बोइङको विमान प्रयोग नगर्ने साउदी एयरलाइन्सको निर्णय

रियाद (साउदी अरब) । साउदी अरबको एयरलाइन्स कम्पनी फ्लाईअदिलले भविष्यमा आफ्नो सबै उडान एयरबसको विमानबाट गरिने बताएको छ । केही महीनाअघि फ्लाईअदिलले बोइङको विमान अर्डर दिनेबारे पुनर्विचार भइरहेको बताए पनि आइतवार उसले आफ्नो सबै उडान ए३२० विमानबाट हुने बताएको हो ।

एयरलाइन्स कम्पनीले सन् २०२१ देखि डेलिभरी लिने गरी ३० ए३२० विमानको लागि अर्डर दिइसकेको छ । उक्त अर्डर अनुसारको विमान आएपछि कम्पनीले आफ्नो सबै सेवा ए३२० विमानबाट दिने फ्लाइअदिलले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ । अहिलेसम्म बोइङको अर्डरबारे भने कुनै जानकारी दिइएको छैन । यस विषयमा बोइङले पनि कुनै जानकारी दिएको छैन ।

गत अप्रिलमा फ्लाईअदिलले बोइङका ३० ओटा ७३७ म्याक्स विमानका लागि प्रक्रिया अघि बढाउने निर्णयबारे पुनर्विचार भइरहेको बताएको थियो । मार्चमा बोइङको विमान दुर्घटनामा परेसँगै कम्पनीले उक्त निर्णय गरेको हो । अहिले विश्वभर बोइङको उक्त मोडलको उडान स्थगित छ । एजेन्सी