प्रधानमन्त्री देउवाको सम्मानमा रात्रिभोज

असोज ५, न्यूयोक । प्रधानमन्त्री शेरबहादुर देउवा उनको सम्मानमा संयुक्त राष्ट्र सङ्घका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराईले बुधवार आयोजना गरेको रात्रिभोजमा सहभागी भए ।
प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र सङ्घको ७२औँ महासभामा भाग लिने क्रममा २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधवार बिहान यहाँआइपरगेका हुन् ।
रात्रिभोजमा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइराला, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराई, परराष्ट्र सचिव शङ्करदास बैरागी, यहाँस्थित नेपाली महावाणिज्यदूत मधुकुमार मरासिनीलगायत उच्च अधिकारी सहभागी थियोे ।
महासभाको दौरानमा प्रधानमन्त्री देउवाले भोलि अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी, श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेना, बङ्गलादेशका प्रधानमन्त्री सेख हसिना र पाकिस्तानका प्रधानमन्त्री सहिद खान अब्बासीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।
प्रधानमन्त्री देउवाले यही असोज ७ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री देउवाले सोही दिन राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । रासस