अत्यधिक कामले जापानीमा बढ्यो अपांगता र रोग

टोकियो (जापान) । जापानमा अत्यधिक कामका कारण रोजगारीमा आवद्ध व्यक्तिहरूमा अपांगता र रोगको समस्या बढी देखिएको छ ।

जापानको श्रम तथा समाजकल्याण कार्यालयले मंगलवार सार्वजनिक गरेको श्वेतपत्रमा रोजगारीका लागि कार्यस्थल अपांतामैत्री नहुनु तथा अत्यधिक श्रम गर्ने व्यवहारका कारण जापानीहरू प्रभावित हुने गरेको उल्लेख छ ।

श्रम मन्त्रालयले गत फेब्रुअरीमा गरेको सर्वेक्षणमा सन् २०१८ मा कार्यरत अपांगता तथा विभिन्न रोगले ग्रस्त व्यक्तिमध्ये ६६ दशलमव ३ प्रतिशतले कामका क्रममा आफूहरूलाई समस्या परेको बताएका थिए । उनीहरूलाई काम र उपचारको सन्तुलन मिलाउन निकै कठिन भएको सर्वेक्षणकर्ताको भनाइ छ ।

तर, सर्वेक्षणमा सहभागीमध्ये ८४ दशलमव ५ प्रतिशत कामलाई निरन्तरता दिने वा अझै पनि काम गरिरहन चाहेको जवाफ दिएका थिए । अहिले काम नगरेकामध्ये ६४ दशलमव २ प्रतिशतले पनि आफूहरू काम गर्न चाहिरहेको बताएका थिए । सर्वेक्षणमा सहभागी १ हजार जापानीमध्ये ६६४ जना काम गरिरहेका थिए, २६८ जनाले काम छोडिसकेका थिए भने ६८ जना काम छोड्ने तयारीमा थिए । सर्वेक्षणमा सहभागीहरू २० देखि ६४ वर्ष उमेर समूहका थिए । रासस/सिन्हवा