दशैँको साइत ९ बजेर ५१ मिनेटमा, यस्तो छ घटस्थापनादेखिको पूजा साईत

असोज ६, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको वडादशैँको विभिन्न साइत सार्वजनिक गरेको छ । यसवर्ष असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिन बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने साइत छ ।

असोज २५ गते बिहीवार बिहान १० बजेर २४ मिनेटमा झण्डा फेर्न शुभ हुने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । झण्डा फेर्दा पश्चिम फर्केर फेर्नुपर्ने उनले बताए ।

असोज २८ गते आइतवार पचली भैरव यात्रा परेको छ । यसैगरी असोज ३० गते मङ्गलवार फूलपाती भित्र्याइने छ । त्यसैदिन बिहान ९ बजेर २१ मिनेटमा तुलजा भवानीको यात्रा गराइन्छ । १० बजेर २ मिनेटमा भवानीलाई स्थिर आसनमा राखिन्छ ।

असोज ३१ गते बुधवार महाअष्टमी, कात्तिक १ गते बिहीवार महानवमी, कात्तिक २ गते शुक्रवार विजयादशमी अर्थात् दशैँको टीका परेको छ । विजयादशमीका दिन बिहान ९ बजेर ३९ मिनेटमा देवी विसर्जनको साइत निस्किएको छ । देवीको प्रसाद लगाउन साइत खोज्नेका लागि बिहान ९ बजेर ५१ मिनेटको साइत दिइएको अध्यक्ष प्रा डा गौतमले बताए ।

विजयादशमीकै दिन बिहान ८.३५ मा तुलजा भवानीको यात्रा गराइन्छ । भवानीलाई बिहान ९ बजेर ४४ मिनेटमा स्थिर आसनमा राखिन्छ । कात्तिक ६ गते मङ्गलवार सबै बलि पूर्ति गरी जमरा सेलाइन्छ ।

कात्तिक ७ गते बुधवार कोजाग्रत पूर्णिमा व्रत मनाएपछि नेपालीको महान् चाड बडादशैँ समापन हुनेछ । रासस

eznepal-sidebar add

Rakshya Travel-sidebar