तेल निर्यातमा साउदीलाई पछि पार्दै अमेरिका

पेरिस (फ्रान्स) । अन्तरराष्ट्रिय ऊर्जा नियोग (आईईए) ले यस वर्ष अमेरिका विश्वकै ठूलो तेल निर्यातकर्ता मुलुक बन्न सक्ने बताएको छ । बिहीवार आईईएले सार्वजनिक गरेको प्रतिवेदनले अमेरिका यस वर्ष कच्चा तेल निर्यातमा साउदी अरबलाई पछि पार्न सक्ने अवस्थामा रहेको देखाएको हो ।

आईईएका अनुसार अहिले अमेरिकाले तेल निर्यात बढाउन आवश्यक पाइपलाइन निर्माणको कामलाई तीव्रता दिएको छ । साथै, यो क्रम अझै बढ्ने संकेत पनि गरेको छ । प्रतिवेदनअनुसार गत जुनमा तेल निर्यातमा अमेरिकाले साउदी अरबलाई पछि पारेको थियो । सो अवधिमा अमेरिकाको तेल निर्यात प्रतिदिन ३० लाख ब्यारेलभन्दा धेरै बढेको थियो । यससँगै समग्र कच्चा तेल निर्यात प्रतिदिन ९० लाख ब्यारेल पुगेको थियो । तर, सोही अवधिमा साउदी अरबले भने कच्चा तेल उत्पादन तथा निर्यात घटाउने निर्णय गरेको थियो ।

जुलाईमा भने साउदी अरबको तेल निर्यात पुनः अमेरिकाको भन्दा बढी देखिएको थियो । हरिकेन आँधी र चीनसँगको व्यापारयुद्धका कारण पछिल्ला केही महीना अमेरिकाको तेल निर्यात प्रभावित भएको छ । पछिल्लो १ दशकमा अमेरिकाको तेल उत्पादन प्रतिदिन १ करोड २३ लाख ब्यारेल बढेको छ । अहिले अमेरिका विश्वकै ठूलो तेल उत्पादक मुलुक हो । एजेन्सी