ओली सरकारको खोक्रो राष्ट्रवाद

न्हुच्छेनारायण डंगोल ।

नेपालमा दुई तिहाईको दम्भ पालेको सत्ताधारी दल नेकपाका नेताहरुलाई सत्ताको उन्माद लागेको छ । उनीहरु कसैको आलोचना सुन्न चाहदैनन् । उनीहरु भगवान हुन् जे गरे पनि हुन्छ । उनीहरुले गरेका गलत काम कारबाही ,संविधान विरोधी गतिविधिलाई पनि जनताले ताली बजाएर स्वागत गर्नुपर्छ भन्ने मान्यता राख्न थालेका छन् । उनीहरुको विरोध गर्नेलाई व्यवस्था विरोधी देख्नु र प्रतिकार गर्न आफ्ना हनुमान कार्यकर्तालाई निर्देशन दिनुले सत्ताको मात कति लागेछ भन्ने स्पष्ट हुन्छ ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्रको आलोचना गर्ने विरोध गर्नेलाई प्रतिकार गर्न कार्यकर्तालाई निर्देशन दिए । सच्चा गणतन्त्रमा त सबैको आलोचना र विरोध गर्न पाइन्छ । तर उनीहरुको यो नाममात्रको गणतन्त्रमा उनीहरुले गणतन्त्रविरोधी, संविधान विरोधी काम गरेका छन् जनताले विरोध गर्न थाले भने जनता तर्साउन कारकाही र प्रतिकारको धम्की दिन्छन् । यो कस्तो गणतन्त्र हो ?

पञ्चायत कालको अन्तिमतिर २०४६ सालमा पञ्चायतका मन्त्रीहरुले पनि अहिलेका प्रचण्डहरुले जस्तै जनतालाई तर्साउने धम्क्याउने गरेका थिए । पञ्चायत ढलेपछि उनीहरुको हालत के भयो ? जनतालाई बेवास्ता गर्दाको फल नराम्रो हुन्छ भन्ने कुरालाई प्रचण्डहरुले राम्ररी बुझ्नुपर्छ । मर्ने बेलामा कमिलाको प्वाँख पलाउँछ । जनविरोधी, राष्ट्रविरोधी काम गर्नेहरुलाई जनताले सहदैनन् । गणतन्त्रका नाममा जनता लुट्ने, मुलुक लुट्ने छुट कसैलाई पनि छैन । जनताभन्दा ठूलो कोही छैन । जनताको नाम भजाएर जनतामाथि दमन गर्ने कार्य सह्य हुँदैन । जनता आक्रोशित छन् । जनताको आक्रोश विभिन्न रुपबाट प्रकट हुन थालेका छ ।

वास्तवमा आलोचनाले त लोकतन्त्र समृद्ध बनाउँछ । त्यसमा पनि लोकतन्त्रका कर्ताहरूको आलोचना अहिलेको राजनीतिक प्रणालीप्रति दुराग्रह पनि होइन । अहिले शासनसत्तामा रहेका कुनै व्यक्तिबारे आलोचना÷समालोचना हुन सक्छ । त्यसैका आधारमा सिंगै व्यवस्थाविरुद्ध उत्रिएको आरोप लगाउनु उचित होइन । वास्तवमा आलोचनाले लोकतन्त्र समृद्ध बनाउँछ । कुनै पनि व्यक्ति स्वयम्भू होइनन् । व्यक्ति हो, गल्ती हुन्छ । र, त्यसलाई सच्याउन सकिन्छ । धेरैलाई मर्का प¥यो भने व्यक्तिले माफी पनि माग्छन् । कुरा यत्ति हो– हामीले बसाउन खोजेको लोकतन्त्रको संस्कृति कस्तो हो ? यो हाम्रो अभ्यासबाट सम्पुष्ट हुँदै जान्छ । लोकतन्त्र भनेको भजन गाएजस्तो सजिलो कुरा पनि होइन । हामी लोकतन्त्रवादी हौं, हामीले यो व्यवस्था ल्याइदिएको हो र हामीले ल्याएको व्यवस्थामा तिमीहरूलाई बोल्न दिएका हौं भन्नेजस्ता अभिव्यक्ति सुनिन थाल्नु निकै दुःखद पक्ष हो ।

लोकतन्त्रका नेताहरूलाई हिजोको संघर्षको ब्याजले जिन्दगीभरि पुग्दैन । प्रत्येक व्यक्तिले हरेक दिन संघर्ष गरिरहेको हुन्छ । एउटा किसानले एक याम काम गरेर पुग्दैन । एउटा शिक्षकले एक सत्र मात्र पढाएर पुग्दैन । नेताका निम्ति पनि हिजो मैले धेरै गरेको थिएँ भनेर आज केही गर्नुपर्दैन भन्ने हुँदैन । संघर्ष हरेक दिन गरिरहनुपर्छ ।

त्यसमा पनि शासन व्यवस्थामा जानुको अर्थ हो– सर्वसाधारणबाट निरन्तर निगरानीमा पर्नु । आफ्नो आलोचना गर्नेजति सबै विरोधी पनि होइनन् । जसले विरोध गर्छन् , ती ‘मण्डले’ हुन् भन्ने अतिशयोक्तिपूर्ण अभिव्यक्ति यतिबेला प्रकट भइरहेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई नेपालगन्जबाट काठमाडौं फर्किने क्रममा जहाज उडानमा ढिलाइ हुँदा जुन व्यक्तिहरूले आक्रोशपूर्ण प्रतिक्रिया दिए, त्यस विषयमा अहिले पक्ष र विपक्षमा समाज बाँडिएको देखिएको छ । निश्चय नै मन्त्रीविरुद्ध गरिएको आलोचनाले धेरैलाई असजिलो लागेको छ । मन्त्रीका कारण जहाज उडान ढिला भएको हो भने त्यहाँ रहेका मध्ये केहीले विरोध गर्नु स्वाभाविक हो । केही व्यक्ति मुखर हुन्छन् , तिनले प्रतिक्रिया व्यक्त गर्छन् । धेरै त चुप लागेका हुन्छन् । मन्त्री आफैंले त्यसमा गल्ती महसुस गरी विज्ञप्ति सार्वजनिक गरिसकेपछि यो विषय साम्य हुनुपर्ने हो । तर, यसलाई नयाँ ढंगले विवादमा लैजाने काम भइरहेको छ ।

मन्त्रीको विरोध गर्ने व्यक्तिमध्ये एक ज्ञानेन्द्र शाहीले पत्रकार सम्मेलन गर्न खोज्दा आइतबार अपराह्न राजधानी काठमाडौंमा आक्रमण भएको छ । पक्कै पनि दलनिकट कार्यकर्ताकलाई उनको प्रस्तुति चित्त नबुझ्न सक्छ । तर, यसको अर्थ के होइन भने उनले आयोजना गरेको पत्रकार सम्मेलनमै गएर आक्रमण गरियोस् । वास्तवमा यसो गर्दा हिजोको ‘मण्डले चरित्र’ पुनरावृत्ति हुन थालेको आरोप लाग्न सक्छ । शासनसत्तामा बस्ने बढी संयमित हुनैपर्छ । कसैले आलोचना वा विरोध गरे, त्यही रूपमा जवाफ दिइहाल्नु आवश्यक हुँदैन ।

ओली सरकारको खोक्रो राष्ट्रवाद पशुपतिको आरतीमा ठोकिएको छ । पशुपतिमा आरती गर्ने बेला राष्ट्रिय गीत गाउन अनिवार्य गरिएको छ । यसो गर्नु आवश्यक छ ? पक्कै छैन । जनस्तरबाटै आलोचना भएका छन् । सरकारमा रहेका मन्त्रीलाई गाली र ताली दुवै आउँछन् । त्यसलाई समभावले हेर्नुपर्छ । सरकारमा जानु भनेको नागरिकको सेवा गर्नु हो । सरकारमा रहँदा कतिपय आफूलाई चित्त नबुझ्ने कुरा पनि सुन्नुपर्ने हुन्छ । आफूले राम्रो काम गरिरहेका बेला पनि आलोचना हुँदा मान्छेको मन न हो, नराम्रो लाग्न पनि सक्छ । तर, आफू सार्वजनिक जवाफदेहीको पदमा रहेबापत यी सबै भोग्नुपर्ने भएको हो भन्ने हेक्का राख्न आवश्यक छ । मन्त्री भट्टराईले ज्ञानेन्द्र शाहीलाई कारबाही हुनबाट प्रहरीलाई रोकेको भन्ने सकारात्मक जानकारी पनि आएको छ । तर, सँगै उनलाई कास्की प्रवेशमा रोक लगाउने भन्ने सत्तारूढ दल नेपाल कम्युस्टि पार्टी (नेकपा)निकट राष्ट्रिय युवा संघ नेपालको विज्ञप्तिले मन्त्रीको सदाशयतामै प्रहार गरेको छ । त्यसैगरी उनको आफ्नो सचिवालयबाट जुन आक्रामक विज्ञप्ति जारी भएको छ, त्यो पनि आलोचनायोग्य छ । सरकारमा हुने दल र त्यसका नेता तथा कार्यकर्तामा यति धेरै उत्ताउलोपन आउनु उचित होइन ।
सत्ताधारीमा अहिले जे जस्तो दम्भ र घमण्ड पैदा भएको छ । यसले उनीहरुलाई नै क्षति पुग्ने छ । विनास काले विपरीत बुद्धिको अवस्थामा पुगेका नेताहरुले आफूलाई सच्याउन सकेनन् भने जनताले विकल्प खोज्छन् । जनताको अजय शक्तिलाई कसैले पराजित गर्न सक्दैन ।