श्रीनगर र माडीको प्रेम…

प्रकृतिले पनि अचम्मको बनाएको छ। हेर्नलाई आँखा रे। सोंच्नलाई दिमाग। सद्भाव र प्रेम देखाउनलाई मुटु वा दिल रे। महसुश गर्नलाई मन। यस्तै यस्तै। के के हो! के के !

आँखाले देख्यो। दिमागले सोंच्यो। मनले महसुश गर्यो। मन परायो। वा दिलमा बस्यो। यही प्रेम अरे। प्यार अरे। मायाँ अरे। अचम्म लाग्दो छ।

हुन त आँखाले देखेर या देखेकोमा मात्र प्रेम। प्यार। मायाँ बस्ने भन्ने हुँदैन। त्यसो भए दृष्टि विहीनहरुमा प्रेम भाव जाग्दैन त? भन्ने सवाल पनि आउँछ। तर उनीहरुले नदेखे पनि मनले महसुश गरेर प्रेम भाव जागृत गराउने। प्यार बढ्ने हुन्छ। झन उनीहरुले गर्ने प्रेममा विलक्षणता फरक हुन्छ। त्यसैले यो प्रकृतिको देन हो सबैलाई आ-आफ्नै खालको क्षमता र सुन्दरता दिलाएको छ।

प्रकृतिले बनाएको यही फरक फरक सुन्दरताहरु हाम्रो नजरले हेर्ने दृष्टिको सौन्दर्यमा भर पर्छ। व्यक्ति विशेषमा फरक रहन्छ। त्यसैले व्यक्ति पिच्छे रङ्गहरु प्रतिको चासो हुनु नै यसका कारण हुन्।

यस्तै सुन्दरतासंग जोडिएर आएको प्रसङ्गमा तानसेनको सुन्दरता। श्रीनगरडाँडा र माडीफाँट वीचमा सम्बन्ध बनाएर सृजीत गन्थन मन्थन आजको मनोवाद!

प्राकृतिक रुपले सुन्दर नगरी तानसेन, पाल्पा जिल्लाको सदरमुकाम हो। पुर्वतिर फर्केको सेपिलो भुवनावट। टाढा बाट नियाल्दा कतै राती आकाशबाट ताराहरु खसेर छरियो कि! झैं लाग्ने पाखा भरी छपक्कै सेताम्मे घरहरु। बजारको छेउतिर धर्तीको विशाल छातीमा त्यस्तो पहाडी ठाउँ पनि नपत्याउँदो टुँडिखेल। बजारको थप आकर्षण बनेको छ। राणाकालिन दरबार। हालको संग्राहलय। पिकनिक स्पर्टको रुपमा चिनिएको पर्यटकिय स्थल श्रीनगरडाँडा तानसेन बजारको थप आकर्षणका केन्द्र हुन्।

भारतको दर्जिलिङ्गसंग तुलाना हुने तानसेन बजार शिर को श्रीनगरडाँडा र त्यसमा रहेको सल्लाघारी वनले तानसेनलाई थप सौन्दर्य दिलाएको छ। श्रीनगरडाँडाबाट पुर्वतिर हेर्दा तल माडीफाँट लमतन्न सुतिरहेको देखिन्छ।

श्रीनगरडाँडा र माडीफाँटलाई हेरेर अचेल म हल्का प्रेमको दृष्टिले नियाल्न पुग्छु। लाग्छ श्रीनगरडाँडा र माडीफाँटको लब परेको छ। सिजन अनुसार रुप फेरिराख्ने माडीफाँट नारी पात्र हुन्। जसले मौसम अनुसार कहिले हरियाली। कहिले पहेँली। कहिले खैरी। कहिले रङ्गिबिरङ्गी भएर रुप फेरिरहन्छे। नव यौवन युवतीले जस्तै। पुरुष पात्रमा उभिएको श्रीनगरडाँडा। माडीफाँटको परिवर्तनशिल रुप र चाला देखेर दङ्ग पर्दै घरिघरी माडीफाँट माथि लोभी नजर डुलाउन पुग्छ। टुलुटुलु हेरिरहेको हुन्छ। आँखा झमिक्कै नगरी। जब मंसिर,पौष महिनाको विहानीमा पापी टुवाँलो र बादल आएर माडीफाँटलाई टमक्क ढाक्न पुग्छ। उसकै प्रियासी तिर अतुत रुपमा नजर डुलाईरहेको श्रीनगरडाँडालाई दुखीत बनाउँछ। र आँखामा आँसु भरिएर सल्लाघारीको पातहरुलाई निथ्रुक्क भिजाउँदै भुईँ सम्म थोपा थोपा भएर आँसु झार्न थाल्छ। रुन्चे भएर। कहिले ती टुवाँलो र बादलहरु माडीफाँटलाई छोेडेर श्रीनगरडाँडा तिरै आक्रमण गर्न आईपुग्छन्। त्यो बेला श्रीनगरडाँडाले सोंच्दो हो मनमा “मेरी माडीफाँटले मलाई देख्न नपाएर मैले जस्तै आँसु खसाल्दै हौलिन्। वियोग गर्दै छिन् शायद।” यो सबै प्रेमले त हो। प्यारले त हो। मायाँले त हो।

श्रीनगरलाई कहिले कहीँ तल गएर आफ्नो माडीफाँट लाई भेटुँ, नभएको हैन। उसकै समीप भएर स्पर्श गरुँ, नभएको कहाँ हो र! संगै बसेर आफ्नो मनमा भरिएको मायाँ रुपी शब्द लहरहरु उसैलाई समर्पण गरुँ, नभएको हो र ! कहिले कही प्रेमको प्रतीक नेपालको ताज महल ‘रानीमहल’ सम्म माडीफाँटलाई लिएर जान्छु। अनि निरन्तर बगिरहने काली गण्डकीको निश्चल पानी छोएर उनीसंगै जिन्दगी कटाउने कसम खान्छु सोंचेर पनि साथमा लिएर जान सकिरहेको छैन। किन कि आफ्नै विवस्ताहरु छन् उनसको पनि।

लमतन्न सुतिरेकी माडीफाँट जुरुक्कै उठिन् भने उसकै छत्रछायाँमा आश्रित, उसकै छातीमा टेकेर उफ्रिँदै रमाउने। उसकै शिर देखि पाउ सम्म तन फोरेर उम्रेको वनस्पतिका दाना खाएर रमाईरहेका मनुवा जातिहरुको उठीबास होलान्। रुवाबासी होलान्। सराप देलान्। विलाप गर्लान् भन्ने चिन्ता माडीफाँटको मनमा हुन्छ। श्रीनगरडाँडा आफैं उठेर जाउँ त तानसेन बजारको साँगुरा गल्लीहरुमा फुटपाटे देखि भाव्य महलमा व्यापार गरिरहेका व्यापारीहरु। कामै नभए पनि जाडोको घाम ताप्न र नुनको सोझो गर्ने अफिसका जागिरेहरु। चाहिने बेलामा पानी नआए पनि हरेक तलामा आधुनिक किसिमका धारा। शौचालय जडन गरि बनाएका ठुला अग्ला घरका धनाध्यहरु। सुन्दर भविष्यको परिकल्पना बोकेर साँगुरो कोठामा जिन्दगी गुजारिरहेका विद्यार्थी मनुवाहरुलाई पुरिएला। घरहरु भत्किएला भन्ने श्रीनगर डाँडाको चिन्ता। जसले गर्दा न माडीफाँट उठ्न सक्छिन्। न त श्रीनगरडाँडा आफैं कुद्न सकेको छ।

उनीहरु यही कारणले गर्दा एक अर्कोमा समीप हुन सकि रहेको छैन। जस्तै मान्छेको अनुहारका दुईटा आँखाहरु। आँखाहरु पनि त, न टाढा छन्। नजिक रहेर पनि न त कहिल्यै संगै हुन पाए। दुरी त वीचको एउटा नाकको डाँडा मात्र न थियो। आकाश र धर्ती जस्तै सधैं देखिरहने तर कहिल्यै समीपमा आएर जोडिन र स्पर्श गर्न नसक्ने। अचम्मको यो पनि।

जब साउन,भदौ महिनाको बर्षात हुन्छ। श्रीनगरडाँडा लाई माडीफाँट कै चिन्ता लाग्छ। उसले देख्न सक्छ तर माडीफाँटको पीडा आधा बाँडेर लिन सक्दैन। यो उसले चाहेर पनि आधा पीडा शेयर गर्न नसकिरहेको उसको वाध्यता हो। किन उसलाई चिन्ता फेरि? उत्तर- किन कि बर्षातमा माडीफाँटको तन भरी टलक्कै बाढीले ढाक्न पुग्छ। श्रीनगरडाँडाको आँखा ओभानो हुँदैन। आँसु बर्सिरहन्छ निरन्तर। उसकै आँखा देखि बगेर शुरु भएको आँसु, अनुहार र ज्यान हुँदै पैतालाबाट छुटेर जान्छ। र पुन: माडीफाँटको तनलाई ढाक्ने पानीलाई सहयता दिन पुग्छ। माडीफाँटलाई कति पीडा होला ? कति व्यथा होला ? कल्पना भन्दा बाहिरको कुरा। त्यस समयमा श्रीनगडाँडालाई मनुवा प्रति क्रोधको भाव जागेर आउँछ। तानसेनमा बाक्लिँदै गएको अव्यवस्थित मानव बस्ती, नियम विपरित बन्दै गरेका भौतिक संरचना र त्यसबाट उत्पन्न प्रदूषण र मनुवाहरुले प्रयोग गरिरहेका स्वच्छ वातावरणलाई हानिकारक विनाशकारी अवैध वस्तुहरु। विषादीहरु। फोहोरका डाङ्गुरहरु। उसको नजरमा आएर फनफनी र झल्झलती घुम्न थाल्छ।

किन श्रीनगरडाँडालाई यस प्रतिको चासो र चिन्तन् ?
किन कि हरेक फोहोर बगेर जान्छ। आखिर आफ्नै दिलमा सजाइएको माडीफाँटको तनमा लपक्कै ढाक्न पुग्छन्। कति सफा, स्वच्छ र सुन्दर माडीफाँटको तनमा फोहोरबाट जाने नालीको डुङ्डगुङती गन्हाउने पानी। फोहोरको डाङ्गुर देख्न सक्लान् त ? कति मन जल्दो हो श्रीनगर मडाँडाको! यस विषयमा मनुवा जातिले सोंचेका छन् त ? उनीहरु नै जानुन्। किन कि प्राणी जगतको सर्व श्रेष्ठ प्राणी मनुवा जाति हुन् भनेर उनीहरुलाई थाहा छ। त्यसैले धेरै घमण्ड गर्छन्। तर व्यवहारमा आजकल पशु भन्ने वर्गका जनवारहरुले भन्दा तल्लो स्तरका हर्कतहरु गर्न तम्सिन्छन् त्यही मनुवा जातिहरु।

माडीफाँटलाई पनि कहिले कहीँ मनुवा जातिको व्यवहार र क्रियाकलापहरु देखेर असह्या नभएको हैन। उसले पनि अघोषित आन्दोलन गरुँ कि सोंच्न पुग्छिन्। आफ्नो गर्भवाट मनुवाले खाने वनस्पतिका दानाको उत्पादनलाई जानी जानी घटाई दिउँ लाग्छ। तर मनुवा जाति जस्तो कठोर, निर्दयी र लोभी बन्ने मन हुँदैन। फेरि आफै चित्त भुझाउँछिन् “फलेको वृक्षले नै त हो हजारौं पत्थरले हानेको चोट सहने” भनेर। जति चोट खान परे पनि फल फल्ने बोटहरु फल फल्न सक्नुको मजा मै रमाउँछन्। माडीफाँटको सोंच यस्तै आउँछ। तर आजकल माडीफाँट लाई अलिक डर बढ्न थालेको छ। तानसेनको शरीर चिरा चिरा पारेर दलालीहरुले टुक्रा पारेर बेचेको सिध्याएको देख्दा भोलि मेरो पनि यस्तै हालत हुने त हैन ? उसले सोंच्छिन्। घोरिन्छिन्। एकान्तमा आँसु बगाएर तिनाउ खोलामा मिसाएर पठाउँछिन्। नहोस् भनेर प्रार्थना गर्छिन्। मनुवा जातिकी नारीहरुलाई आफ्नै बाटो भएर बच्चा जन्मिन नदिएर पेट चिरेर अप्रेशन गरि जवर्जस्ती बच्चा निकाल्छन्। त्यस्तै कुन बेला बिना गर्भवतीकी मलाई पनि ती फटाहा दलालीहरुले आफुले नाफा खान कै लागि मेरो ज्यानको अप्रेशन गर्न आई पुग्ने हुन् भनेर सशंकित हुन्छिन्। दुखी हुन्छिन् एक निरीह नारी जस्तै ती माडीफाँट पनि।

यसरी नै मनुवाहरुले आफ्नो स्वार्थको लागि वातावरणीय पक्षमा ध्यान नदिएर क्रियाकलाप गरेको देख्दा श्रीनगर डाँडा स्तब्ध हुन्छ। मनुवाहरुले आफ्नै घुँडामा बञ्चरो हान्ने काम गर्दैछन्। आफ्नै झुपडीमा आगो झोस्दैछन्। आफैंले पिउने पानीमा जहर हाल्दैछन्। आफैले फेर्ने स्वासमा विषादी मिसाउँदैछन्। आफ्नै घरको जग खन्दैछन्। यस्तै सोंच्छ। तर मनुवा जातिले आफ्नै घमण्डले यस बारे सोंचेका छैनन्। वर्तमानमा रमाउन जानेका मनुवाहरु भविष्यलाई एक रति सोंच्न नसक्दा भविष्य झन झनै अन्धकारतिर गईरहेको उनीहरु सोंच्दैनन्। श्रीनगरडाँडाले यस्तै गुनासो पोख्छ।

श्रीनगरडाँडा र माडीफाँट दुबैले मनुवा जातिलाई वातावरण विनाशले आफ्नै भावी सन्तातिको लागि जटिल समस्या निम्ट्याईरहेको दुखेसो गर्दैछन्। उनीहरु चाहन्छन्, वातावरणलाई जोगाउनु। आफ्नै स्वास्थ्य जोगाउनु हो। भविष्यमा हुने जोखिम र सन्तातिको लागि स्वच्छ वातावरण तयार गर्नु हो। सबै मनुवा जाति मिलेर आफु बचौं, अरुलाई बचाौं र वातावरणलाई बचाउन सहयोग गर्नुहोस् भनेर अनुरोध गर्दैछन्। बाँकी रह्यो “मै जान्दछु” भन्ने मनुवा जातिको हातमा। हेर्दै जाम।

श्रीनगरडाँडा र माडीफाँटको गुनासो सुन्न तयार छौं त हामी ? उनीहरुको अनुरोधलाई मानेर व्यवहार गर्दा हामीलाई नै फाइदा हुन्छ भने अझैं अलमल गर्ने र ?
र हामी सोंचौं त, श्रीनगरडाँडा र माडीफाँट समीप हुन नपाए जस्तै भविष्यमा मनुवा जाति र धर्ती वीचको समीप हरायो भने!

– गम बयम्बु मगर
निस्दी गाउँपालिका-६ अर्चले,पाल्पा
१४, मंसिर – २०७६