ग्रहण भए पनि रक्षाबन्धन पूर्णिमाकै दिन ठीक

कृष्णप्रसाद काेर्इराला ।

आगामी २०७४ साल श्रावण २३ गते, जनै पूर्णिमाका दिन खण्डग्रास चन्द्र ग्रहण लाग्दैछ, ग्रहणका कारण उक्त दिन गरिने धार्मिक कृत्यादि सबै कर्म नाग पञ्चमीका दिन गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिको निर्णय विवादास्पद र शास्त्रविपरीत रहेको देखिन्छ । जनै पूर्णिमाका दिन सम्पादन गरिने कृत्यहरू चार कसिमका हुन्छन् – श्रावणी स्नान, ऋषितर्पणी, नूतन यज्ञोपवीत धारण र रक्षाबन्धन ।

सनातन धर्ममा जनैलाई ब्रह्मसूत्र अर्थात वेदोक्तकर्म सम्पादन गर्न र वेदाध्ययन गर्ने अधिकार प्राप्तिका लागि धारण गर्न मन्त्रिएको धागो भन्ने बुझिन्छ । दुईवटा शिखा भएको एकजोर जनैको एउटा शिखामा रहेका तीनवटा डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को जनैका शिखामा रहेका तीन डोरालाई कर्म, उपासना र ज्ञानका प्रतीकका रूपमा लिइन्छ । यस दिन सनातन धर्मावलम्बी तागाधारी (जनै लगाउने) हरू बिहान सबेरै उठी नजिकैको तीर्थस्थल, नदी, तलाउ वा सरोबरमा गई पद्धतिमा उल्लिखित विधानको प्रयोग गरी स्नानादि सम्पादन गर्दछन्, यसरी स्नान गर्ने प्रक्रियालाई श्रावणी स्नान भनिन्छ । त्यसपछि सप्तर्षिहरूको पूजाआजा र तर्पणादि, रक्षाविधानको अभिमन्त्रण अनि जनै मन्त्रने काम हुन्छ । अन्त्यमा नयाँ जनै फेर्ने र नारीमा रक्षासूत्र (डोरो) बाँध्ने काम हुन्छ । रक्षाबन्धन बाँध्दा पहाडे समुदायमा विशेष गरी ब्राह्मणद्वारा नारीमा डोरो बाँध्न लगाउने चलन छ भने तराई क्षेत्रमा दिदीबहिनीले दाजुभाइका हातमा रक्षासूत्र (राखी) बाँधेर मनाउने परम्परा छ ।

नेपाल सरकार, संस्कृति मन्त्रालय अन्तर्गत पञ्चाङ्ग निर्णायक समितिले तिथि, मिति र चाडपर्व निर्णय गरी पात्रो प्रकाशन गर्दै आएको छ । यसै समितिले निर्णय गरी निर्धारण गरेको चाडपर्व, मुहूर्त र साइतलाई आम नेपाली (खासगरी पहाडी मूलका नेपालीहरू, दार्जिलिङ, सिक्किम र पूर्वोत्तर भारतमा बसोबास गर्नेसमेत) ले व्यवहारिक रूपमा अनुसरण गर्ने गर्दछन् । तर नेपालकै तराईमा बस्ने मधेशी मूलका अधिकांश नेपालीहरूले यस पात्रोका आधारमा होइन, मिथिला पञ्चाङ्ग (दरभङ्गा, विहारबाट प्रकाशित) र विश्वनाथ पञ्चाङ्ग (वाराणसी, उत्तरप्रदेशबाट प्रकाशित) पात्रोको निर्णयलाई कार्यान्वयन गर्ने गर्दछन् । पात्रो जहाँबाट प्रकाशित भए पनि तिनले निर्देशन गर्ने विषयहरूको मूल स्रोत संस्कृत भाषामा प्रकाशित धर्मशास्त्रका आधिकारिक ग्रन्थहरू नै हुने गर्दछन् ।

श्रावण शुक्ल पक्षको पूर्णिमाका दिन यदाकदा चन्द्र ग्रहण परिरहन्छ । यसभन्दा अघि वि.सं. १९६३, १९८२, २०२८ र २०४७ सालमा पनि यसै दिन चन्द्र ग्रहण परेको थियो । यति धेरै शुभकर्म सम्पादन गर्ने दिन ग्रहण लाग्यो भने ग्रहणको सूतकका कारण ती कर्म सम्पादन गर्न मिल्छ वा मिल्दैन भन्ने खुल्दुली हुनु स्वाभाविक हो । अतः ती जिज्ञासाहरूलाई शास्त्रसम्मत ढंगले साथै नेपाल र भारतबाट प्रकाशन हुने सबै पञ्चाङ्गहरूमा एकरूपता आउने गरी निर्णय गर्नु र जनसमक्ष ल्याउनु पञ्चाङ्ग निर्णायक समितिको काम हो । उक्त समितिले गरेको निर्णयमा दोधारेपन र व्यवहारिक रूपमा फरक पर्नु हुँदैन । तर यस पटक यो समस्या देखा परेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले पात्रो प्रकाशन गर्दा नै धर्मसिन्धुको ‘ग्रहणसङ्क्रान्तियोगश्चोपाकर्म सम्बन्धिन्यहोरात्रे भविष्यन्मध्यरात्रादूर्ध्वं चेति यामाष्टके विद्यमानः श्रवण नक्षत्र पूर्णिमादितिथ्यस्पृष्टोप्युपाकर्मदूषकः’ भन्ने सूत्रको हवाला दिई ‘श्रावण शुक्ल पूर्णिमाको दिन ग्रहण वा सङ्क्रान्ति परेमा श्रावण शुक्ल पूर्णिमामा गरिने स्वाध्यायोपाकर्म, ऋषितर्पणी, श्रावणी र रक्षाबन्धन श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीमा गर्नुपर्छ भन्ने निर्णयसिन्धु, धर्मसिन्धु, कालमाधव आदि धर्मशास्त्रका ग्रन्थहरूमा स्पष्ट उल्लेख भएकोले यस वर्ष श्रावण शुक्ल पूर्णिमामा गरिने उक्त कृत्यहरू नागपञ्चमीका दिन गर्नुपर्ने देखिन्छ । जनै पूर्णिमामा गरिने अन्य जात्रा, उत्सव र परम्परागत कृत्यहरू भने पूर्णिमाकै दिन गर्नुपर्ने हुन्छ ।’ भनी निर्देशन गरेको देखिन्छ । तर यो निर्णय र यसलाई पुष्टि गर्न उल्लेख भएका धर्मग्रन्थहरूको हवाला सही छैन ।

सबभन्दा पहले जनैपूर्णिमाका दिन गरिने कृत्यहरूका बारेमा बुझौं :–
उपाकर्म वा स्वाध्यायोपाकर्म
उपाकर्म अथवा स्वाध्यायोपाकर्म गृह्यसूत्रमा विधान गरिएको कृत्य हो – यो कृत्य वेद पढाउने गुरु र तिनीसित वेद पढ्ने शिष्य मिलेर गर्ने कृत्य हो । उपाकर्मको समय (काल) निर्णयका निमित्त धेरै विकल्पहरू शास्त्रमा उल्लेख भएको देखिन्छ । खासगरी वेदका भिन्नभिन्न शाखाअनुसार त्यस्तो विभेद देखिएको हो ।
जस्तै :-
अथातोकध्यायोपाकर्म,ओषधीनां प्रादुर्भावे श्रवणेन श्रावण्यां पौर्णमास्यां श्रावणस्य पञ्चमीं हस्तेन वा (पारस्कर गृह्यसूत्र) ।
उपाकर्मको यसै पद्धतिलाई अनुसरण गरी हिजोआज श्रावणी स्नान, ऋषितर्पणी, जनै अभिमन्त्रणा गर्ने र नयाँ जनै फेर्ने काम सम्पादन हुन्छ ।

रक्षाबन्धन
रक्षाबन्धन पुराणमा विधान गरिएको छुट्टै कृत्य हो । यो उपाकर्म होइन र त्यसको अङ्ग पनि होइन । उपाकर्मका अधिकारी तागाधारी मात्र हुन् भने रक्षाबन्धन सबैका लागि हो ।

जनै पूर्णिमाका दिन ग्रहण परेमा के गर्ने भन्ने विषयमा शास्त्रमा चर्चा भएका प्रसङ्गहरू पनि अवलोकन गरौं :–

उपाकर्मका निमित्त
सङ्क्रान्ति ग्रहणं वापि पौर्णमास्यां यदा भवेत् । उपाकृतिस्तु पञ्चम्यां कार्या वाजसनेयिभिः । (सत्कर्मरत्नाकरः)
पूर्णिमाका दिन ग्रहण वा सङ्क्रान्ति परेको अवस्थामा उपाकृति (उपाकर्म) वाजसनेयीहरूले पञ्चमीका दिन गर्नुपर्दछ ।

अर्धरात्रादधस्ताच्चेत्सङ्क्रान्तिग्रहणं तदा । उपाकर्म न कुर्वीत परतश्चेन्न दोषभाक् ।। (कात्यायनको मत, निर्णयसिन्धु) ।
अर्थात् अर्धरात्रीपूर्व नै सङ्क्रान्ति वा ग्रहण परेको छ भने उपाकर्म गर्नु हुँदैन, तर अर्धरात्रीपछि ग्रहण वा सङ्क्रान्ति भए दोष लाग्दैन ।

रक्षाबन्धनका निमित्त :–
इदं रक्षाबन्धनं नियतकालत्वाद् भद्रावर्ज्यग्रहणदिनेऽपि कार्यं होलिकावत्, ग्रहसङ्क्रान्त्यादौ रक्षानिषेधाभावात् (निर्णयसिन्धु) ।
अर्थात् रक्षाबन्धन निश्चित समयमा हुने भएकाले होली पर्व मनाएसरह भद्रा परेको समबाहेक ग्रहणका दिनमा पनि गर्नु उपयुक्त हुन्छ । ग्रहण र सङ्क्रान्ति आदिमा रक्षाबन्धन कर्म वर्जित छैन ।

रक्षाबन्धनमस्यामेव पूर्णिमायां भद्रारहितायां त्रिमुहुूर्तादधिकोदयव्यापिन्यामपराह्ने प्रदोषे वा कार्यम्…. इदं ग्रहणसङ्क्रान्तिदिनेऽपि कर्तव्यम् (धर्मसिन्धु) ।
अर्थात् रक्षाबन्धन यसै भद्राको समय नपरेको र उदयपछि तीन मुहूर्तभन्दा बढी उदयव्यापिनी पूर्णिमा (श्रावणको) कै दिन अपराह्न वा प्रदोष कालमा गर्नुपर्दछ, यस दिन ग्रहण वा सङ्क्रान्ति परे पनि गर्नै पर्दछ ।

माथिका प्रमाणको अध्ययनपछि हामीले बुझ्यौं – उपाकर्म र रक्षाबन्धन दुई बेग्लाबेग्लै कृत्य हुन् । यी एकअर्कामा अन्योन्याश्रित छैनन्, त्यसैले दुबै स्वतन्त्र कृत्य हुन् । निर्णयसिन्धु र धर्मसिन्धु दुबै ग्रन्थले रक्षाबन्धनका लागि छुट्टै विशेष व्यवस्था गरेको छ, जुन माथि उल्लेख भइसकेको छ । भारतका पञ्चाङ्ग र पात्रोहरूमा माथिका सबै विषयलाई समेटेर ऋषितर्पणीका लागि पञ्चमी र रक्षाबन्धनका लागि पूर्णिमा नै तोकेको देखिन्छ, तर नेपालका पात्रोहरूमा यस विषयमा परम्पराको मात्र अनुसरण गरी, शास्त्रको विमर्श र अध्ययन नै नगरी हचुवाका भरमा पञ्चमीका दिन दुबै कर्म सम्पादन गर्न निर्देशन गरेको देखिन्छ, जुन ठिक होइन ।

त्यसैले यस पटकको जनै पूर्णिमामा गरिने कर्महरूमध्ये श्रावणी, ऋषितर्पणी र जनै लगाउने काम नागपञ्चमीका दिन (२०७४ साल श्रावण १३ गते शुक्रबार) एवं रक्षाबन्धन (डोरो बाँध्ने वा राखी बाँध्ने काम) पूर्णिमाकै दिन (२०७४ साल श्रावण २३ गते, सोमबार) गर्नु शास्त्रसम्मत हुन आउँछ ।

पुर्बेलीन्युज बाट