शक्तिशाली तानाशाहलाई हराएका किशुनजी आफ्नैसित हारे

तारानाथ रानाभाट ।
बदलिदो संसारमा नेपाललाई बन्दी सरह बनाएर स्वतन्त्र विश्वको सदस्य हुन पनि नदिने र नेपाली जनताको व्यक्तित्व विकाससँगै उनीहरुको सामाजिक, आर्थिक र राजनीतिक अधिकारमाथि पूर्ण रुपले बन्देज लगाएर हुकुमी शासन सञ्चालन भइरहेको थियो। त्यो हुकुमी राणा शासनका विरुद्ध आन्दोलन गरी मुलुकमा प्रजातन्त्र स्थापना गर्र्ने उद्देश्यले पार्टी गठनमा लागेका राजनेतामध्ये कृष्णप्रसाद भट्टराई पनि एक हुनु हुन्थ्यो।

सात सालको क्रान्ति र २०१५ सालको आम निर्वाचन पश्चात १६ सालमा उहाँ सभामुख भएसम्मका सबै कुरा खुलस्त छन्। जतिबेला मुलुकमा प्रजातान्त्रिक शासन प्रणालीको सुरुवात हुँदै थियो, त्यहि समयमा तत्कालिन राजा महेन्द्रबाट १७ साल पुष १ गते प्रजातन्त्रको गला रेट्ने काम भयो।

राजा महेन्द्रले गरेको कु न त कुनै राजनीतिक दलको अस्थित्व समाप्त पार्नका लागि मात्रै थियो, न कुनै नेताको जीवनविरुद्ध मात्र। त्यो कदम प्रजातन्त्रका मूलभूत मान्यता र सिद्धान्तमा आधारित संवैधानिक व्यवस्था र कानुनी शासनभित्र नेपाली जनताले आफ्नो भाग्यको निर्माण आफैले गर्न पाउने मौलिक हकका विरुद्धमा थियो।

त्यतिबेला सबै नेताहरु जेल परे। त्यसको केहि समयपछि क्रमशः उनीहरु छुट्दै पनि गए। त्यो अवस्थामा किशुनजीलाई पनि राजा समक्ष एउटा सानो विन्तिपत्र चढाए छिट्टै छुटिन्छ भन्ने सुझाव नदिइएका होइनन्। यसका लागि राजाका तर्फबाट र अरु सामाजिक, राजनीतिक व्यक्तित्वहरुले पनि उहाँलाई सुझाएका थिए। तर, उहाँको राजनीतिक अडान बेग्लै थियो।

कुनै व्यक्ति विशेष नभएर राष्ट्र, प्रजातान्त्रिक सिद्धान्त र आदर्श, सार्वभौमसत्ता सम्पन्न जनताको विरुद्ध जसले अन्याय गर्यो त्यो अन्यायलाई स्वीकार गरेर मलाई छोडाइपाउँ भनि विन्तिपत्र लेख्ने? म यो गर्न सक्दिन भन्ने अडान किशुनजीले लिनु भयो। जसको कारण उहाँले सबैभन्दा लामो समय जेल जीवन विताउनु पर्यो। यो उहाँको मूल्य, मान्यता र आदर्शमा आधारित राजनीतिक अडान थियो।

उहाँसँग मेरो व्यक्तिगत चीनजान उहाँ जेल रहँदाको समयमा कहिलेकाही परिक्षा दिन आउँदा अथवा काम विशेषले पोखराबाट काठमाडौं आउँदा साथीहरुसँग जेलमा गएर सामान्य रुपमा भेटघाटका क्रममा सुरु भयो। राजनीतिक ढंगले उहाँलाई सारा संसारले बुझेको अवस्थामा हामीले पनि नबुझ्ने कुरै भएन। रिहा भएर २७ सालमा चैतको अन्तिम हप्ता जब किशुनजी पोखरा जानु भयो र त्यहाँ एकहप्ता भन्दा बढी समय बस्नु भयो, त्यो बेला उहाँसँगै रहेर आफूलाई जसरी परिचित गराउन सक्यौं त्यहि समयमा उहाँले हामीहरुलाई पनि बुझ्नु भयो। जसको अमिट छाप हामीबीच एकाआपसमा उहाँको अन्तिम दिनसम्म पनि कायम रह्यो।

हाम्रो योग्यता, ज्ञान, अनुभव, प्रतिबद्धता लगायतका विषयमा उहाले पनि बुझ्नु भयो। त्यतिबेला पोखरामा गण्डकी छात्र समितले एउटा बृहत साहित्य सम्मेलन गरेको थियो। कविबर बालकृष्ण समको प्रमुख आतिथ्यमा किशुनजीको विशेष उपस्थितिमा मैले एउटा कविता वाचनको मौका पाएँ। ‘लंगडो युग’ शिर्षकको कविताका लागि मैलाई स्वर्ण पदक पाउने सौभाग्य मिल्यो। सम्भवत् त्यो कविताको सन्देशका कारण पनि हुन सक्दछ मलाई किशुनजीले अलिबढि माया गर्न थाल्नु भयो।

त्यसपछि हाम्रो सामिप्यता बढ्दै गयो। हामी स्यांजाहुँदै बुटवल पुग्यौँ। किशुनजी फेरि पक्राउ परेर जेल पर्नु भयो। उहाँ जेल पर्ने छुट्ने क्रम सामान्य रुपमा चलि नै रह्यो।

उहाँका विर्सनै नसकिने केहि घटनाको सन्दर्भमा कुरा गर्दा जब जनमत संग्रहकोे घोषणा भयो विपी कोइरालाले त्यसलाई जनतामाझ पुग्ने अवसरको रुपमा उपयोग गर्नु पर्ने धारणा अघि सार्नु भयो। जसमा अरु नेताहरु पनि सहमत भए। तर, दूर्भाग्यबस बहुदलीय व्यवस्था पराजित हुन पुग्यो।

त्यसपछि पनि तत्कालिन राजाले कांग्रेससामु एउटा प्रस्ताव अघि सादै भने, ‘यहि पञ्चायती व्यवस्थाभित्रै विकल्प खोज्नुहोस्।’

यो प्रस्तावपछि पार्टीभित्रको एउटा पक्ष त्यसलाई विकल्पको रुपमा लिन तयार देखियो। तर, किसुनजीले त्यससलाई अस्विकार गर्नु भयो। उहाँले भनाई थियोः पञ्चायतको विकल्प पञ्चायत हुन सक्दैन। त्यसपछिका दिनमा पनि आन्दोलनहरु भए र यहाँसम्म आइपुगिएको छ।

२०१८ सालमा सुवर्णजी र पछि विपीले पनि शसस्त्र क्रान्तिको पक्षमा वकालत गर्नु भएको थियो। तर, किशुनजीले त्यसको जमेर प्रतिवाद गर्दै भन्नु भयो, ‘शसस्त्र आन्दोलनले देश र जनताको भलो गर्दैन। यदि शसस्त्र आन्दोलन गर्ने हो भने हामी कसै न कसैको हतियार बन्न सक्छौँ र बन्नु पर्ने बाध्यता आउन सक्छ। जनतालाई साथ लिएर गरिने शान्तिपूर्ण आन्दोलन भन्दा उपयुक्त परिवर्तनको साधन अरु कुनै हुनै सक्दैन।’ उहाँको यहि अडानले अन्ततः ४६ सालको परिवर्तन ल्यायो।

उहाँको अडानकाबारेमा चर्चा गर्ने हो भने, लौहपुरुष गणेशमानको नेतृत्वमा ४६ सालको आन्दोलन सफल भयो र राजाले गणेशमानजीलाई बोलाएर उहाँकै नेर्तत्वमा आन्दोलन सफल भयो, मागे बमोजिमको व्यवस्था पनि स्थापित भएकोले अब यसलाई सञ्चालन र व्यवस्थित गर्ने जिम्मेवारी पनि तपाईले लिनुहोस भने।

तर, गणेशमानजीले त्यो स्वीकार गर्नु भएन। त्यतिबेला नेताहरु कति इमान्दार थिए र उनीहरुमा आफ्नो व्यक्तिगत स्वार्थ, सुख सयल र मान प्रतिष्ठा भन्दा मुलुक ठूलो हुन्छ र यसलाई व्यवस्थित गर्ने जिम्मेवारी ठूलो हो भन्ने भावना उच्च थियो भन्ने उदाहारण यहाँ देख्न सकिन्छ।

गणेशमानजीले जुन परिवर्तन आएको छ त्यसलाई व्यवस्थित गर्न र संचालन गर्न अति कठिन हुन्छ भन्ने बुझ्नु भएको थियो। देशभित्र जनताको एउटा प्रकारको चाहना र अपेक्षा छ भने छिमेकी मित्रराष्ट्रदेखि समग्र विश्वलाई यहाँको परिर्वतनकाबारेमा आस्वस्त पार्दै उनीहरुको सहयोग र समर्थन जुटाउनु अति आवश्यक छ। यो सामान्य चुनौति होइन। संविधान बनाउनु पर्यो, त्यो कस्तो र कसरी बनाउने भन्नु विषयमा गहन जिम्मेवारीको विषय हो। यो संक्रमणकाललाई अनन्त कालसम्म लम्व्याउनु हुँदैन भन्ने गणेशमानजीको ठम्याई थियो।

अत्यन्त छोटो समयमा अत्यन्त गम्भिर कुटनीतिक ढंगले जनभावना र मुलुकको सुदूर भविश्यको बाटो अबरोध नहुने गरी अघि बढ्न आवश्यक छ। आफ्नो स्वास्थ्य स्थितिकासाथै आफू त्यो जिम्मेवारी बहनका लागि उपयुक्त पात्र नभएको स्वीकार गर्दै उहाँले किशुनजीको नाम राजासमक्ष प्रस्ताव गर्नु भयो।

सोही सल्लाहका आधारमा किशुनजी प्रधानमन्त्री हुनु भयो। उहाँले सकेसम्म चाँडो अत्यन्त प्रजातान्त्रिक संविधान बनाउन र नेपालको भूराजनीतिक बनौट र विश्व राजनीतिक परिदृश्यमा सर्वस्वीकार्य हुन सक्छ त्यो बनाउन अहंम भूमिका खेल्नु भयो।

त्यसका लागि आफूजस्तै योग्य विश्वनाथ उपाध्यायलाई संविधान मस्यौदा समितिको अध्यक्ष बनाएर ६ महिनामा विश्वमै उत्कृष्ट प्रजातान्त्रिक संविधान बनाउन सफल हुनु भयो। जसलाई संसारभरीकै प्रजातान्त्रिक संविधानसँग तुलना गर्दा पनि कुनै खोट र अपूर्णता देखाउन सकिँदैन।

सोही संविधानका आधारमा अर्को ६ महिनाभित्रै आम निर्वाचन सम्पन्न गरी जनताको हातमा शासन सुम्पिने कार्य उहाँको अर्को महत्वपूर्ण योगदान थियो।

भलै त्यो निर्वाचनको दुःखद पक्ष भनेको आफैले सम्पन्न गरेको चुनावमा उहाँलाई हराइयो। त्यो बीचमा संविधान नबनाउनका लागि देशभित्र र बाहिरबाट दबाब र प्रभाव नआएको होइन। नेपालको संक्रमणकाल लामो समयसम्म जाओस भन्ने चाहना देशभित्र र बाहिर नभएको पनि होइन।

किशुनजी स्वार्थी भइदिएको भए, प्रधानमन्त्री पदको सुख सुविधा, त्यसको गरिमा र इज्जतको मोहले उहाँलाई छोपेको भए त्यो संक्रमणकाल दशौंवर्ष लम्बिन सक्ने थियो होला। यो वा त्यो बहानामा अहिलेजस्तै संविधान नबनेर अन्यौलता रहन सक्दथ्यो। उहाँलाई धम्कि नआएका पनि होइनन्। राजा नै सार्वभौमसत्ताको मालिक हुन र राजाले नै संविधान दिन्छन्, तिमीले संविधान नबनाउ भन्दै सेनाका उच्च अधिकृतहरुले प्रधानमन्त्री कार्यालयमा पुगेर धम्क्याएकै हुन्।

त्यसका बाबजूद पनि संविधान बन्यो। तर, फेरि भित्र र बाहिरबाट उहाँलाई चुनाव नगराउनका लागि दबाब दिँदै तपाइ चुनाव हार्दै हुनुहुन्छ, आफ्नो अनुकलतामा मात्रै चुनाव गराउनु भनि सुझाउने काम पनि भयो। तर, उहाँले आफू हारेर पनि देश, जनता र प्रजातन्त्र जिताउँछु भन्ने अठोटका साथ चुनाव गराउनु भयो। नभन्दै उहाँलाई हराइयो तर, व्यवस्थाले जित्यो। त्यो उहाँको प्रजातान्त्रिक शासन व्यवस्थाप्रतिको अडान र मुलुकप्रतिको कर्तव्य बोधको परिणाम थियो।

पछिल्ला दिनहरुमा उहाँका यी अडानहरु प्रसंशनीयमात्र होइन अनुकरणीय पनि छन्। मुलुका दुइ व्यक्ति विपी कोइरालाको दूरदृष्टि र गणेशमानजीको अडानका कारण किशुनजी मुलुकको यति ठूलो परिवर्तनको संवाहक हुनु भयो। उहाँको त्यहि त्याग, अडान र शान्तिपूर्ण आन्दोलनप्रतिको प्रतिबद्धताका कारण विपीले अरु थुप्रै योग्य नेताहरु हुँदाहुँदै पनि पटना सम्मेलनबाट उहाँलाई कार्यबहाक सभापतिको जिम्मेवारी दिनु भयो।

त्यतिबेलाका नेताहरुमा व्यक्तिगत स्वार्थ थिएन। न उनीहरुमा मान सम्मानको लोभ नै थियो। जनताको सेवा गर्दागर्दै पाइने इज्जतको मात्रै महत्व हुन्छ जुन पद र पैसाले किन्न सकिदैन। योग्यतम व्यक्तिलाई मात्रै जिममेवारी दिने तथा कसैबाट कुनै प्रकारको वेइमानी उहाँले सहनु भएन।

उहाँको आफ्नै दाजु गोपालप्रसादको छोरा विनोदलाई टिकट दिनु पर्छ भनि ४८ सालदेखि नै निरन्तर दबाब उहाँमाथि नपरेको होइन। तर, उहाले भाइभतिजावाद, नातावाद, कृपावादको अपजस लिन चाहनु भएन र टिकट दिनु भएन।

किसुनजी जस्ता नेता र उहाँको जस्तो निष्कपट चरित्र पार्टीमा अहिले देख्न पाइदैन। भलै पार्टीभित्र यो र उ समूह अहिले जस्तो त्यतिबेला पनि नभएको भने होइन। तर, अहिलेको जस्तो खुलम खुला म यो गुटको उ अर्को गुटको भन्ने प्रचलन थिएन। यस्तो छाडा पन थिएन। अहिले त कांग्रेस समूह भन्दा पनि मोर्चाको रुपमा रुपान्तरित हुँदैछ।

उहाँ जस्तो सफल नेता अरु छैनन्। उहाँलाई आफ्नो व्यक्तिगत स्वार्थ, प्रतिष्ठाको मतलव थिएन। उहाँ वास्तविक रुपमै सन्त हुनु हुन्थ्यो। जसलाई देश र जनताको बाहेक व्यक्तिगत वा अन्य कुनै स्वार्थ थिएन।

४८ सालमा उहाँ पार्टी सभापति र प्रधानमन्त्री भएको अवस्थामा चुनाव लड्नु स्वाभाविक निर्णय थियो। उहाँ त्यतिबेला आफ्नो व्यक्तिगत आडम्बर, आग्रह र स्वार्थले होइन, पार्टी निर्णयका आधारमा चुनाव लड्नु भएको थियो।

अहिले हेर्दा जे देखियोस्, त्यतिबेला पार्टीकै निर्णयमा उम्मेदवारहरुको चयन हुने गर्दथ्यो। तर, अन्तरघातको विजारोपण पनि त्यहि समयबाट सुरु भयो र उहाँलाई उपनिर्वाचनमा वर्तमान राष्ट्रपतिसँग हराइयो। को को उहाँलाई हराउन लागेका थिए त्यो खोजको विषय हुन सक्दछ। तर, भित्र बाहिरबाट सारा शक्ति उनका विरुद्ध लागेका थिए। उहाँ त्यसको शिकार हुनु भयो। आफूलाई हराउन लाग्नेहरुलाई चिनेर पनि उहाँले उनीहरुप्रति कहिल्यै पनि कुनै रिसराग राख्नु भएन। सबैलाई समान दृष्टि र व्यवहार गर्नु भयो।

एउटा पक्षबाट हेर्ने हो भने उहाँले दण्ड र पुरस्कारको व्यवस्था नअपनाएर पार्टीभित्र अराजकताको सुरुवात भय भन्न सकिन्छ। त्यसका निम्ति गणेशमानजीले उहाँलाई पटक पटक खार्ने काम पनि गर्नु भएको थियो। कहिलेकाहीँ रिसाएर गणेशमानजीले उहाँलाई ‘कालो बाहुन’ले विगार्यो भन्ने गर्नु पनि हुन्थ्यो। यसरी भन्नुमा गणेशमानजीको पनि कुनै स्वार्थ भने थिएन। उहाँले केबल प्रजातन्त्र, पार्टी र देश बाहेक केहि भन्नु भएन।

जतिखेर पनि पार्टी विभाजित हुन सक्ने संकटपूर्ण अवस्था हुँदा पनि किशुनजीले त्यसलाई जोगाएर राख्नु भयो। गणेशमानजीले एक पटक रिसाएर जनजागरण अभियान थाल्नु पनि भयो। तर, किशुनजी अपमानको विष पिएर पनि पार्टीलाई जोगाउनु भयो। हामी उहाँहरुकै कारण विस्तारै यहाँसम्म आयौँ तर, अत्यन्त कमजोर हुँदै आयौँ।

उहाँप्रति गरिएका अपमानपूर्ण व्यवहारबारे सबैकुरा अहिले नभनौँ। उपयुक्त बेला आएपछि भनैँला। तर किसुनजीलाई ५६ सालमा पर्साबाट चुनाव लडाइयो। त्यहाँ कसैले चाहेर पनि हराउन नसक्ने अवस्था थियो। उहाँकै नाममा त्यो चुनावमा पार्टीले बहुमत प्राप्त गर्यो। स्वभावत उहाँ प्रधानमन्त्री पनि हुनु भयो। तर, हाम्रो पार्टीका लागि त्यो अलिकति अस्वभाविक भयो भन्ने कि के भन्ने? जुन वास्तविक रुपमा अस्वभाविक कुनै दृष्टिकोणबाट पनि थिएन। तर, हाम्रो पार्टीभित्रकै केही नेताको स्वार्थवस उहाँलाई विचमै हटाइयो।

त्यो दिनको स्मरण गर्दा अहिले पनि मन गह्रौँ भएर आउँछ। उहाँले राजीनामा दिनु अगाडि संसदलाई सम्बोधन गर्दै यति गम्भिर सम्वेदनशील अभिव्यक्ति दिनु भयो कि, त्यो दिन संसदभित्र सभामुख वा सत्तापक्षमा उहाँका अनुयायी मात्रै रोएनन्। विपक्षी दलका सदस्यले पनि मन दुखाए। सिंगो देश नै रोयो। एउटा सुव्यवस्थित र संवैधानिक ढंगमा जनताको सहयोग, सदभावले सहज रुपमा चलिरहेको व्यवस्थामा केहि यस्ता घटनाहरुले चोट पुर्याउँदै गयो। त्यो अवस्थाबाट मुलुक कमजोर बन्दै र अराजकता र अशान्तिको दिशामा मुलुक धकेलियो। त्यो अवस्थाबाट कसकसले कति फाइदा उठाए त्यो सबै खुला भइसकेको छ।

५१ सालदेखि एउटा अवस्थाको सृजना हुनुमा पनि हाम्रो कारणले हो। मुलुकलाई हामीले सहि रुपमा संचालन गर्न सकेको भए प्रजातान्त्रिक व्यवस्थाको खिलापमा रहेका तत्वहरुले घुस्ने मौका पाउने थिएनन्। अथवा प्रजातन्त्र विरोधी पक्षले भन्दा बलियो उद्देश्य र प्रभावकारी कार्यक्रम लिएर संगठनलाई बलियो बनाउँदै विरोधी पक्षलाई त्यो परिस्थितिको निर्माण गर्न नदिएको भए मुलुक यो स्थितिमा पुग्ने थिएन। अस्थिरता र अराजकताबाट केहि र कोहिलाई फाइदा भयो होला तर, देश र जनताका लागि दुःखद भयो।

जसले गर्दा गणेशमानजीले जस्तै पार्टीबाट अलग भए भन्नु पर्ने वाध्याता किशुनजीमा पनि आयो। उहाँले पछिल्लो राजनीतिक परिवर्तनप्रति असहमति जनाउँदै पार्टीबाट अलग भएको पत्र नै पठाउनु भएको थियो। संयोगले त्यो पत्र लिएर जाने म नै थिए। त्यसलाई पार्टीको कार्यक्रममा पढ्न समेत दिइएन। बिचमा बोल्ने क्रममा मिलाएर किसुनजीबाट यस्तो पत्र पाएको छु भनेर जानकारी दिनु परेको थियो।

तर, जे भनेपनि नेपालको प्रजातान्त्रिक इतिहासमा चाहे राणा शासन विरुद्धको लडाई होस या ३० वर्षे पञ्चायती व्यवस्थाको अन्त्यका लागि भएको संघर्ष विपी कोइरालाको टक्करमा जाने त कोहि नेता नै हामीसँग थिएन। त्यसपछिका राजनेतामा किशुनजी र गणेशमानजी नै अग्रस्थानमा हुनु भयो।

आध्यात्ममा विश्वास गर्ने किसुनजीलाई रुवाएकै कारण कता कता अहिले उहाँकै श्राप लागेको हो कि भन्ने पनि लाग्दछ।

देशको सार्वभौमिकता, अखण्डता र नेपाली जनता जसलाई अहिले विभिन्न जात, धर्म, भूगोलका नाममा विभक्त गरिएको छ र अनेक प्रकारका द्धन्द्धहरु र्सजना गरिएको छ। यदि यी सबै कुरालाई मेटेर बृहत राष्ट्रिय एकता र मेलमिलापमा देशलाई न लैजाने हो भने कांग्रेस मात्रै उपयुक्त मन्च हो।

जनताको सुखद भविश्यका निम्ति कांग्रेसमात्रै एउटा अभिभावक पार्टी हो। इतिहासमा नेपाली जनताका हित र कल्याणका लागि सबै भन्दा बढि लडेको पार्टी पनि यहि हो। भलै अहिले यो पार्टी चुनावमा पराजित भएको छ, त्यो पराजय जनताले यसलाई भविश्यमा सच्चिनका लागि दिएको चेतावनी हो।

किशुनजीलाई हामीले आज पनि सम्झिने हो भने निस्वार्थ भावले अघि बढ्नु पर्छ।

उहाँका यी सम्पूर्ण कुरासँगै हामीले आफुलाइ विर्सेर मुलुक र जनताको हितका खाँतिर देशलाई स्वच्छ र सक्षम दूरदृष्टि भएको नेतृत्व देउ भन्ने सन्देश उहाँको थियो। देश, जनता र प्रजातन्त्रका निम्ति कसैसँग सम्झौता नगर भन्ने सन्देश उहाँको थियो।

अब बेला आएको छ उहाँका यी विचार सम्झिने। तर अहिले हामीसँग विपी कोइराला वा उहाँका साथीहरु जस्ता नेताहरु पनि छैनन्। देश, संसार र जनताको नौनाडी बुझेका सक्षम नेता छैनन्। दोस्रो पुस्ताबाट आएका अहिलेका नेताहरु पनि ठूलो घरानाका मात्तिएका छोरा जस्तै भएका छन्। बाउबाजेले कमाइदिएको प्रसस्त सम्पत्ति खायो, उडायो हिड्यो जस्तै भइरहेको छ।

पूर्खाले कमाइदिएको उडाएर हुँदैन। हाम्रो जिम्मामा भावी सन्ततिको भविश्य अडेको छ भन्ने चेत अब खुल्नु पर्छ। नयाँ पुस्तालाई कस्तो नेपाल सुम्पिने? विपी, गणेशमान र किसुनजीले सुम्पेजस्तो सुम्पने कि अनेकखाले द्धन्द्धले क्षतविक्षत भएको नेपाल सुम्पिने?

यसका लागि कांग्रेस र यसका नेता कार्यकर्ता सचेत हुन जरुरी छ। जनताको विश्वास लिएर फेरि पार्टीलाई पुर्ननिर्माण गर्दै राजनीतिक, आर्थिक, सामाजिक पुर्ननिर्माणमा लाग्न सकेमात्रै किशुनजीको सपना पुरा हुन सक्छ।

(पूर्वसभामुख तथा पूर्वमहामन्त्री तारानाथ रानाभाटसँग कृष्णप्रसाद भट्टराइको सातौँ स्मृति दिबसको अवसरमा गरेको कुराकानीमा आधारित)

हिमाल दैनिक बाट

eznepal-sidebar add

Rakshya Travel-sidebar