पेट्रोलियम व्यवसायीलाई अग्नी नियन्त्रण तालिम

गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियशन अन्र्तगतका पेट्रोलपम्प संचालक र त्यसमा कार्यरत मजदुरहरुलाई आकस्मीक अग्नी नियन्त्रण सम्वन्धी प्रशिक्षण दिइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजनामा शनिवार पोखराको अमरसिंह चौरमा एशोसियशनका सदस्य पम्प संचालक र मजदुरहरुलाई अग्नी नियन्त्रण सम्वन्धी प्रशिक्षण दिईएको हो । समुदाय प्रहरी साँझेदारी कार्यक्रम अन्र्तगत जिल्ला प्रहरी कार्यालयले संवेदनशिल क्षेत्र मानिने पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायी र मजदुर गरी ६० जनालाई प्रशिक्षण दिएको हो ।

सहभागीहरुलाई नेपाली सेनाको पश्चिम पृतना अन्र्तगत विपद् व्यवस्थापनको कार्य गर्दै आइरहेको गौरीबक्स गुल्मका क्याप्टेन कंचन थापाले प्रशिक्षण दिएका थिए । आगलागी भैहाले त्यसलाई कसरी नियन्त्रणमा लिने भन्ने विषयमा प्रयोगात्मक अभ्यासका माध्यमद्धारा सहभागीलाई प्रशिक्षण दिइएको थियो ।

कतिपय पेट्रोलपम्पहरुमा राखिएको अग्नी नियन्त्रक उपकरण संचालन गर्न नजान्ने अवस्थामा रहेकाले पनि त्यसलाई कसरी प्रयोग गर्ने भन्ने बिषयमा सदस्य र मजदुरलाई ज्ञान नभएकाले जिल्ला प्रहरी कार्यालयको सम्वन्यमा तालिमको आयोजना गरिएको एशोशियशन अध्यक्ष राजन गोगंजुले जानकारी दिए ।

एशोसियशनले आकस्मीक अग्नी नियन्त्रणका लागि आफ्ना सदस्यहरुलाई ७५ केजीको अग्नी नियन्त्रण सिलिण्डर समेत बितरण गरेको सचिव जिबन क्षेत्रीले जानकारी दिए । पोखरामा अग्नी नियन्त्रण सिलिण्डरको कारोबार गर्दै आइरहेका राजेन्द्र प्रसाद वाग्लेले पेट्रोल पम्प र व्यवसायीक प्रतिष्ठान मात्र नभई घरहरुमा आगलागीबाट हुने जोखिमलाई न्यूनिकरण गर्नका लागि पनि सानो परिमाणमा रहेका सिलिण्डर र फायर बल राख्न सकिने बताए ।