बोइङलाई उछिन्दै एयरबस

वाशिङ्टन डीसी (अमेरिका) । यूरोपेली विमान निर्माता कम्पनी एयरबस अमेरिकी प्रतिस्पर्धी बोइङलाई पछि पार्दै विश्वकै ठूलो विमान निर्माता कम्पनी बन्ने अवस्थामा पुगेको छ । वाल स्ट्रीट जर्नलले उल्लेख गरेअनुसार ७ वर्षदेखि पहिलो स्थानमा रहेको बोइङको विमान डेलिभरीमा आएको कमीसँगै एयरबसले उसलाई उछिन्न सक्ने देखिएको हो ।

इथियोपियन एयरलाइन्सको विमान दुर्घटनामा परेयता बोइङको विमान डेलिभरीमा लगातार कमी आइरहेको छ । जर्नलका अनुसार वर्षको शुरुआती ६ महीनामा बोइङको विमान डेलिभरी एकतिहाइभन्दा धेरै घटेको छ । अझै पनि बोइङका डेलिभरी हुन बाँकी १५० भन्दा बढी विमान थन्किएका छन् । एयरबसले भने जुनमा मात्रै ३०० भन्दा बढी विमान डेलिभरी गरेको छ ।

अहिले बोइङको सबैभन्दा बढी विक्री भएको ७३७ म्याक्स विमानको उडानमा विश्वभर प्रतिबन्ध लगाइएको छ । इथियोपियन एयरलाइन्सको विमान दुर्घटनामा परेसँगै उक्त मोडलका विमानको उडानमा प्रतिबन्ध लागेको हो । विमान दुर्घटनामा परेपछि बोइङले अहिले विभिन्न मुद्दाको पनि सामना गरिरहेको छ । बोइङको विमानमा देखिएका समस्यासँगै विश्वभरका एयरलाइन्स कम्पनी प्रभावित भएका छन् । एजेन्सी