३० वटा स्थानीय तहको मत परिणाम सार्वजनिक, कसले कति स्थानमा जिते ?

५ असोज, काठमाडौं । तेस्रो चरणको असोज २ गते निर्वाचन सम्पन्न भएको प्रदेश नं २ को आठ जिल्लाका १३५ स्थानीय तहमध्ये अहिलेसम्म ३० वटा स्थानीय तहको मतगणना सम्पन्न भएको छ ।

निर्वाचन आयोगबाट प्राप्त विवरणअनुसार, प्रमुख एवं अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार ११ स्थानीय तहमा, नेकपा एमालेका ४ स्थानीय तहमा, नेकपा माओवादी केन्द्रका ५ स्थानीय तहमा, राष्ट्रिय जनता पार्टी नेपालका ४ स्थानीय तहमा, संघीय समाजवादी फोरम नेपालका ३ स्थानीय तहमा र नेपाल लोकतान्त्रिक फोरमका उम्मेदवार २ स्थानीय तहमा र जनता दल एक तहमा विजयी भएका छन् ।

मतगणना बाँकी रहेका १०५ स्थानीय तहमध्ये एकाध स्थानमा मतगणनामा गतिरोध उत्पन्न भएका कारण सर्वदलीय सहमति गरी मतगणना सञ्चालन गर्ने प्रयास भइरहेको र अन्य सबै स्थानमा मतगणना कार्य शान्तिपूर्णरूपमा जारी रहेको आयोगले जनाएको छ ।

त्यस्तै राजपा नेपालका वडाध्यक्षको उम्मेदवारको निधन भएका कारण स्थगन भएको राजविराज नगरपालिका वडा नं १५ मा आज शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको आयोगले जनाएको छ ।