सिन्सिनाटीमा गज़ल उत्सव सम्पन्न

-गोवर्धन पूजा

– बोस्टन , अमेरिका

अमेरिकाको ओहायो राज्यको सिन्सिनाटी सहरमा गज़ल उत्सवको तेस्रो सस्करण सम्पन्न भएको छ | गत शुक्रबार साँझबाट सुरुभएको उक्त उत्सव शनिबार दिनभर गज़ल वाचन र गायन गरेर सम्पन्न भएको हो |

तीन बर्षअघि टेक्सासका तीनजना उत्साही युवा गज़लकार पवन लामिछाने, वासु पुष्पा अधिकारी र नेत्र आचार्यको पहलमा सुरु भएको यो यात्रा गत वर्ष टेक्सासको डलासमा “गज़ल उत्सव-२” हुदै यसपटक ओहायोमा तेश्रो सस्करण आएको हो | यो उत्सवमा सरु काली , सतिश त्रिपाठी ,कृष्ण कुसुम, गोवर्धन पूजा आनन्द श्रेष्ठ , डिलु चम्लागाई , नरेश गौतम , सुरेश वाग्ले , विदुर दवाडी , केशव पौडेल , पूजा वागिश , अमृत न्यौपाने र पदम विश्वकर्माले पनि गत वर्षदेखि नै सक्रिय हिस्सेदार बन्दै आएका छन् |

गतवर्ष डलासमा दुई दर्जन गज़लकार र चारजना गज़ल गायकले उत्सवलाई नयाँ उडानमा उडाउने काम गरेका थिए भने यसपाली सिन्सिनाटी सस्करणमा चार दर्जन सर्जक सहभागी भए |

न मन्च न सभापति; सबै अतिथि :

बिदेशी भूमिमा हुने अधिकाँश कार्यक्रममा को को मन्चमा बस्ने भन्नेमा हानथाप देखिन्छ | अझ साहित्यिक सस्था वा आयोजक सस्थाका मूलशाखा र लहरे नातेदार त छदैछन, त्यसमा पनि स्थानीय संघ सस्था , जातीय संघसस्था र स्वकथित बरिष्टका कारण दर्शक र मन्चासिन व्यक्तिहरू बरावरीजस्तै देखिने गरेको पाइन्छ | सस्थाको कार्यक्रमको बिभिन्न सत्रमा पनि मन्चमा बस्ने व्यक्ति प्राय एउटै हुनुले दर्शक दीर्घा हेपिएको महसुस हुनु स्वभिकै ठान्ने हो भने गज़ल उत्सव यो रोगबाट अपवादित छ | यसमा सहभागी सबै बराबरी हुने गरेका छन् र व्यक्ति नभई रचनाले तालि पाउने गरेको छ |

वाचन क्रममा नयाँपन :

वाचन कसले पहिला गर्ने ? मलाई किन ढिला बोलाएको ?? सकिने बेलामा मलाई किन राखियो ??? भन्ने प्रश्न सामान्य हुन, साहित्यिक कार्यक्रममा | तर यसपटकको गज़ल उत्सवमा गज़लका अवयवहरू मतला, रदीफ, काफिया र मक्ता गरि चारसमूह बनाइएको थियो | जसको नेतृत्व गरेका थिए – कृष्ण कुसुम , आनन्द श्रेष्ठ , रोहित राना र गोवर्धन पूजाले | टीम क्याप्टेन नाम दिइए पनि उनीहरूले समूहमा सहजकर्ताको भूमिका निर्वाह गरेका थिए | जसको समूहमा १० /१० जना गज़लकार सहभागी थिए |गोला प्रथाद्वारा टीमका सदस्यले गज़ल बाचनको क्रम प्राप्त गरेका थिए | कार्यक्रममा कृष्ण कुसुमदेखि सुरु भएको बाचन गोवर्धन पूजामा गएर टुंगिएको थियो | कृष्ण कुसुम समूहमा विदुर दवाडी, केशव असफल,भक्त घिमिरे, पुरानाघरे, खेम रिजाल, सुशील रेग्मी, यदुनाथ अधिकारी, नरेश गौतम, र केशब न्यौपाने थिए | यसैगरि रोहित राना समूहमा डिल्लु चम्लागाई, अमृत लामिछाने, अजित राई, धर्मेन्द्र तिम्सिना, सतिश त्रिपाठी, भागवत बास्तोला, सुसन माझी, उत्तम साम्पाङ्ग, बिकु दादा, पातलो अन्तरे थिए | त्यस्तै आनन्द श्रेष्ठ समूहमा पवन लामिछाने, दुखि अतुल, पूर्ण नर्जली, सुरेश वाग्ले, पूजा वगिश, राज बराल, सविन शर्मा धिमाल, नेत्र आचार्य र सौरभ तिम्सिना थिए |

र गोवर्धन पूजाको अन्तिम समूहमा थिए -सरु काली, पदम विश्वकर्मा , मदन दुलाल, बासु पुष्पा अधिकारी, मणि गौतम , अविनाश भट्टराई एक्स्ट्रा, बैरागी माइलो, अरुण तामांग र चरण बजगाईं |

उत्सवले दिएको संदेश :

प्रवासमा नेपाली गज़ल फुलेको मात्रै छैन, लटरम्म फलेको पनि छ भन्ने संदेश दिएको छ, यसपटकको गज़ल उत्सवले | नेपालबाट अमेरिका आएका नेपाली भाषी भुटानी गज़लकार कुन्नि कुन कारणले छायामा परेका छन् भन्ने प्रश्नलाई चुनौती दिदै उनीहरुले पनि उत्कृष्ट गज़ल पेश गरेका थिए | भुटानी भएकै कारण नेपाली छापा र विधुतीय संचारमा सौतेलो व्यबहार खेपी रहेका स्पस्ट देखिने उनीहरूको गज़ल सुन्दा भौगोलिक सिमाना गज़लको मापन-रेखा हुनु हुदैन भन्ने संदेश मिल्दथ्यो |

सबैले सबैलाई सम्मान :

भूमिका रहित गज़ल वाचन अनि आफू भन्दापछि आउने गज़ल वाचकको सम्मान पूर्वक नाम बोलाउने क्रमता गज़ल उत्सवको अर्को विशेषता थियो | शनिवार बिहानको गज़ल कार्यशाला सत्रमा जानकारी गराइए अनुसार गज़ल वाचक कसैले पनि भूमिका बाधेनन | तर कार्यशालामा अनुपस्थित केहिले गज़ल वाचनपूर्व मुक्तक र गज़लका शेरहरू प्रस्तुत गरे पनि नमिठो अनुभूति भएन | त्यसैले कार्यक्रम संचालक नरेश गौतमले नत कसैलाई चिट दिनु नै पर्यो, नत वाचकको पछाडि बसेर “छिटो गर्नुस” भन्नु नै पर्यो | अनुमानित पाँच घण्टा बितेको पत्तो नै भएन |

प्राय सबैले सबैको गज़ल सुनेर सम्मान पूर्वक ताली बजाए | अझ अन्तिम गजल वाचक गोवर्धन पूजाको पालोमा त सबै दर्शकले सिटबाट उठेर ताली बजाएर सम्मान प्रकट गरेका थिए |

गज़ल गायनमा नयाँपन :

नेपालमै “सांगीतिक गुरु” बनेर अमेरिका आएका गायक केशव पौडेलले गतवर्ष जस्तै यसबर्ष पनि गज़ल गाएर उत्सवलाई मलजल दिने काम गरे | अन्य वाचकले जस्तै उनले पनि दुईटा गज़ल गाएर दर्शकको मन जित्ने काम गरे | उनीजस्तै राजु रसाइली र छबी नेउपानेले पनि सुन्दर गज़ल गाए | अझ साँझको समापन कार्यक्रममा त टेक दुधराजको गज़ल र गीतले धेरैको मन जीतेको थियो | सांगीतिक समूह डेविड सुरावी, अर्जुन रसाइली, अडी गुरुङको प्रस्तुतिले कार्यक्रम संगीतमय बनेको थियो |

सहयोगी हातहरू :

सहृदयी मनहरूका कारण यसपटकको गज़ल-उत्सव सफल भएको हो | ” होप” नामक सस्थाले सहयोग गरेको उत्सवमा संयोजक डिल्लु चम्लागाई र उनको परिवारको आतिथ्य सत्कार पनि उल्लेख्य थियो | यस्तै नरेश गौतमका दाजुभाइको सक्रियता र पेन्सिलभेनियाबाट गएर पनि दौडाहा बनेका नेत्र आचार्यको खटाईको जतिनै प्रसंशा गरे पनि थोरै हुन्छ| त्यसमा पवन र वासुको हार्दिकताको रङ्गले कार्यक्रमको रौनकता बढेको हो भन्न सकिन्छ |

र अन्त्यमा :

गज़ल उत्सवको चौथो सस्करण सम्भवतः अमेरिकाको ह्यारिस बर्गमा अथवा बोस्टनमा गरिने छ र सहभागिता र गुणस्तरीयताले अझै उचाई चुम्ने छ भन्ने आशा मात्रै होइन बिश्वास गर्न सकिन्छ |