‘गलबन्दी’को संगीत सिर्जनामा राईको नाम थप्ने सहमति

काठमाडौ, असार ११ । ‘गलबन्दी च्यातियो…’ शीर्षकको गीतको संगीत सिर्जनामा गायक तथा संगीतकार शम्भु राईको नाम थपिने भएको छ ।

उक्त गीतको लय नक्कल भएको भन्दैै राईले आपत्ति जनाएपछि बुधबार उक्त गीतका गायक प्रकाश सपूत र राईबीच भएको छलफलमा नाम राख्ने गरी चार बुँदे सहमति भएको हो ।

सहमतिसँगै उत्पन्न विवाद समाधान भएको गायक सपूतले जानकारी दिए ।

राईको ‘देउसी भैलो’ बोलको गीतमा रहेको ‘आउ नाचौं साथी हो कम्मर कसेर, दुई दिनको जिन्दगी बिताउँ हाँसेर’ भन्ने लयसँग सपूतको ‘गलबन्दी’ बोलको गीतको ‘गलबन्दी च्यातियो तिम्ले तानेर, बोलाउन खोजेको आफ्नै ठानेर’ भन्ने अंशमा लय मिल्न गएको देखिएकाले संगीत सिर्जनामा राईकोसमेत नाम राख्ने सहमति भएको बुधबार संयुक्तरुपमा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।

युट्युबको हकमा प्राविधिकरुपमा मिल्नेसम्म राईको नाम समावेश गरी सच्याउने तथा अन्य प्रकाशनमा भने सोहीबमोजिम गरिने सहमतिमा जनाइएको छ ।

आर्थिक, प्रतिलिपि अधिकार तथा स्रष्टा, उत्पादक, प्रस्तोताले पाउने रोयल्टीमा सपूतकै अधिकार रहने र राईले दाबी नगर्ने सहमतिसमेत भएको छ ।

यस्तै, सहमतिपत्रमा यही असार ५ गते प्रतिलिपि अधिकार रजिष्टारको कार्यालय तथा अन्य संघ–संस्थामा राईले दिएको निवेदन फिर्ताका लागि निवेदन दिनेसमेत सहमति भएको छ ।

बुधबारको छलफलमा संगीत रोयल्टी संकलन समाजका अध्यक्ष महेशकुमार खड्का, प्रस्तोता समाज नेपालका महासचिव भीषण मुकारुङ, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका उपाध्यक्ष रमेश बिजी, राष्ट्रिय संगीतकर्मी संघका वरिष्ठ उपाध्यक्ष नमराज ढुंगानालगायतको उपस्थिति रहेको थियो ।

उक्त गीतको विषयलाई लिएर सामाजिक सन्जालमा जातिगतरुपमा गरिएका गाली–गलौजको विषयमा भने छलफल गरेर अगाडि बढ्ने गायक सपूतले जानकारी दिए ।

सो विषय संसदमासमेत पुगेको थियो । सांसदहरुले जातिगतरुपमा गाली–गलौज गर्नेलाई कारबाही गर्नसमेत माग गरेका थिए । रासस