लुम्बिनी गुरुयोजनाको काम ८२% पूरा

साउन २४, लुम्बिनी । लुम्बिनी गुरुयोजनाको काम ८२ प्रतिशत पूरा भएको छ । लुम्बिनी विकास कोषको शुक्रवार बसेको बोर्ड बैठकमा बृहत्तर लुम्बिनी गुरुयोजनाको कामका लागि झण्डै रू. २ खर्ब आवश्यक पर्ने तथा त्यसको व्यवस्थापनको विषयमा पनि छलफल भएको छ ।

बैठकको अध्यक्षता गरेका कोषका अध्यक्ष एवम् नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले लुम्बिनीको विकासका लागि सबै पदाधिकारी तथा सदस्य एक भएर लाग्नुपर्ने बताए । उनले सरकारले लुम्बिनीको विकासका लागि कुनै कसर बाँकी नराख्ने र त्यसका लागि प्रदेश सरकारसँग आवश्यक सहकार्य गर्ने बताए ।

बैठकमा विभिन्न प्रस्तावमाथि छलफल भएको कोषका निमित्त सदस्यसचिव सरोज भट्टराईले जानकारी दिए । बैठकमा प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेल र प्रदेशका पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री लिला गिरीसमेत आमन्त्रीत सदस्यको रुपमा उपस्थित थिए । उक्त बैठकमा प्रा. केन्जो टाँगेको गुरुयोजना, लुम्बिनी क्षेत्रमा भएका उत्खननको प्रभावकारिता र विश्वसनीयता, बृहत्तर लुम्बिनी क्षेत्रको विकास, लुम्बिनीमा पर्यटकको बसाइ लम्बाउनेलगायत प्रस्तावमाथि छलफल भएको भट्टराईले बताए । रासस