प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि संविधानको पूर्ण कार्यान्वयन : प्रधानमन्त्री

भदौ १६, भीमदत्तनगर । प्रधानमन्त्री एवम् नेपाली कङ्ग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनको चरणमा रहेको बताउँदै प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि संविधानको पूर्ण कार्यान्वयन हुने बताएका छन् ।
शुक्रवार बिहान कञ्चनपुरको भीमदत्तनगरमा नेपाल प्रेस युनियन, कञ्चनपुर शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनबारे सबै राजनीतिक दलसित सल्लाह भइरहेको बताए ।
‘सबै पार्टीहरुसित सल्लाह भएको छ’ प्रधानमन्त्री देउवाले भने -‘प्रदेश नं २ मा पनि स्थानीय तहको निर्वाचन हुन गइरहेको छ ।’ निर्वाचनहरु सम्पन्न भई मुलुक संविधान कार्यान्वयनको दिशामा अघि बढेसँगै सङ्घीय गणतन्त्र संस्थागत हुने उनको भनाइ थियो ।
आफ्नो भारत भ्रमण सफल रहेको बताउँदै उनले पञ्चेश्वर परियोजना अगाडि बढाउनाका साथै दोधाराचाँदनीमा सुख्खा बन्दरगाह, प्रदेश नं ७ मा प्राविधिक शिक्षालय स्थापना र महाकाली नदीमा दार्चुलाको जोलजिवी र डडेल्धुराको परशुराममा पक्की पुल र तटबन्ध निर्माण हुने बताए ।
‘भारत भ्रमण सफल रह्यो ’, देउवाले भने, ‘सुदूरपश्चिमको विकासका लागि पनि भारतीय पक्षसित सहमति भएका छन् । ’
बिहीवार महाकाली नदीको चार लेनको पक्की पुल शिलान्यास गर्न कञ्चनपुर आईपुगेका प्रधानमन्त्री देउवा शुक्रवार राजधानी फर्कने कार्यक्रम रहेको छ । रासस