चुनावको समयमा सुन्नेलाई पनि मसला दिनुपर्यो भनेर मिश्र र उनको बाबुको कुरा गरेको :प्रकाशमान

काठमाण्डौं क्षेत्र नम्बर १ कांग्रेसबाट प्रत्यक्ष तर्फका उम्मेदवार प्रकाशमान सिंह सँगको कुराकानी 

यो पटकचाहिँ अलि बढी दबाव महसुस गर्नुभएको हो ?

मैले दुईपटक (०४८/०५१) चुनाव हारेँ । त्यसपछि संविधानसभाका दुबै चुनाव जितेँ । तर, पहिलो संविधानसभामा जस्तो दबाव मैले राजनीतिक जीवनमा कहिल्यै महसुस गरिनँ । कारण के भन्दा ०४६ मा बहुदलीय व्यवस्था आयो । त्यसपछि दुईवटा चुनाव लडंे, दुबैमा हारेँ । एकपटक वाममोर्चाका उम्मेदवार र दोस्रोपटक प्रस्तावित प्रधानमन्त्री मनमोहन अधिकारीसँग हारेँ । पार्टीको कुनै पनि चुनावमा नहारेको म जनताबाट अनुमोदन हुनै नसकेकाले मलाई के हो, के हो भन्ने थियो ।

 

भनेपछि, अहिलेचाहिँ तपाईलाई डर छैन ?

अहिले त मलाई कुनै दबाव छैन । अरु त भर्खर चुनावी मैदानमा आएर देखिएकाहरु छन् । म त त्यहाँबाट दुईपटक निर्वाचित भइसकेको व्यक्ति हुँ । सुरुदेखि नै ग्रुमिङ भएको छु, मेरो बनिबनाउ क्षेत्र हो ।

उसोभए पूरै इन्जोय गरिरहनुभएको छ ?

हो, इन्जोय गरिरहेको छु । मेरो क्षेत्रमा जानुस्, सांसद भनेको त यस्तो पो हुनुपर्छ भन्छन् । प्रायः सबैसँग मेरो अन्तक्रिर्या हुन्छ । मेरो बानी नै छ कि बोलाएका सबै ठाउँमा जान्छु, सकेको सहयोग गर्छु ।

मतदातासँग मेरो विशेष सम्बन्ध छ । चुनावको समयमा आएर फेसबुकमा लेखेर, समाचार लेखाएर होला भन्नेहरुलाई त्यही संसारमा रमाउन दिउँ । तर, राजनीति भनेको रत्नपार्कमा चटक देखाएजस्तो होइन ।

तर, तपाईले जुन दिनबाट चुनावी अभियान सुरु गर्नुभयो, त्यस दिनदेखि नै प्रतिस्पर्धी वाम र विवकेशील साझाप्रति बढी नै आक्रामक देखिनुभएको छ नि ?

म सैद्धान्तिकरुपमै वाम भन्दा पनि साम्यवादी गठबन्धनको विपक्षमा छु । तपाईहरु नै भन्नुहुन्छ, तिम्रो बाबु गणेशमानजीले ०४६ मा कम्युनिष्टलाई साथमा लिएर आन्दोलन गर्नुभयो, आज आएर विरोध गर्न मिल्छ ?

म भन्छु, सैद्धान्तिक भेद बुझ्नुस् । हामी त्यो वामलाई मान्छौं, जो लेफ्ट अफ सेन्टर हुन्छन् । तर, कम्युनिज्म सिद्धान्त बोक्नेलाई मान्दैनौं । ०१८ सालपछि चिराचिरा भएका वामपन्थीहरुको वाम मोर्चा बनाउने विचारको विजारोपण ०४६ मा गणेशमानजीले गर्नुभएको थियो । उहाँहरुले बहुदलीय प्रजातन्त्रमा विश्वास गर्छौं भनेपछि हामीले सहकार्य गर्‍यौं ।

अहिले परिस्थिति फरक छ, उनीहरुले सार्वजनिक रुपमै हामीलाई भोट दिनुस्, १० वर्षभित्र साम्यवाद ल्याउँछौं भनेका छन् ।

तर, वाम गठबन्धनको घोषणापत्रमा न उनीहरुले तपाईले भनेजस्तो लोकतन्त्र मान्दैनौं भनेका छन्, न त साम्यवाद/अधिनायकवाद नै ल्याउँछौं भनेका छन् । बरु विगतलाई हेर्दा कांग्रेसले लोकतन्त्रमाथि घात गर्छ कि भनेर प्रश्न उल्टो उठाएकाछन् नि ?

यो कुरा त कस्तो हो भन्दा घोषणा गर्ने तर, बाचा पूरा नगर्ने बानी कम्युनिष्टहरुको छ ।

उसोभए तपाईहरु किन आत्तिएको त ?

उहाँहरुले १० वर्षमा कम्युनिज्म ल्याउँछौं भन्ने घोषणा चियागफमा भनेको हो र ? अहिले त रियाक्सन देख्नुभयो र तर्सिनुभयो । उहाँहरुको के कुरा गर्ने ! भोट माग्ने बेलामा माक्र्स, लेनिनको फोटो देखाउने, विदेशी राजदूत आउँदा झिक्नेहरुसँग कांग्रेसको तुलना गरेर हुन्छ ? यो नाटक त पटक-पटक भइसकेको छ । के ‘लाटा’ छन् र नेपालीहरु पत्याउन ?

अनि विवेकशील साझा पार्टी नि ?

मलाई त खुसी लाग्छ ! बहुदलीय शासन व्यवस्थाको वकालत गर्ने पार्टी आउँदा हामीलाई त खुसी लाग्छ । आक्रमण भयो, के भयो भनेर आफैंले समाचार बनाउने आफ्नो ठाउँमा होला । तर, मलाई केही छैन ।

तर, चुनावी प्रतिस्पर्धी रविन्द्र मिश्रतर्फ संकेत गर्दै राजतन्त्रको पक्षमा कमल चोप्नेहरु, बहुदलीय व्यवस्था ध्वस्त नभएसम्म घरबाटै निस्किन्न भन्नेको छोरा भन्नुभयो । यसरी बाबुलाई लिएर गालीगलौज गर्न सुहाउँछ ?

अरे बाबा ! चुनावको टाइममा सुन्नेहरुलाई पनि त मसला त दिनैपर्‍यो नि । तपाईले उठाएको कुरा मैले बानेश्वरको एउटा कार्यक्रममा भनेँ । म पनि लिखित भाषण गर्ने मान्छे होइन, क्राउड हेर्छु र त्यहाँ के बोल्दा हुन्छ भन्छु ।

तर, तपाईजस्तो शीर्षनेताले उम्मेदवारका बाबुआमालाई लिएर गाली गरेको त अलि सुहाउँदैन नि ?

होइन, होइन । चुनावी भाषणमा कहिलेकाँही त दिनुपर्ने हुन्छ नि त । मैले फेरि त्यस्तै भनेको पनि होइन, फ्याक्ट चेक गर्नुस् ।

भनेर ठीकै गरियो ?

भएको कुरा भन्नलाई के ? यहाँ कांग्रेस र प्रकाशमान सिंहले केही बोल्नुहुँदैन भन्ने छ र ? मैले केही बोल्नुहुँदैन, बोल्यो कि तिललाई पहाड बनाउँछ ।

होइन, चुनावी प्रतिस्पर्धा व्यक्तिगत गालीगलौजमा होइन, विचार र एजेण्डामा होस् पो भनेको त ?

व्यक्तिगत लान्छना मैले कहाँ लगाएको छ र ? उम्मेदवारहरु यस्ता छन्, फ्याक्टलाई मूल्यांकन गर्नुस् । मतदाताहरुलाई आफूले जानेको कुरा त भन्नैपर्‍यो । मेरो राजनीतिक जीवन हेर्नुस्, कसैलाई त्यस्तो भनेको छैन । फ्याट कुराहरु कहिलेकाँही भनेको हो, त्यो पनि नर्मल भाषामा भनेको हो ।

चुनावी प्रतिस्पर्धामा रविन्द्र मिश्रलाई कसरी लिनुभएको छ ?

उहाँ मैदानमा प्लेयर हो । रंगशालामा दर्शकले यसो हेर्दा म्याच चलिरहेको छ, खेलिरहेको छ भन्ने हो । राम्रो छ कि छैन भन्ने त मतदाताले छान्छन् ।

उहाँँ पूर्वपत्रकार पनि हो । यसअघि कहिल्यै साक्षात्कार भएको थियो ?

मैले व्यक्तिगत रुपमा भेटेको छैन । म मिडिया म्यानसँग दुरीमै बस्ने मानिस हुँ । पार्टीको महाधिवेशनमा म महामन्त्री जित्छु भनेर कसैले भनेकै थिएनन् तर, जितेँ । कमल चोप्नेहरुको माइन्ड र ग्राउण्ड रियालिटी फरक हुन्छ ।

अहिले चुनावमा पत्रकारहरुले रविन्द्र मिश्रलाई फेबर गरे भन्न खोज्नुभएको हो ?

पत्रकारले निश्पक्ष रुपमा प्रस्तुत गर्नुपर्नेमा तपाईहरुको कम्युनिटीकै सदस्य उम्मेदवार भएकाले उहाँँलाई अझ ‘हिरोफाइ’ गर्न खोजेको हो कि ? यसो हुँदा पनि मलाई कुनै आपत्ति छैन । तर, ग्राउण्ड रियालिटी धेरै फरक छ ।

वाम गठबन्धनको सिट बाँडफाँटमा काठमाडौं १ माओवादी केन्द्रको भागमा पर्‍यो लियो, एमालेको उम्मेदवार नहुनु तपाईका लागि केही फरक रहृयो ?

कम्युनिष्ट गठबन्धनको उम्मेदवार त छ नि । एमाले छैन भनेर भन्न मिल्दैन ।

चिन्नुहुन्छ, वाम गठबन्धनको उम्मेदवारलाई ?

जनार्दनको भाइ उठेको छ भन्ने थाहा छ । अरु थाहा छैन ।

यो पटक काठमाडौं १ का मतदाताले तपाईलाई किन जिताउने ?

सांसद भएपछि मैले धेरै काम गरेको छु, यो मतदाताहरुलाई थाहा पनि छ । उदाहरणका लागि मेरो निर्वाचन क्षेत्रमा पर्ने सार्वजनिक स्कुलहरुमा हामीले केही न केही राम्रो काम गरेका छौं । मैले भनेको छु, तपाईहरुले मलाई हैसियत बनाइदिनुभयो र मैले तपाईहरुकै भलाइमा प्रयोग गर्छु ।

दोस्रो पटक संविधानसभा चुनावमा भोट माग्दा कांग्रेस ठूलो पार्टी भयो भने संविधान दिन्छा्रैं भनेका थियौं । हामीले संविधान पनि दियौं । यो काम त कम्युनिष्टहरुले सकेनन् । भन्न त भन्छन् नि, घोषणापत्रमा स्थिरताका लागि हामीलाई भोट दिनुस् भनेका छन् । धेरै पछाडि नजाऔं । पहिलो संविधानसभा चुनावपछि कम्युनिष्टहरुले के गरे ? संविधानसभा त भंग गरे । स्थिरता कसले निम्त्याए

(प्रकाशमान सिंह सँग गरेको कुराकानी अनलाइनखबर बाट लिइएको )