रामचन्द्रको यस्तो सकरात्मक निर्णय, जसले दियो नयाँ पुस्तालाई अवसर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तारको तयारी अघि बढाएपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसंग मन्त्री बन्नेको सूची मागे । कांग्रेसभित्र विगतदेखि नै अस्तित्वमा रहेका समूहको नेताले मन्त्रीको सूची बुझाउने परम्परा रही नै आएको छ । सोही अनुसार पौडेलले आफ्नो समूहमा छलफल गरे । कम्तीमा ६ मन्त्रालय लिनुपर्ने देखि प्रभावशाली मन्त्रालय दावी गर्नुपर्ने सम्मका कुरा उठे । पौडेल पक्षभित्रै मन्त्री बन्न भेट्रान नेताहरु आकांक्षी थिए ।

१३ औं महाधिवेशनमा सभापतिमा पराजित भएपछि पौडेल समूहमा पहिरो नै गएको थियो । संसदीय दलको निर्वाचनमा त्यसको प्रत्यक्ष प्रभाव देखियो । विगतको संस्थापन पक्षमा रहेका अधिकांश नेताहरुले पौडेलको साथ छाडे । पौडेललाई आफू समूहको संरक्षण गर्न नसकेको आरोप पनि लाग्यो । समयक्रममा देउवा नेतृत्वको सरकारमा मन्त्री चयन गर्ने बेला पौडेलले त्यस्तो निर्णय गरिदिए जसले कांग्रेसभित्रै तरंग ल्याएको छ ।

कांग्रेसबाट प्रायः सधै एउटै अनुहारले मन्त्री बन्ने अवसर पाउँदै आएका छन् । यसपटक पनि सभापति देउवाले विगतमा मन्त्री बनिसकेकाहरुलाई नै प्राथमिकता सूचीमा राखेका थिए । पौडेल पक्षबाट बलबहादूर केसी मन्त्री बन्ने सूचीको पहिलो नम्बरमा थिए । उनी पटक–पटक मन्त्री भइसकेका नेता हुन् । कमला पन्त र सरिता प्रसाई मध्ये कसलाई मन्त्री बनाउने विवाद कायमै थियो । प्रधानमन्त्री देउवाले बलबहादुरलाई मन्त्री बनाउन निरन्तर अनिच्छा प्रकट गरिरहे ।

यहीबीचमा चर्चाका सबैलाई सहमतिमा लिदैं पौडेलले नयाँ र प्रत्यक्ष निर्वाचितलाई मात्रै मन्त्री बनाउने नीति लिए । सो नीति अनुसार यसअघि मन्त्री भइसकेका र समानुपातिकबाट सांसद बनेकाहरुको मन्त्री बन्ने सम्भावना सकियो । पौडेलले प्रत्यक्ष निर्वाचित र विगतमा मन्त्री नबनेका राजेन्द्र केसी, रामकृष्ण यादव, सञ्जय गौतम र यज्ञबहादुर थापालाई मन्त्री बनाउने निर्णय गरे । धनुषा क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित रामकृष्ण यादव पौडेल पक्षबाट मन्त्रीमा सिफारिस एकमात्रै केन्द्रीय सदस्य हुन् ।

केसी काठमाडौं १० बाट माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई हराएर सांसद बनेका हुन् । कास्की कांग्रेसका पूर्व सभापतिसमेत रहेका यज्ञबहादुर थापा कास्की क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित हुन् । बर्दिया कांग्रेसका सभापति समेत रहेका सञ्जय गौतम बर्दिया २ बाट निर्वाचित हुन् ।

वरिष्ठ नेता पौडेलले समानुपातिकबाट सांसद भएकाहरुलाई राज्यमन्त्रीमा अवसर दिने बताएका छन् । पौडेलको यस निर्णयबाट कांग्रेसका युवा नेताहरु खुसी भएका छन् । ‘यस्तो निर्णयले सधै एकैजनाले मात्रै अवसर पाउने कुरा अन्त्य भएको छ । कांग्रेसभित्र पनि नयाँलाई अवसर छ भन्ने कुरा रामचन्द्र दाईले स्थापित गर्नुभयो ।’, पौडेल पक्षका एक नेताले समाज खबरसंग भने ।

समाज खबरबाट