एमेजनसँग छुट्टिँदै फेडएक्स

न्यूयोर्क (अमेरिका) । अमेरिकी बहुराष्ट्रिय कुरियर सेवा प्रदायक कम्पनी फेडएक्सले एमेजनसँगको सम्झौता नवीकरण नगर्ने निर्णय गरेको छ । कम्पनीले एमेजनसँगको ग्राउन्ड डेलिभरी सम्झौता यो महीनाको अन्त्यमा सकिएसँगै नवीकरण नगर्ने बताएको हो । यसअघि गत जुनमा फेडएक्सले एमेजनसँगको एक्सप्रेस सम्झौता अन्त्य गरेको थियो । जसअन्तर्गत हवाई डेलिभरीको सुविधा थियो ।

एमेजनले आफ्नो सामग्री डेलिभरीका लागि नयाँ व्यावासायिक शाखा स्थापना गरेसँगै फेडएक्सले एमेजनसँगको सम्झौता नवीकरण नगर्ने बताएको हो । बुधवार यो समाचार सार्वजनिक भएसँगै फेडएक्स तथा एमेजनको शेयर पनि एक प्रतिशतभन्दा धेरै घटेको थियो । गतवर्ष फेडएक्सको कुल आम्दानीमा एमेजनको १ दशमलव ३ प्रतिशत अंश थियो । एजेन्सी