दिल्लीमा ताज महलभन्दा अग्लो फोहोरको पहाड

जेठ २१, नयाँ दिल्ली (भारत) । फोहोर व्यवस्थापन हरेक शहरी क्षेत्रको सबैभन्दा टाउको दुःखाईको विषय हो । शहरी क्षेत्रबाट दिनँहु निस्कने फोहोरको उचित व्यवस्थापन नहुँदा शहरका बाटा घाटा र गल्लीभरी फोहोरको थुप्रो थुप्रिएका हामीले देखिरहेका छौं । भारतको राजधानी नयाँ दिल्ली विश्वकै सबैभन्दा फोहोर राजधानी मध्ये एकमा पर्दछ । त्यहाँ अहिले देशकै सबैभन्दा अग्लो फोहोरको पहाड छ ।

सन् २०२० सम्ममा सो पहाड बढेर ताज महलभन्दा अग्लो बन्ने क्रममा रहेको छ । गाजीपुरमा रहेको यो फोहोर फाल्ने साइट ४० ओटा फूटबल पिच भन्दा ठूलो छ । हरेक वर्ष त्यहाँ फोहोरको पहाड करीब १० मिटरका दरले बढिरहेको छ । अहिले नै सो पहाड ६५ मिटर (२ सय १३ फिट) अग्लो छ । यही दरमा बढ्दै जाने हो भने आगामी वर्ष यो बढेर ७५ मिटर माथि पुग्नेछ । यो आग्रास्थित ताजमहल भन्दा अग्लो हो । ताजमहलको उचाई ७३ मिटर छ ।

सो स्थान माथिबाट उड्ने विमानहरुलाई चेतावनी दिन रेड लाइट्स राख्न गत वर्ष नै भारतको सर्वोच्च अदालतले चेतावनी दिएको थियो । गाजीपुरमा सन् १९८४ मा फोहोर फाल्न थालिएको हो । तर सन् २००२ मा नै सो स्थानले बहन गर्न सक्ने फोहोरको भार पूरा भइसकेको थियो । त्यति बेलादेखि नै त्यहाँ फोहार फाल्न बन्द गर्नुपर्ने थियो । तर फोहोर खन्याउने क्रम रोकिएन । अहिले पनि त्यहाँ सयौं फोहोर फाल्ने ट्रकबाट दैनिक २ हजार टन फोहोर फालिन्छ ।

सन् २०१८ मा ठूलो वर्षाका कारण फोहोरको थुप्रोमा पहिरो जाँदा २ जजनाको मृत्यु भएको थियो । सो घटनापछि त्यहाँ फोहोर फाल्न रोकिएको थियो । तर, यो निर्णय धेरै दिन टिक्न सकेन । फोहोरको थुप्रोबाट आउने बन्देज लगाइएको भएपनि वैकल्पिक ठाउँको अभावमा सो बन्देज लामो समय टिक्न सकेन । अहिले पनि फोहोरबाट निस्कने मिथेन ग्यासका कारण बेला बेलामा आगलागी हुने गरेको छ भने यसलाई निभाउन कयौं दिन लाग्ने गरेको छ ।

वायुमण्डलमा मिथेन ग्याँस मिसिँनु झनै थप घातक भएको नयाँ दिल्ली स्थित विज्ञान तथा वातावरण केन्द्रका वरिष्ठ शोधकर्ता साम्भवी शुक्लाले बताएकी छिन् । फोहोरका कारण त्यस वरपर बस्नेहरुका लागि सास फेर्ने मुश्किल भइरहेको छ । पटक पटक फोहोर फाल्ने कार्यको विरोध गर्दा पनि कुनै पनि उपाय ननिस्केपछि स्थानीयवासीहरु गाजिपुर जिल्ला नै छाडेर अन्यत्र जान थालेका छन् । रासस/एएफपी