‘जुलुसमा लाठी हानेको फोटो देखाएर भोट माग्दिन’ – अधिकारी (अन्तर्वार्ता)

अमृत सुवेदी,
पाेखरा, ६ मंसिर:

४ पटक टिकट पाउँदा १ पटक जित्नुभयो । एकपटक चुनाव नलडेरै मन्त्री खाने शौभाग्य पनि मिल्यो । यसपटक चाहिँ यहाँलाई भोट किन हाल्ने ?

पहिलो कुरा त व्यक्तिगत रुपमा म कस्तो छु भन्ने जनतालाई थाहा छ । हिँजो सांसद हुँदा पनि पेन्सन पजेरो नलिएको हुँ । देश र जनताको निम्ति लागिरहन्छु । सरकार स्थिर नहुँदा अराजकता बढ्यो । अस्तव्यस्त रह्यो । त्यसैले मुलुकलाई स्थिरता दिन, आर्थिक समृद्धितर्फ लान र विकासलाई तीव्र गति दिन वामपन्थीहरुको साझा उम्मेदवारको रुपमा म उभिएको छु ।

म स्वास्थ्यमन्त्री हुँदा यहाँ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्न सफल भयो । २०३२ सालमा जग्गा अधिग्रहण भएर पनि रोकिएको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको २०६३÷०६४ सालमा मेरै नेतृत्वमा मुआब्जा विवाद मिल्यो । राष्ट्रिय ताल संरक्षण विकास समितिको अध्यक्षको हैसियतले रुपा, बेगनास, कमलपोखरी, खास्टे, मैदी, न्युरेनी लगायत देशैभरी तालको संरक्षण गाइडलाइन मैले बनाएको हो । खासगरी कास्कीको विकास पछाडि परिरहेको अवस्थामा मेरो अगुवाइमा सडक तथा बाटो निर्माण सुरु भएको थियो । खानेपानी, सिंचाइ, पुलपुलेसा र विद्युतीकरण पनि अझै अधुरा छन् । ती बाँकी कामहरु सम्पन्न गर्न मेरो अबको कर्तव्य हुनेछ ।

कास्की प्राथमिक स्वास्थ्य, चौकी र अस्पतालहरुको स्तरोन्नति तथा भौतिक पूर्वाधार निर्माण मेरै पालामा भएका छन् । आयुर्वेद औषधलाय बनेका छन् । म कम बोल्छु तर काम धेरै गर्छु ।

तपाई पूर्व स्वास्थ्यमन्त्री र नेपाली कांग्रेसका तर्फबाट वर्तमान कानुनमन्त्री प्रतिस्पर्धी हुनुहुन्छ । यहाँहरु दुवै जनालाई हेभिवेट र रोचक प्रतिस्पर्धाको रुपमा हेरिएको छ । खास यहाँले चाहिँ यो प्रतिस्पर्धालाई कसरी हेर्नुभएको छ ?

रोचक र उच्च प्रतिस्पर्धा भयो भने लोकतन्त्रको सुन्दर पक्ष हो, म सम्मान गर्छु । म उहाँसँग तुलना गर्न आएको पनि होइन, उहाँको हेभिवेट, मेरो लाइटवेट के हो त्यो पनि भन्दिनँ । म पार्टीको पोलिब्युरोमा काम गरिसकेको, केन्द्रीय सल्लाहकार परिषदमा उपाध्यक्ष भइसकेको मान्छे हुँ ।

त्यसैले मैले उहाँको हैसियतको बारेमा प्रश्न उठाउन म आवश्यक ठान्दिन । उहाँ मन्त्री हुनु भो, राम्रो भयो । मैले उहाँसँग केही दाँज्न चाहन्न, यो आम जनसमुदायले दाँज्ने कुरा हो । म मन्त्री हुँदा के गरें, उहाँ मन्त्री हुँदा के गर्नुभयो जनताले दाँज्ने कुरा हो । जनताले व्यक्तिभन्दा पहिले त पार्टीलाई नै छान्छन् । म यसो कहिलेकाँही जुलुसमा लाठी हानेको फोटो देखाएर भोट माग्ने मान्छे होइन । म पाँचौ वर्ष जेल बसें । २० औं वर्ष म भूमिगत भएँ । मैले यो प्रचार गर्न चाहन्नँ ।

हिजो चाहिँ यहाँ माओवादी खरो आलोचक हुनुहुन्थ्यो । आज उनैसँग सहकार्य गरेर चुनाव लड्नुपरेको छ । कस्तो लागिराछ ? अफ्ठेरो लाग्या होला नि ?

असाध्यै आनन्द लागेको छ । किन भने मञ्चमा उक्लने हो । दाहिनेबाट पनि त्यही मञ्च र देउरेतिरबाट पनि त्यही मञ्चमा पुग्ने हो । अब हाम्रो गन्तव्य समाजवाद निर्माण हो । राजनीतिक कार्यदिशा शसत्र संघर्ष कि शान्तिपूर्ण भन्ने विवाद टुंगियो । त्यसैले वेमौसमी बाजा नबजाऊ भनेर भनियो होला, कुनैबेला । उहाँहरुले २०२९ सालमा हामीलाई उग्रवादी भन्नुहुन्थ्यो । २०५२ देखि २०६२÷०६३ सम्म उहाँहरुलाई उग्रवादी भन्यौं । हाम्रा सोच दृष्टिकोण पनि एकै ठाउँमा आइपुगे । त्यसैले अत्यन्त आनन्द लागेको छ ।

भनेपछि मञ्च एउटै चड्ने दुईतिरबाट भन्नुभयो नि । कांग्रेसले अधिनायकवाद ल्याउँदैछ भनेर कराएको सही हो क्या हो त्यसो भए ?

२०४८ सालतिरको कुरा हो । अनील शाक्य असनको झ्यालतिर बसिरहेका थिए, साना बच्चा । तिनलाई गोली हानेर मारियो । उनलाई मार्दा अहिलेका सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा गृहमन्त्री हुनुहुन्थ्यो । उहाँले संसदमा दिएको जवाफ झलझली सम्झन्छु ।

उहाँले बन्दुकका आँखा हुँदैनन् भन्नुभएको थियो । अनि त्यो अधिनायकवाद हो कि २०५१ सालमा कम्युनिस्टहरुले पहिलो सरकार बनाउँदा एउटा चरा पनि हान्नु परेन । अब कुन अधिनायकवाद हो आफै बुझ्नुस् । म धेरै व्याख्या गर्दिन ।

कास्कीले जहिले पनि एउटा कुशल नेताको अभाव खेपिरह्यो । तपाईंंले त्यो अभाव पूरा गर्न त सक्नुभएन, एमालेभित्रै पनि सबैले मान्ने नेता बन्न सक्नुभएन भन्ने गुनासो पनि सुनिन्छ नि धेरै । के भन्नुहुन्छ ?

कार्यकर्ताले सहयोग पनि गरे, पार्टीले मेरो क्षमताको भरपूर प्रयोग पनि ग¥यो । पार्टीप्रति मेरो कुनै गुनासो छैन । हुनसक्छ, काम गर्ने क्रममा कुनै साथीहरुलाई चित्त बझाउन सकिन होला । त्यो मेरो कमजोरी नै भयो ।

सबैको साझा नेता बन्न नसकेको गुनासो त माओवादी अध्यक्ष प्रचण्डलाई पनि लाग्न सक्छ, एमाले अध्यक्ष केपी शर्मालाई पनि लाग्न सक्छ । माधव र झलनाथलाई पनि लाग्न सक्छ । म ती गुनासाहरु नतमस्तक भएर सुन्छु र करेक्सन गर्दै अगाडि बढ्ने अठोटमा छु ।

जित्नुभयो भने के गर्नुहुन्छ र आफूअनुकूल नतिजा आएन भने के गर्नुहुन्छ ?

मेरो कामबाटै जनताले बुझ्छन् । म नजित्दा त त्यत्रो विमानस्थलको मुआब्जाको विवादलाई साम्य बनाएँ । ७० वटा औषधी निशुल्क बनाए । स्वास्थ्य विज्ञान प्रतिस्ठान बनाएँ । देशभरका अञ्चल अस्पतालहरुमा इमर्जेन्सी सेवा सञ्चालन गराएँ । औषधीको मूल्य निर्धारण गरें । हरेक अस्पतालमा आफ्नै फार्मेसीको व्यवस्था मेरै पहलमा भएको हो ।

त्यसकारण म गर्छु ठूलो कुरा होइनँ, म निरन्तर जनाताको सेवा हुन्छु । मैले कस्केली जनताको इज्जत र शानलाई माछापुच्छ«े र अन्नपूर्णजस्तै चमकदार बनाउँछु । म हारिहाले भने पनि सेवा गर्न बाँकी रहेछ, म निरन्तर सेवा रहिरहनेछु भन्ने कुरा जनतालाई भनिरहन्छु, लागिरहन्छु ।