‘कांग्रेसलाई नसुधारेर बन्दी बनाउने काम गर्नुहुन्न’ : नेता शर्मा

२०७४ भाद्र १२,
ड्यालस (टेक्सस) अमेरिका – नेपाली कांग्रेसका नेता शुक्रराज शर्माले नेपालमा कम्युनिष्ट रहेसम्म देश र जनताले दुःख पाउने बताएका छन् ।

पारिवारिक भ्रमणको सिलसिलामा अमेरिका भ्रमणमा रहेका नेता शर्माले कम्युनिष्ट बढेसम्म नेपालमा समस्या बढिरहने दावी समेत गरेका छन् । टेक्ससको ड्यालसमा नेपाली जनसम्पर्क समिति ड्यालस फोर्टवर्थ च्याप्टरले आयोजना गरेको कार्यक्रममा उनले भने–‘नेपाली कांग्रेस नसुध्रिएको कारणले मात्र अरुको बोलवाला बढेको हो, कांग्रेस सुधारिनु जरुरी छ।’

स्थानीय चुनावमा कतिपय स्थानमा कांग्रेस र माओवादीबीच सहकार्य भएपनि शर्माले कम्युनिष्ट रहेसम्म देश तथा जनताले दुःख पाइरहने उल्लेख गरे । स्थानीय चुनावमा कांग्रेस पराजित हुनुमा कार्यकर्ताले नचिनेका व्यक्तिहरुलाई टिकट दिनु, संगठन ध्वँस्त हुनुनै प्रमुख कारण रहेको उनले बताए ।

भरतपुरमा माओबादीसँग भएको चुनावी एकताप्रति असन्तुष्टी व्यक्त गरेका नेता शर्मा एमालेप्रति भने निकै आक्रामक रुपमा प्रस्तुत भएका थिए । ‘एमालेसँग भन्दा माओवादीसँग मिल्दा स्थानीय रुपमा हामीलाई फाइदा भएको छ,’ उनले भने ।

कांग्रेस भित्र ठूलो सुधारको खाँचो औँल्याउँदै शर्माले भने–‘कांग्रेसलाई नसुधारेर बन्दी बनाउने काम गर्नुहुन्न, सुधारको खाँचो छ ।’

कार्यक्रममा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि तथा जनसम्पर्क समिति अमेरिकाका केन्द्रिय सदस्य हरिबोल भण्डारीले युवापंक्तीलाई पार्टीले उचित भूमिका दिएर अघि बढाउन जरुरी रहेको बताए । ‘कांग्रेस सुधार्ने उपाय भनेको युवालाई अघि बढाउनु हो,’ उनले भने ।

जनसम्पर्क समिति ड्यालस फोर्टवर्थ च्याप्टरका अध्यक्ष तथा केन्द्रिय सदस्य ज्ञानेन्द्र कार्कीले नेपालमा प्राकृतिक प्रकोप पर्दा जनसम्पर्क समितिले संकलन गरेर पठाएको रकम सदुपयोग गर्नका लागि पार्टीले विशेष संयन्त्र विकास गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा जनसम्पर्क समितिका भगवान मैनाली, भरत अर्याल, धनञ्जय ढकाल, दिने शर्मा, नेपाली समाजका अध्यक्ष कृष्ण लामिछाने, उपाध्यक्ष कमल सापकोटा, महासचिव कमल सत्याल लगायतले नेपाली कांग्रेसको संगठन कमजोर हुनुका कारणबारे जिज्ञासा राखेका थिए।

वक्ताहरुले प्रजातान्त्रिक धारमा आइसकेको एमालेसँग शत्रुवत व्यबहार गर्दै माओवादीजस्तो उग्र दलसँग सहकार्य गरेकोमा गुनासो समेत गरेका थिए ।