अफगानिस्तानमा सहायता एजेन्सीका पाँचको हत्या, जापानी चिकित्सक मारिए

अफगानिस्तानको जलालावाद शहरमा एक सहायता समूहका पाँच जना कर्मचारीको गोली हानी हत्या गरिएको छ । उक्त हत्याकाण्डमा परी एकजना अन्तर्राष्ट्रिय सहायता समूहका कर्मचारी पनि सख्त घाइते भएका बताइएको छ । यस विषयको पूर्ण विवरण भने आएको छैन ।

एएफपीका अनुसार गोलीकाण्डमा जापानी चिकित्सक ७२ वर्षीय तेत्सु नाकामुराको हत्या भएको छ । अफगानिस्तानको पूर्व क्षेत्रमा पर्ने नान्गाहार प्रान्तको जलालावादमा सो हत्याकाण्ड भएको हो । उक्त शहरमा सवारी साधनमा यात्रा गरिरहेका उनीहरुमाथि आतंककारीहरुले गोली हानेका थिए ।

जलालावाद शहरमा यात्रामा रहेको उनीहरुको सवारी साधनमा आतंककारीले गोली चलाएका उक्त प्रान्तका प्रान्तीय प्रवक्ताले जानकारी दिएका छन् । नान्गाहार प्रान्तका प्रान्तीय प्रवक्ता अतुल्लाह खोग्यानीले दिएको जानकारी अनुसार उक्त सहायता समूहका कर्मचारी चढेको गाडीमा अज्ञात आतंककारी समूहका व्यक्तिहरुले गोली हानेका थिए । त्यस हमलाको बारेमा प्रहरीले अनुसन्धान थालेको प्रवक्ता खोग्यानीले बताए ।