नागपञ्चमी र रक्षाबन्धन आज

काठमाडौँ, साउन १३ गते । श्रावण शुक्ल पञ्चमीका दिन शुक्रबार नागको पूजा गरेर नाग पञ्चमी मनाइँदै छ । यो वर्ष रक्षाबन्धनका दिन चन्द्रग्रहण परेकोले रक्षाबन्धन पनि यसै दिन हुँदैछ ।

बराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा ब्रह्माको नागराजसँग संवाद भएकाले आजको दिन नागपूजाका लागि प्रसिद्ध भएको हो । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी आठ नागको आज पूजा गरी दुबो, गाईको दूध, अक्षता आदि चढाइएका घरमा अगस्त्य, पुलस्त्य, वैशम्पायन, सुमन्तु र जैमिनी ऋषिले अग्निभय र विषयुक्त जीवको भयबाट बचाउने चतुर्वर्ग चिन्तामणिमा उल्लेख गरिएको छ ।

यिनै नागको तस्बिर घरको मूल ढोकामा टाँसेर र कपासको नाग बनाएर यो दिन दुबोे, दूध र अबिर–क्षताले नागको अर्चना गर्दै कपुरको धूपधुवार गर्ने प्रचलन छ । ज्योतिष डा. सुनिल सिटौलाका अनुसार जन्मकुण्डलीमा सर्पदोष भएका र काल सर्पयोग परेका व्यक्तिले यो दिन नागको अर्चना गर्दा वर्ष दिनका लागि दोष टर्छ भन्ने ज्योतिषविद्यामा वर्णन गरिएको छ ।
काठमाडौँ, भचाखुसीको घोडेनाग, टुँडिखेलको मीननाग, गल्कोपाखा दक्षिण ठमेलको हरिनाग, इटुम्बहालको जलनाग, टेकुको टेकुनाग, थानकोटपारि नागढुङ्गा, धापाखेलको नागदह, नक्सालको नागपोखरी, टौदह, पशुपतिनाथको आभूषण वासुकीनाग, महाराजगन्जको नागपोखरी र चाँगुनारायण नगरपालिका वडा नं ८ कलमसीस्थित पाँचटाउके कल्पेश्वरनागमा यो दिन भक्तजनको भीड लाग्छ ।

सैगरी प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन पनि आजै मनाइँदैछ । साउन २३ गते श्रावण शुक्ल पूर्णिमाका दिन अर्धरात्रिपूर्व खण्डग्रास चन्द्रग्रहण परेकाले नागपञ्चमीकै दिन उक्त पर्व मनाउनुपर्ने विभिन्न धर्मग्रन्थमा उल्लेख गरिएकाले आज यो पर्व मनाउन लागिएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

यसअघि १९६३, १९८२, २०२८ र २०४७ सालमा पनि नागपञ्चमीका दिन उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन पर्व मनाइएको थियो ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा आज पनि प्रचलित छ ।

आजकै दिन तागाधारीले आफ्नो जनै फेर्छन् । तागाधारीले आज बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दतिवन र सप्तमृत्तिका लगाएर स्नान गर्छन् । स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ ।

ऋषिलाई तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको छ ।

आजका दिन ११ थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारी क्वाँटी बनाएर खाने चलन छ । क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार हुन्छ भन्ने मान्यता छ ।

नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँध्छन् । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेम सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।