आईफोन सुस्ताएसँगै चिनियाँ प्रतिद्वन्द्वीको पकड बढ्यो

सिङ्गापुर । पछिल्लो समय आईफोन निर्माता एप्पलले आफ्ना उत्पादनमा त्यति धेरै नवीनता ल्याउन सकेको छैन । उता, कम्पनीका एशियाली प्रतिद्वन्द्वी विशेष गरी चिनियाँ कम्पनीहरूले भने परिपक्क भइसकेका बजारका ग्राहकलाई लक्षित गरेर उत्पादनमा नयाँपन ल्याइरहेका छन् । यसले गर्दा विकसित बजार, खुद्रा विक्रेता र  उपभोक्तालाई आफूपट्टि आकर्षित गर्न यी कम्पनीहरू सफल बनेका छन् । गत हप्तामात्रै एप्पलले वायरलेस चार्जिङ, बेजललेस स्क्रिन र ड्युअल क्यामरालगायतका फिचर भएको नयाँ आईफोन लञ्च गरेको थियो । यद्यपि, यी सबै फिचर नौला होइनन् । यसअघि नै चीनको हुवावेई र ओप्पो तथा दक्षिण कोरियाली सामसुङ इलेक्ट्रोनिक्सले आफ्ना पछिल्ला फोनमा यी सबै फिचर दिइसकेका छन् ।
यद्यपि, ब्राण्ड नेमकै भरमा एप्पलले झण्डै १ हजार डलर पर्ने पछिल्ला आईफोन किन्न ग्राहकलाई मनाउन सक्छ । तर, प्रतिस्पर्धी कम्पनीहरूले निकै सस्तो मूल्यमा यस्ता फिचर दिएर लक्जरी स्मार्टफोन बजारमा आफ्नो पकड बलियो बनाइरहेका छन् । यसअघि अरूकै नक्कल गरेर सस्तो फोन बनाउने चिनियाँ कम्पनीले अहिले आफ्नो हाईएण्ड फोनको गुणस्तर निकै बढाइसकेका छन् । अहिले विश्वको करीब आधा मोबाइल बजार यिनीहरूकै पकडमा छ । मध्यम स्तरका ग्राहकले समेत किन्न सक्ने डिभाइसमा हाईएण्ड फिचर हालेर अनि मिश्रित प्रवद्र्धन विधि र विज्ञापनमार्फत केही ‘लोयल’ एप्पल प्रयोगकर्ताहरूलाई समेत यिनीहरूले आफूपट्टि तान्न सफल बनेका छन् ।
‘पछिल्लो समय हुवावेईले महँगादेखि सस्तासम्म सबै खालका मोबाइल उत्पादन गरेर अनि मार्केटिङ र विक्रीमा उच्च लगानी गरेर एप्पल र सामसुङलाई कडा टक्कर दिइरहेका छन्,’ मिडियामार्केट स्याटर्नकी एक प्रवक्ताले भनिन् । हुवावेई, जेड्टीई, लेनोभो र टीसीएललगायत सबै चिनियाँ कम्पनीहरू आफ्नो स्टोरमा सर्वाधिक विक्री हुने १० स्मार्टफोन ब्राण्डमध्ये पर्ने उनले बताइन् । सुदृढ घरेलु विक्रीका कारण पनि चिनियाँ कम्पनीहरूले तीव्र वृद्धि हासिल गरिरहेका छन् । तर, यिनीहरूले अहिले करीब ४० प्रतिशत स्मार्टफोन सीमापार बजारमा निर्यात गरिरहेका छन् । ३ वर्षअघिको तुलनामा यो झण्डै दोब्बर हो । यस वर्षको पहिलो अर्धवार्षिक अवधिमा यूरोपमा हुवावेईका स्मार्टफोन निर्यात ५० प्रतिशतभन्दा धेरैले बढेको छ ।
यो एप्पललाई उछिन्दै विश्वको सबैभन्दा ठूलो स्मार्टफोन निर्माता बन्न लागेको छ । हुवावेईले अक्टोबर १६ मा मेट १० लञ्च गर्दै छ । यस फोनमा तत्कालै भाषा अनुवाद गर्ने र मुहार पहिचानलगायतका कृत्रिम बौद्धिकतामा आधारित फिचरहरू छन् । बजेललेस स्क्रिन समेत हुने यो फोन आईफोन ८ भन्दा निकै सस्तो हुने अनुमान गरिएको छ । उता, हालैमात्र साओमीले पनि अगाडिपट्टि १२ मेगापिक्सलको क्यामरा भएको फूल स्क्रिन भएको एमआई मिक्स २ लञ्च गरेको थियो । यो फोनको खुद्रा मूल्य ७ सय २० डलर मात्रै हो ।
चिनियाँ स्मार्टफोनका कारण एप्पलको वृद्धि ठप्प भएको र दुईबीचको फरकसमेत अहिले स्थिर भएको काउण्टर प्वाइण्टका अनुसन्धान निर्देशक निल शाहले बताएका छन् । यद्यपि, उपभोक्ताहरूमाझ आफ्नो उत्पादनलाई प्रमाणित गर्न र त्यतिको मूल्य तिर्न योग्य छन् भनेर साबित गर्न चिनियाँ कम्पनीहरूका लागि चुनौतीपूर्ण हुने अनुसन्धाता संस्था आईडीसीका विश्लेषक सियोहान टाये बताउँछन् । एजेन्सी