संसदीय समितिको निर्देशनपछि घटेको लोकसेवाको आवेदन फेरि बढ्यो, १ लाख १८ हजारले दिए आवेदन

जेठ ३१, काठमाडौं । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले स्थानीय तहको विज्ञापन रोक्न निर्देशन दिएपछि लोकसेवा आयोगमा आवेदन दिनेको संख्यामा उतारचढाव देखिएको छ ।

समितिले निर्देशन दिएपछि आवेदन दिनेको संख्यामा कमी आएकोमा अहिले भने फेरि वृद्धि भएको छ । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले समितिले विज्ञापन रोक्न निर्देशन दिएपछि आवेदन दिनेको संख्यामा कमी आए पनि पुनःअहिले भने बढेको बताए ।

उनका अनुसार गत सोमबार समितिले निर्देशन दिएको दिन करीब २ हजार ५०० ले मात्र आवेदन दिएकामा अहिले भने त्यो संख्या वृद्धि भएको छ । ‘समितिले निर्देशन दिएको केही दिनसम्म आवेदन दिनेको संख्यामा कमी आएको थियो,’ उनले भने, ‘तर अहिले भने पहिल्यैकै जस्तै आवेदन आउन थालेका छन् । आवेदन दिने समय सकिन थालेकाले आवेदन दिनेको संख्यामा वृद्धि भएर सर्भरको चापसमेत बढेको छ ।’

समितिले निर्देशन दिएको दिनसम्म करीब ५१ हजार ४६३ जनाले आवेदन फाराम भरेकामा अहिले फाराम भर्न पाँच दिनमात्र बाँकी छँदा १ लाख १८ हजार ३४१ जनाले मात्र आवेदन फाराम भरेका छन् ।

आवेदन खुला गरेको १५ दिन बितिसक्दा पनि सोचेअनुसारको आवेदन नआएको उनको भनाइ रहेको छ । उनका अनुसार आवेदन दिनेमा महिला २९ हजार २६७, जनजाति १३ हजार ७५१, मधेशी ६ हजार ७३२, दलित ८४४, अपांगता ५६ र पिछडिएका ३७ जना रहेका छन् ।

गत जेठ १५ गतेदेखि असार ३ गतेसम्मका लागि ५१५ स्थानीय तहका लागि आयोगले विभिन्न ९ हजार १६१ पदका लागि आवेदन माग गरेको छ । आवेदन फाराम भरेकामध्ये करीब ४० हजार ५०० ले दस्तुर बुझाएका छन् ।

एकैपटक धेरेको संख्यामा कर्मचारीको माग गरेकाले आयोगले करीब ५ देखि ६ लाख परीक्षार्थीले आवेदन दिनसक्ने आँकलन गरेको थियो । उनले अझै केही दिन आवेदन दिने समय भएकाले संख्या वृद्धि हुनसक्ने बताए ।

समितिले मंगलवार नै विज्ञापन रोक्न निर्देशन दिएको पत्र आयोगमा पठाए पनि आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली मुलुक बाहिर रहेकाले पत्रबारे निर्णय गर्न समय लाग्ने आयोगका सूचना अधिकारी सुवेदीले जानकारी दिए । अध्यक्ष बाहिर रहेको आयोगकाले पदाधिकारीको पूर्ण बैठक बस्न नसक्ने भएपछि समितिले पठाएको पत्रबारे निर्णय गर्न ढिलाइ हुने उनले बताए । रासस