काँग्रेस अराजकताले खुम्चियो, राप्रपामा अन्योल

न्हुच्छेनारायण डंगोल ।

नेपालको पुरानो पार्टी नेपाली काँग्रेस आन्तरिक किचलोमा फसेको छ । कुशल नेतृत्वको अभाव तथा नेतृत्वमा हावी भएको भ्रष्टाचारले यो पार्टी धराशायी हुने अवस्थामा पुगेको छ । काँग्रसलाई अहिलेको पाराले गति दिन सकिँदैन । बीपीको पार्टी काँग्रेस जीपी हुँदै देउवाको काँधमा आउँदा इतिहासमै कमजोर बन्न पुगेको छ । अहिले त काँग्रेस संसद्मा एकतिहाईको हैसियतमा पनि छैन जसले गर्दा संसद्मा एउटा प्रस्तावसमेत दर्ता गराउन सक्दैन । काँगे्रस यति कमजोर किन भयो ? काँग्रेस नेताहरु एकले अर्कालाई आरोपप्रत्यारोपमा व्यस्त छन् ।
काँगे्रस नेताहरु नुवाकोटमा कोषाध्यक्षहरुको भेलमा जम्मा भए । पार्टीको चुनावमा भएको हार समीक्षा गर्न भन्दा पनि एकले अर्कालाई आरोपप्रत्यारोपमै सीमित भए । देउवा पक्षले रामचन्द्र पक्षलाई र रामचन्द्र पक्षले देउवा पक्षलाई चुनाव हारको दोष लगाए । तर समग्रमा काँग्रेसमा मौलाएको अराजकता,स्पष्ट दृष्टिकोण र नीतिको अभावले गर्दा काँग्रेस यो अवस्थामा आई पुगेको हो । काँग्रेसलाई नयाँ गति दिने हो भने नयाँ नेतृत्व आवश्यक छ । तर आशालाग्दो नेतृत्व देखिँदैन । न देउवा नत रामचन्द्रले काँँग्रेसलाई नेतृत्व गर्न सक्छन् ।
काँग्रेसमा पछिल्ला दिनमा स्पष्ट दृष्टिकोणको अभाव छ । उसँग नीति र कार्यक्रम छैन । जनताले विश्वास गर्ने काम र आधार नभएको काँगे्रस अराजकताको झुण्डमा परिणत भएको छ । अनुशासनहीनता काँग्रेसका लागि ठूलो समस्या भएको छ ।
उता कमल थापा,पशुपतिशम्शेर जबरा,प्रकाशचन्द्र लोहनीका राप्रपाहरु अन्योलग्रस्त अवस्था छन् । चुनावमा पराजित भएपछि यी पार्टीहरु पाटीजस्ता भएका छन् । हिजोको राजनीतिक अन्योल र अस्थिरमा सत्तामा पुगेर कमाउ धन्दामा लागको राप्रपाका नेताहरुलाई अब भने राजनीति फलामको चिउरा चपाउनु सरह भएको छ । उनीहरु पनि काँग्रेसजस्तै स्पष्ट नीति र दृष्टिकोणविहीन बन्न पुगेका छन् । यथास्थितिमा चल्ने हो अब जनताले पत्याउन गाह्रो छ ।
अर्कोतर्फ स्थानीय,प्रदेश र केन्द्रको चुनावमा अत्यधिक बहुमत ल्याएको बाम गठबन्धनले नयाँ नीति र कार्यक्रम अनुसार मुलुकलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ । जनताले विश्वास गरेको वाम गठबन्धनमा आबद्ध नेकपा एमाले र नेकपा माआवादी केन्द्र अब पार्टी एकता गर्ने गृहकार्य गरिरहेका छन् । दुई पार्टी एक भएपछि झन् शक्तिशाली हुने प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवादी दृष्टिकोणले काम गर्न थालको छ । संसद्बाट दुईतिहाई भन्दा बढी बहुमतको विश्वासको मत प्राप्त गरेका ओलीलाई अब काम गर्न कसैले पनि रोक्न सक्दैन । ओली सरकारले सही किसिमले काम गर्ने हो भने नेपालमा राजनीतिक स्थिरता र विकास हुने अपेक्षा गरिएको छ । तर सबैतिर भद्रगोल र अव्यवस्था रहेको अहिलेको अवस्थामा काम गर्दा निकै बुद्धि पुर्याउनुपर्ने अवस्था छ ।
ओली सरकारले केही गर्छ भन्ने विश्वास जनतामा पलाएको छ । सानो मन्त्रिमण्डल बनाएका ओलीले मन्त्रालयहरु पनि कटौती गरेर छोटो छरितो बनाएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट शुभकामना पाएका ओली इतिहासमै शक्तिशाली प्रधानमन्त्री बनेका छन् । उनले अब भारत र चीनसित राम्रो सम्बन्ध कायम गरी नेपालको विकास गर्न सक्नुपर्छ ।

न्हुच्छेनारायण डंगोल

यसै महिनाको अन्त्यमा भारतको भ्रमण गर्ने तयारी गरेका ओली भारत गएर गत वर्षको जस्तै राष्ट्रवादी अडान लिएर नेपालको हितमा काम गर्नुपर्छ । ओलीलाई राष्ट्रवादी अडानकै कारण आम जनताले विश्वास गरेका हुन् । ओलीले यस पटक सन् १९५० को असमान सन्धि खारेज गराउन भूमिका खेल्नुपर्ने साथै भारतको नेपाललाई हेर्ने दृष्टिकोण परिवर्तन गराउन सक्नुपर्छ ।
भारतको भ्रमणपछि चीनको भ्रमण गर्ने ओलीले चीनबाट पनि नेपालको हितमा काम गराउनसक्नुपर्छ । चीनले नेपालमा रेल ल्याइदिने बचन दिएको छ । चिनियाँ रेल नेपालमा आयो भने भारतसँगको परनिर्भरता घट्ने छ । ओलीको भारत र चीनको भ्रमणपछि यसै वर्ष भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालको भ्रमण गर्ने कुरा बाहिर आएको छ । दुवै नेताको भ्रमणबाट नेपाल अधिकतम फाइदा उठाउनसक्नुपर्छ । दुवै नेतालाई नेपाल भ्रमण गराउने ओलीको तयारीलाई महत्वका साथ हेरिएको छ । भारत र चीनबाट नेपालले फाइदा लिनसक्यो र नेपालको हितमा काम भयो भने ओली सरकारले मुलुकमा राजनीतिक स्थायित्व दिनसक्नेछ । अब ओली सरकारले देश र जनताको हितमा बृहत्तर काम गर्नुपर्छ ।
ओली सरकारलाई अब काम गर्न कसैले रोक्न सक्दैन । संसद्बाट विश्वासको मत लिइसकेको अहिलेको अवस्थामा अब साढे दुईवर्षम्म प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नपाइने संवैधानिक व्यवस्था छ । ओली सरकारले बलियो जनमत पाएको र काँग्रेसले एकतिहाइ मत पनि नल्याएको अवस्थामा यो सरकारविरुद्ध अविश्वासको प्रस्ताव आउने सम्भावना छैन । त्यसैले पनि बाम गठन्धनमा आबद्ध नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकताले झन् नयाँ सन्देश दिनेछ । २००७ सालदेखि अहिलेसम्म राजनीतिक अस्थिरता रहेको नेपालमा बल्ल राजनीतिक स्थिरताको लागि मार्गप्रशस्त भएको छ । ओली सरकारले पाँच वर्ष शासन गर्न पाउने अवस्था सिर्जना हुनु मुलुक र मुलुकबासीका लागि सुखद सन्देश हो । अब जातीय,धार्मिक र राजनीतिक विवादबाट माथि उठेर आर्थिक समृद्धि र विकासका लागि काम गर्नुपर्छ । जनमतलाई स्वीकार गरी काँग्रेससले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरी आफूलाई सुधार्नुपर्छ भने राप्रपाहरुले स्पष्ट दृष्टिकोण बनाई अगाडि बढ्नु नै बुद्धिमानी हुनेछ ।

eznepal-sidebar add

Rakshya Travel-sidebar