छुट पाउँदा महिलाको नाममा भू–स्वामित्व बढ्दै

असोज ११, तुलसीपुर । पछिल्लो समय दाङमा पनि महिलाको नाममा भू–स्वामित्व बढ्दै गएको छ ।

मालपोत कार्यालय घोराहीबाट चालू आर्थिक वर्षको डेढ महीनामा ६२३ महिलाले आफ्नो नाममा जग्गा पास गराएका छन् ।

समयक्रमसँगै महिला पनि सचेत एवं चनाखो बन्न थालेको भन्दै यसरी जग्गापास गर्ने महिलाको संख्यामा वृद्धि भएको मालपोत अधिकृत चेतलाल न्यौपानेले जानकारी दिए ।

‘महिला पनि सचेत बन्न थालेका छन्’, उनले भने, ‘पछिल्लो समय महिलाले आफ्नो नाममा जग्गा पास गर्ने गरेका छन् ।’ सरकारले महिला, दलित र ज्येष्ठ नागरिकका नाममा घरजग्गा पास गर्दा २५ प्रतिशत छुटसमेत दिने गरेकाले पनि थप आकर्षण पैदा गरेको उनको भनाइ छ ।

यसरी महिलाको नाममा जग्गा पास हुन थालेपछि महिला हिंसाका घटनापनि न्यूनीकरण हुने गरेका बताइन्छ ।

साथै मालपोतमा रजिष्टेशन पास गर्नेको संख्या पनि वृद्धि भएको छ । मालपोत अधिकृत न्यौपानेका अनुसार चालु आर्थिक वर्षको साउनदेखि अहिलेसम्म घोराहीबाट १ हजार २१२ घरजग्गा पास भएका छन् । जसमा ६२३ महिलाको संख्या छ भने ५८९ पुरुषको संख्या छ । रासस