मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुने

काठमाडौं, भदौ १ – प्रमुख तीन दल र निर्वाचन आयोगबीच प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको चुनाव मंसिर ४ गते गर्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र तथा निर्वाचन आयोगबीच भएको छलफलमा प्रदेशसभा र प्रतिनिधिसभाको पहिलो चरणको चुनाव मंसिर ४ गते गर्ने सहमति भएको हो ।

आयोगले हिमाली र उच्च पहाडी ३१ जिल्लामा मंसिर ४ गते केन्द्र र प्रदेशसभाको चुनाव एकैपटकमा गर्न सुझाव दिएको हो ।

बाँकी जिल्लाहरुमा भने अर्को चरणमा निर्वाचन गर्नु उपयुक्त हुने आयोगको सुझाव रहेको बताइएको छ ।

आयोगले एकैपटकमा निर्वाचन गर्ने हो भने तत्काल निर्वाचनसम्बन्धी ऐन, कानुन र क्षेत्र निर्धारण आयोगको प्रतिवेदन दिनसमेत सरकारलाई भनेको छ ।

प्रमुख निर्वाचन आयुक्त आयोधीप्रसाद यादवले चुनावका लागि सरकारले भदौ ३ गतेभित्र मिति घोषणा गर्नुपर्ने, चुनावका लागि आवश्यक कानुन भदौ ५ गतेभित्र तथा भदौ १५ गतेभित्र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन आयोगलाई दिनुपर्ने बताउनुभएको छ । यसप्रति सबै दल सकारात्मक रहेको पनि उहाँले जानकारी दिनुभयो ।