‘नेकपालाई कुनै तागतले हराउन सक्दैन’

नेकपा नेताहरुले नेपालको समृद्धि यात्रा र जनताको चाहनालाई सम्बोधन गर्ने पार्टी नेकपामात्रै भएको दाबी गरेका छन् । उनीहरुले वैज्ञानिक सिद्धान्त, व्यवहारिक ज्ञान, कर्मठ कार्यकर्ता, सचेत मतदाता र देशको मार्गचित्र पार्टीसँग भएको दाबी गर्दै कुनै तागतले नेकपालाई हराउन नसक्ने जिकिर गरेका हुन् ।

पोखरा १७ दोबिल्लामा आयोजित कोणसभामा नेकपा कास्की अध्यक्ष कृष्ण थापाले देशभर नै नेकपाले भव्य नतिजा विजय हासिल गर्ने दाबी गर्दै कुनैपनि तागतले कास्की २ मा नेकपालाई हराउन नसक्ने जनाए । उनले भने, ‘आफ्ना क्षेत्रका जनताको विश्वास गुमाएर पराजित भएका व्यक्तिहरु कास्कीमा आएर नेकपा विरुद्ध बोलेको सुनेको छु । नैतिकता भन्ने चिज पनि हुन्छ नि ।’
तीनै तहका सरकारको काम, जनताको अपेक्षा सम्बोधन र नेता, कार्यकर्ताको लगनशिलताले कास्की २ मा नेकपाको विजय प्राविधिक रुपमा घोषणा गर्नमात्र निर्वाचन पर्खिनुपरेको बताए । नेकपा उम्मेदवार विद्या भट्टराई अधिकारीले स्थानीय सरकार, प्रदेश र संघसँग समन्वय गरी जनताका सपना पूरा गर्ने प्रतिवद्धता गरिन् । पोखरा १७ को दोबिल्ला, लामतारा, समृद्धिटोल, महतगौडा, रातोपैह्रा, घारीपाटन लगायतका क्षेत्रमा घरदैलो गरी उनले रवीन्द्रले आरम्भ गरी पूरा हुन बाँकी कामको नेतृत्व आफूलाई दिन निर्वाचित गराउन आग्रह गरिन् ।

नेकपा पोखरा १७ अध्यक्ष सुवास ढुंगानाले वडाको ८० प्रतिशत मत नेकपालाई आउने दाबी गरे । निर्वाचन परिचालन कमिटी पोखरा १७ का संयोजकसमेत रहेका ढुंगानाले मंगलबार पनि पोखरा १९ का विरौटा, छोरेपाटन लगायतका क्षेत्रमा उम्मेदवारसहितको घरदैलो हुने जानकारी दिए ।

पोखराको कृष्ति नाच्नेचौरमा सोमबारै भविष्यनिर्माण बुथको कार्यालय उद्घाटन गरिएको छ । कार्यक्रममा नेकपा पोखरा महानगर अध्यक्ष दीपक पौडेलले नेकपाको मजबुत उपस्थिति देखेर विपक्षीहरु आत्तिएको बताए । उनले महानगरका ११ वटै वडामा नेकपालाई अघिल्लो निर्वाचनभन्दा बढी मत प्राप्त हुने दाबी गरे । सभामा प्रचारप्रसार कमिटी सहसंयोजक झपट रानाभाट र श्रीराम सुवेदीले पनि बोलेका थिए ।

वडा नं ११ मा घरदैलो

निर्वाचनलाई लक्षित गरी पोखरा २ का ११ वटै वडामा नेकपाले घरदैलो गरिरहेको छ । सोमबार वडा नं ११ का विभिन्न टोलमा घरदैलो भएको छ । नेकपा केन्द्रीय कमिटी सदस्य चूडामणि जंगली, जिल्ला कमिटी सदस्य रुद्र विश्वकर्मा, पार्टी वडा कमिटी अध्यक्ष हर्कमान विश्वकर्मा,सचिव नारायणप्रसाद आचार्य लगायतले मतदातासमक्ष पार्टीको चुनावी प्रतिवद्धतासहित मत मागेका छन् । सोमबारै ११ नम्वर वडामा बुध संयोजकहरुलाई प्रशिक्षणसमेत दिइएको छ । नेकपा प्रदेश कमिटी सदस्य मीना गुरुङ र प्रदेश कमिटी सदस्य गंगा पोखरेलले युवालाई प्रशिक्षण दिएका थिए ।