पाइलटको हडतालले ब्रिटिज एयरवेजका उडान रद्द

लन्डन (बेलायत) । पाइलटको हडतालको कारण बेलायती एयरलाइन्स कम्पनी ब्रिटिश एयरवेजको सबैजसो उडान रद्द भएका छन् । सोमवार एयरवेजका पाइलटले ४८ घण्टे हडताल शुरू गरेका हुन् । हडतालको कारण यो एयरवेजका हजारौं यात्रु मर्कामा परेका छन् ।

ब्रिटिश एयरवेजको पाइलट संघ (बीएएलपीए)ले एयरवेजलाई यसअघि नै तीनदिने हडतालको सूचना पठाएको थियो । तलबको विषयमा कुरा नमिल्दा पाइलटहरूले आन्दोलन गरेका हुन् । यस विषयमा आफ्ना यात्रुसँग क्षमायाचना गर्दै एयरवेजले अहिले देखिएको समस्या समाधानका लागि प्रयास गरिरहेको र छिट्टै पाइलटको तलबको विवाद समाधान हुने बताएको छ । एक वक्तव्य जारी गर्दै एयरवेजले हडतालको कारण मानिसमा देखिएको निराशा र आक्रोशलाई कम्पनीले बुझेको उल्लेख गरेको छ ।

बीएएलपीएको हडताल मंगलवार पनि जारी रहनेछ । साथै सेप्टेम्बर २७ मा पनि अर्को हडताल गरिने उल्लेख गरिएको छ । यस विषयमा दुई पक्षको बीचमा आगामी दिनमा थप वार्ता हुन सक्ने उल्लेख गरिएको छ । बीएएलपीएले ब्रिटिश एयरवेजले आप्mनो नाफाको थप रकम पाइलटलाई बाँड्नुपर्ने बताउँदै आएको छ । तर, एयरवेजले भने पाइलटहरूको आन्दोलन न्यायोचित नरहेको बताएको छ । एजेन्सी