राहतका लागि हात मिलाऔं

राजनीतिकर्मीहरुको परीक्षा आन्दोलन र संघर्षले लिन्छ । सुनको परीक्षा आगोले लिन्छ । आफन्तपनको परीक्षा दुखले लिन्छ । नेपालमा अहिले भैंचालोको प्रकोप छ । यो हामी विदेशमा बस्ने नेपालीका लागि परीक्षा नै हो । आफन्तजन चाहिने भनेकै यस्तो दुख र संकटका बेलामा हो । हामीले नेपाल र नेपालीका लागि केही गर्न सक्यो यो बेला भनेमात्रै हामी नेपाली हौं भन्ने हुन्छ । होइन भने ओठे नेपाली भक्तिको कुनै अर्थ छैन ।
झन्डै ९ हजार मान्छेको ज्याने लिइसकेको भैंचालोले नेपालमै रहेका नेपालीहरुको दिनरातको चैन लुटेको छ । रात राम्ररी निदाएर काट्न सकेका छैन, दिन त्रसित नबनी गुजार्न सकेका छैनन् । दिनहुँ नै भैंचालोको झट्का आएको आयैं छ र रोकिने कुनै छेक छन्द दिएको छैन । विज्ञानले पनि भैंचालोको पूर्वानुमान गर्न नसक्ने हुँदा यसले आफ्नो शक्ति जहाँ पायो त्यहीं जुनसुकै बेला देखाइरहेको छ ।
आफैंमा निर्धन हाम्रो देश नेपालमा अहिले सरकारले चाहेर पनि सबै भैंचालो पीडितलाई यथोचित व्यवस्था गर्न सकेको छैन । हो देशभित्रै रहेका र बाहिरका नेपालीले अहिले जतिसक्दो सहयोग गरिरहेका छन् । तर, त्यो पर्याप्त भएको छैन । भन्दा नमिठो सुनिन्छ तर, सत्य के देखिएको छ भने धेरै जसो राहत नामका लागि भएको छ । आफ्नो प्रचार र विज्ञापन गर्न राहत बाँडेको ढोंग प्रदर्शन गरिँदैछ । होइन भने एउटा नेपालीलाई दुख पर्दा अर्काे नेपालीले सहयोग गर्नु प्रचारको विषय हुनुपर्ने हो र ? दुखी गरिब आफ्नै नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई एक पोका नुन, मस्यौरा र एक दुई किलो चामल अनि एउटा पाल दिँदा के के न गरेजस्तो गरी हसिलो मुद्रामा फोटो खिचाएर फेसबुक लगायत सामाजिक सञ्जालमा पोस्ट गर्नुको औचित्य के हो ? अनि जो पनि आफैं सिधै पीडितलाई राहत दिन खोज्ने प्रवृत्ति नेपालमा देखिएको छ । सबैले जस लिन खोज्ने गरेको देखिएको छ । आफ्नो प्रचार र विज्ञापन गरेर आफूलाई ठूलो देखाउने प्रवृत्ति देखिएको छ । के एउटा नेपालीले अर्काे नेपालीलाई सहयोग गर्दा पनि जस खोज्नुपर्छ र ? प्रचार खोज्नुपर्छ र ? के हाम्रा आमाहरुले बाबाहरुले दाजु र दिदीहरुले हाम्रो जीवनको उन्नतिका लागि गरेको योगदानको प्रचार गरेका छन् ? त्यसको जस खोजेका छन् ? कर्तव्यको पनि जस खोजिन्छ र ?
सकेसम्म सिधैं प्रधानमन्त्री राहत कोशमा रकम जम्मा गर्न सहयोग गरौं । अमेरिका लगायत देशबाट रकम पठाउँदा कर छुट र सुविधा कसरी उपयोग गर्न सकिन्छ भनेर कानुन व्यवसायीहरुसँग परामर्श गरौं । अहिले ठूलाठूला देशहरुले अर्बाैं अर्ब सहयोगको घोषणा गरे पनि त्यो नगदमा छैन । पैसा नेपाल पुगिसकेको पनि छैन । केवल ३०÷३५ करोडमात्रै हो कोशमा जम्मा भएको । अन्तर्राष्ट्रहरुले प्रशासनिक खर्च पनि जोड्ने गरेका छन्, उद्धारमा आफू जाँदा भएको खर्चलाई पनि रुपैयाँमा कन्भर्ट गरेर यति र उति सहयोग भनेका छन् । उनीहरुको कूटनीतिक स्वार्थ पनि छ । तर, जहाँ रहे पनि हामी त नेपाली नै हौं भने बिनास्वार्थ सहयोग गरौं । राहतका लागि सरकारसँग हातेमालो गरौं ।
हो हामीले सिधैं पीडितलाई पनि दिँदा नहुने होइन, आफन्तजनहरुलाई हामीले सिधैं दिँदा पनि हुन्छ । तर हामी नजाने ठाउँमा सरकार जान्छ, त्यसैले प्रधानमन्त्री राहत कोशमा रकम जम्मा गर्न सघाउनु नै उत्तम हो, जहाँबाट दुर्गमभन्दा दुर्गमका नेपालीहरुले पनि राहत पाउँछन् । दुरुपयोग हुन्छ भन्नु बच्पना सोचाइभन्दा केही होइन, हो नेपाली राजनीतिकर्मी र सरकारमा आसिनहरु पूर्ण भ्रष्टाचारमुक्त छैनन्, तर राहतको रकम सिधैं खल्तीमा हाल्न उनीहरुले जरुर सक्दैनन् । राज्यको निकायमा जम्मा हुने खर्चको हिसाब किताबमा जवाफदेहिता पक्कै हुन्छ । त्यसको खोजी हामी जनताले पनि सिधैं गर्न सक्छौं । तर कहिल्यै जनताको कठघरामा उभिनु नपर्ने र नातावाद तथा परिवारवादमा चलेका एनजिओ र आइएनजिओलाई दण्डित गर्न र जवाफदेही बनाउन कठिन छ, जति सरकारमा बस्नेहरुलाई छ ।