दलबीच समन्वयको खाँचो : पोखरेल

काठमाडौं, असोज ११ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले मुलुकको राष्ट्रियताको सुरक्षा र जनताको आर्थिक समृद्धिका लागि आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।

पार्टीले काठमाडौंका लागि हालै गठन गरेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर–५ का कार्यकर्ताको भेलामा महासचिव पोखरेलले ‘वैदेशिक हस्तक्षेपले राष्ट्रिय अखन्डतामा आँच आउन थालेको अहिलेको अवस्थामा दलबीच समन्वयको खाँचो’ औंल्याए ।

आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीलाई अग्रस्थानमा लैजान पार्टीका विभिन्न जनवर्गीय संगठनले चुनावकेन्द्रित गतिविधि सन्चालन गर्नुपर्ने उनको भनाइ थियो ।

उनले मुलुकमा अब राजनीतिक स्थायित्व कायम गरी जनताको विकास र समृद्धिको चाहनालाई पूरा गर्नुपर्नेमा जोड दिए ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–५ का संयोजक रत्न गुरुङ र प्रदेशसभाका उपसंयोजक मनिराज डंगोलले पार्टीलाई स्थानीय तहको चुनावमा चौतर्फी घेराबन्दी गरिएको भएपनि जनताले सही मूल्यांकन गरी अग्रस्थानमा पुर्‍याएको विचार व्यक्त गर्दै आगामी चुनावमा पार्टीले बहुमत प्राप्त गर्ने विश्वास व्यक्त गरे । रासस