स्कार्लेट जोहान्सन सर्वाधिक कमाउने अभिनेत्री

लस एन्जलस (अमेरिका) । अमेरिकी अभिनेत्री स्कार्लेट जोहान्सन यस वर्ष सर्वाधिक कमाउने अभिनेत्री बनेकी छन् । अमेरिकी व्यावसायिक पत्रिका फोब्र्सले शुक्रवार सार्वजनिक गरेको सर्वाधिक कमाउने अभिनेत्रीहरूको सूचीले यस्तो देखाएको हो । पत्रिकाका अनुसार ३४ वर्षीया अभिनेत्रीले विगत १२ महीनामा ५ करोड ६० लाख डलर कमाएकी छन् । यससँगै जोहान्सन लगातार दोस्रो वर्ष सर्वाधिक कमाउने अभिनेत्री बनेकी हुन् । सन् २०१८ को तुलनामा यस वर्ष उनले १ करोड ५५ लाख डलर धेरै कमाएकी छन् ।

सूचीको दोस्रो स्थानमा भने सोफिया भेर्गारा छिन् । समीक्षा अवधिमा उनले ४ करोड ४१ लाख डलर कमाएकी छन् । उनी पहिलोपटक यो सूचीमा परेकी हुन् । सूचीको तेस्रो र चौथो स्थानमा भने क्रमशः रेसी विथस्र्पुन र निकोल किडम्यान छन् । पत्रिकाअनुसार विगत १ वर्षमा यी दुई नायिकाले क्रमशः ३ करोड ५० लाख डलर र ३ करोड ४० लाख डलर कमाएका छन् । गतवर्ष यस सूचीमा तेस्रो स्थानमा रहेकी नायिका जेनिफर एनिस्टन भने यस वर्ष पाँचौं स्थानमा झरेकी छन् । यस वर्ष उनको कमाइ २ करोड ८० लाख डलर मात्रै छ ।

सूचीको बाँकी शीर्ष १० मा क्रमशः क्याले कुओकु, एलिजाबेथ मोस, मार्गोट रोबी, चार्लीज थेरोन र इलेन पोम्पिओ छन् । गतवर्षको सूचीमा दोस्रो स्थानमा रहेकी अभिनेत्री एन्जेलिना जोली यस वर्ष शीर्ष १० बाटै बाहिरिएकी छन् । जोलीसँगै जुलिया रोबर्ट्स, केट ब्लान्चेट र जेनिफर लरेन्स पनि शीर्ष १० बाट बाहिरिएका छन् । सूचीमा फोब्र्सले सन् २०१८ को जुन १ देखि सन् २०१९ को जुन १ सम्मको कमाइ समावेश गरेको छ ।

आम्दानी असमानता कायमै
गतवर्षको तुलनामा जोहान्सनले डेढ करोड डलरभन्दा धेरै कमाएको फोब्र्सको सूचीले देखाएको छ । समीक्षा अवधिमा जोहान्सनको आम्दानी बढे पनि सर्वाधिक कमाउने अभिनेता र अभिनेत्रीको संयुक्त सूचीमा भने उनी ८औं स्थानमा छिन् । सुपरहिरो फिल्म ‘एभेन्जर्स : एन्डगेम’बाट जोहान्सनले ३ करोड ५० लाख डलर कमाएकी थिइन् । तर, उनको को–स्टार रोबर्ट डाउनी जुनियरले भने सोही चलचित्रमा आइरनम्यानको भूमिकाबापत ५ करोड ५० लाख डलर कमाएका थिए । फोब्र्सले बुधवार सार्वजनिक गरेको सूचीअनुसार ६ करोड ६० लाख डलरसहित डाउनी जुनियर सर्वाधिक कमाउने अभिनेताको सूचीमा तेस्रो स्थानमा छन् । सूचीको पहिलो स्थानमा ड्वेन जोन्सन र दोस्रो स्थानमा एभेन्जर्सकै अर्का नायक क्रिस हेम्सवर्थ छन् । यिनीहरूको आम्दानी क्रमशः ८ करोड ९४ लाख डलर र ७ करोड ६४ लाख डलर छ । एजेन्सी