सचेत बनौं, एक भोटले परिवर्तन सम्भव छ : संयोजक मिश्र

चुनावको मिति नजिकिएसँगै साझा पार्टीले अहिले मतदाता भेटघाटलाई तीव्रता दिइरहेको छ । देशका रिक्त क्षेत्रमा पार्टीका उम्मेदवार घरदैलोमा व्यस्त छन् । कास्कीमा पार्टीका तर्फबाट उम्मेदवार बनेकी रजनी केसीलाई साथ दिन पार्टीका केन्द्रिय संयोजक रवीन्द्र मिश्र पनि पोखरा छन् ।

उनीसहित पार्टीका नेता÷कार्यकर्ता निर्वाचन क्षेत्रका टोलटोलमा खटिएका छन् । घरदैलोकै क्रममा संयोजक मिश्र र उम्मेदवार केसीसहितको टोलीले सोमबार निर्वाचन क्षेत्रअन्तर्गत पोखरा–१६ का मतदातासँग भेटघाट गरेको छ । सो टोली वडाअन्तर्गतको लामाचौर, बाटुलेचौर, अर्मला, जैमुरे, महेन्द्र गुफा पुगेको थियो । मतदाता भेटघाट पछि बाटुलेचौरमा आयोजित साझा सभालाई सम्बोधन गर्दै संयोजक मिश्रले भोट मागेर सत्तामा पुगेकाहरुको जीवनशैली परिवर्तन भए पनि जनताको स्तर उकासिन नसकेको बताए । साझा पार्टी जनताको पार्टी भएको बताउँदै उनले जनताको सपनामा कहिल्यै घात नगर्ने स्पष्ट पारे ।

सभालाई सम्बोधन गर्दै उम्मेदवार केसीले परिवर्तनका लागि जनता सचेत हुने समय आएको बताइन् । उनले देशको राजनीतिक परिस्थिति नबदलिएसम्म देश पछाडि नै परिरहने टिप्पणी गरिन् ।

चुनाव प्रचारमा पुगेका साझाली सरसफाईमा

साझा पार्टीले मतदाता भेटघाटसँगै सरसफाईलाई पनि निरन्तरता दिइरहेको छ । कास्की क्षेत्र नम्बर २ का विभिन्न ११ वडामा विहानदेखि साँझसम्मै पार्टीका नेता कार्यकर्ताको भीड देखिन्छ । मतदानको मिति नजिकिएसँगै साझा पार्टी पनि मतदाता भेटघाटमा व्यस्त छ ।

सोमबार मतदाता भेट्न उम्मेदवार रजनी केसी सहितको टोली वडा नम्बर १६ पुग्यो । मतदाता भेट्न पुगेका साझाली सरसफाईमा जुटे । तर, यो साझालीहरुले पहिलोपटक गरेको कार्यक्रम भने थिएन । कुनै कार्यक्रम गर्नु पहिले सरसफाइ गरिन्छ अनि मात्र कार्यक्रम सुरु हुन्छ । सोमबार पनि प्रदेश र जिल्लाको नेतृत्वमा चुनाव प्रचारमा पुगेका साझाली सरसफाईमा जुटे ।

जनतामा अझै पनि चेतनाको कमी रहेको र सकरात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले सरसफाईलाई निरन्तरता दिने गरेको पार्टीका कास्की जिल्ला सदस्य एकराज न्यौपानेले जानकारी दिए । सोमबार पोखरा १६ को बाटुलेचौरमा घरदैलो गर्न पुग्दा पनि साझालीले त्यसैलाई निरन्तरता दिए । मंगलबार पोखरा–११ मा घरदैलो कार्यक्रम गरिने जिल्ला संयोजक अर्जुन प्रसाद खनालले जानकारी दिए ।