१४ गते हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पुरा

कास्की क्षेत्र नं २ मा यही मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि ४१० सरकारी कर्मचारी मतदातस्थलतिर लागेका छन् ।

उपनिर्वाचनका लागि ८२ मतदान केन्द्र र ३२ मतदानस्थलमा ८२ मतदान अधिकृत तथा ८२ सहायक मतदान अधिकृत सहित ४ सय १० सरकारी कर्मचारी र ३ सय २८ स्वयमंसेवक मतदान क्षेत्रमा खटिने जिल्ला निर्वाचन कार्ययलका प्रमुख महेन्द्रराज सुवेदीले जानकारी दिएका छन् । मतदानका लागि निर्वाचन अधिकृतले ५६ प्रकारका निर्वाचन सामग्री बुझेर सम्बन्धित क्षेत्रमा जाने क्रम जारी रहेको रेग्मीले बताए ।

पोखरा महानगरपालिकाका विभिन्न ११ वडाका ७१ हजार १ सय ७१ मतदाताले प्रतिनिधिसभा सदस्यका लागि मत हाल्दैछन् । उक्त क्षेत्रमा १० स्वतन्त्र सहित २१ उम्मेदवारले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगले यही मङ्सिर १४ गते बिहान ७ः०० देखि बेलुकी ५ः०० बजेसम्म मतदानको समय तोकेको छ । त्यसैगरी सुरक्षा चुनौतीलाई ध्यान दिँदै एकृकीत सुरक्षा समितिमार्फत भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न सबै तयारी पूरा भएको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिएका छन् । निर्वाचनलाई सामान्य, संवेदनशील, अतिसंवेदशील गरी तीन तहमा विभाजित गरी सोहीअनुसारको सुरक्षा प्रबन्ध मिलाइएको केसीले बताए । सम्पूर्ण सुरक्षाकर्मी मतदानस्थलमा पुगिसकेका र सबै सुरक्षा प्रबन्ध मिलाइएको उनले बताएका छन् ।

मतदानका दिन अत्यावश्यक बाहेकका सवारी साधनमा रोक

जिल्ला प्रशासन कार्यालयले कास्की क्षेत्र नं–२ मा यही मङ्सिर १४ गते हुन गइरहेको उपनिर्वाचनका अवधिमा अति आवश्यक सेवा सवारीसाधन बाहेकका सवारी साधनको प्रवेश र सञ्चालनमा रोक लगाएको छ । मङ्सिर १३ गते राति १२ः०० बजेदेखि सो बन्देज शुरु भएपछि निर्वाचनको अवधिभर जारी रहने सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलद्वारा जारी गरिएको सूचनामा उल्लेख छ ।

अति आवश्यक सेवामा एम्बुलेन्स, शवबाहन, दमकल, खानेपानी, ट्याङ्कर, दूरसञ्चार, विद्युत् र अस्पतालभित्रका सेवाका साथै चुनाव प्रयोजनका लागि पास लिएका सवारीसाधनलाई रोक लगाइएको छैन । यसका साथै, कास्की क्षेत्र नं–२ भएर अर्को जिल्लामा आवतजावत गर्ने सवारी साधनलाई पूर्वमा विजयपुर खोला, पश्चिम–उत्तरमा याम्दी पुल, दक्षिण–पश्चिममा कालीमाटी खोलामा गाडी रोकेर राखिने सूचनामार्फत जानकारी गराइएको छ ।

त्यस्ता गाडीलाई ३/३ घण्टाको अन्तरालमा स्किर्टिङ गर्ने र बीचमा कुनै यात्रुलाई चढाउन तथा ओराल्न नपाउने गरी व्यवस्था मिलाइएको छ । यसका साथै, मतदान समाप्त नहुँदासम्मको अवधिमा अपरिचित व्यक्तिको प्रवेश, अस्वभाविक व्यवहार, शङ्कास्पद गतिविधि देखिएमा नजिकैको प्रहरीलाई तत्काल खबर गर्न अनुरोध गरिएको छ ।