरीक्षकको सचिवालयमा नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारीमा रहेका थिए । आफूले मंगलबारबाटै महाशाखाको जिम्मेवारी सम्हालेको खनालले जानकारी दिए ।

राजधानीको ट्राफिक व्यवस्थापनमा सुधार ल्याइ सवारी चाप हटाउन आफूले सक्दो पहल गर्ने उनले बताए । महाशाखामा रहेका नायब महानिरीक्षक मिङ्मार लामालाई केन्द्रीय ट्राफिक प्रहरी निर्देशनालयमा सरुवा गरिएको छ ।

गृहमन्त्री जनार्दन शर्माले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको भन्दै यसलाई सुधार गर्नसक्ने अधिकृतलाई त्यहाँ पठाउन प्रहरी महानिरीक्षकलाई दिएको निर्देशनअनुरुप प्रहरी प्रधान कार्यालयले खनाललाई महाशाखामा पठाएको हो ।

केही दिनअघिमात्रै गृह मन्त्रालयले खनाललाई वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षकमा बढुवाका लागि गरेको सिफारिस गरेको छ ।

प्रहरी प्रवक्तामा कार्की
नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक पुष्कर कार्कीलाई दिइएको छ ।

यसअघिका प्रवक्ता सर्वेन्द्र खनालको महानगरीय ट्राफिक प्रहरी महाशाखामा सरुवा भएपछि कार्की प्रवक्ताकोरुपमा आएका हुन् ।

रासससँग कुरा गर्दै प्रवक्ता कार्कीले प्रहरीसम्बन्धी आवश्यक सूचना पारदर्शी बनाउन तथा सन्चारमाध्यम र प्रहरीबीचको सम्बन्ध सुमधुर बनाउन आफूले सक्दो पहल गर्ने बताए ।

कार्की प्रहरी महानिरीक्षक सचिवालयमा कार्यरत् थिए । उनलाई गृह मन्त्रालयले प्रहरीको नायब महानिरीक (डीआइजी)मा बढुवाका लागि सिफारिस गरेको छ । रासस