हेन्डसम आनन्दजीको बोली पनि राम्रो

आनन्द विष्ट सायद अमेरिकामा बसोबास गर्ने धेरैजसो नेपालीहरुले सुनेकै नाम हुनुपर्छ । २०५४ सालमा अमेरिका छिरेदेखि नै र सामाजिक तथा राजनितिक क्षेत्रमा सक्रिय बिष्ट सन् २००२ मा शाही शासनकालविरुद्ध नेतृत्व लिएर अन्तर्राष्ट्रिय जगतमा जनमत सिर्जना गर्न न्युयोर्कदेखि लागिपरेका थिए ।

एक छोरा, एक छोरी र श्रीमतीका साथ अमेरिकाको न्युयोर्कमा बस्दै आएका विष्टको नेपालमा पुख्र्याैली घरठेगाना डोटी हो । संघर्षशील र सहयोगी स्वभावका विस्ट नेपाल युथ डेमोक्रेटिक काउन्सिल अमेरिकाको दुई कार्यकाल अध्यक्ष भइसकेका छन् । नेपाल जनसम्र्पक समिति अमेरिकाको स्थापना गर्नेमध्येका एक संस्थापक हाल सोही नेपाल जनसम्पर्क समितिका अध्यक्ष आनन्द विष्ट र उनकी धर्मपत्नी संगीता विष्टसँग गरिएको कुराकानीको केही अशं ः

—तपाईंहरुको भेट कसरी र कुन अवस्थामा भयो ?
संगीता ः उहाँ पढ्ने सिलसिला काठमाडौं आउनुभएको थियो र उहाँ मेरो साथीको घरमा बस्नुहुन्थ्यो र म त्यहाँ आउनेजाने क्रममा उहाँसँग भेट हुन पुगेको थियो ।

तपाईंहरुको मागी विवाह हो कि प्रेम ?
आनन्द ः प्रेम विवाह नै भएको हो ।

—कुन कुराले एक अर्काप्रति आकर्षित हुन पुग्नुभयो त नि ?
संगीता ः उहाँ झट्ट हेर्दाखेरी पनि हेन्डसम हुनु हुन्थ्यो साथै बोलीचालीबाट पनि प्रभावित भएँ म ।
आनन्द ः म बेलाबेलामा साथी घरमा गइरहन्थे साथै उनी पनि त्यहाँ आइरहन्थिन् । त्यसैक्रममा उनको बानीबेहोरा बोलीचाली देखेर उनीप्रति आकर्षण हुन पुगें । सामान्य बोलीचाली हँुदाहँुदै एकअर्कोप्रति आकर्षण हुन पुग्यौं ।

आनन्दजी अमेरिका आउनुभएपछि केही समय तपाईंहरु एक्लाएक्लै जस्तो हुनुभयो । —त्यो बेलाको अनुभूति कस्तो थियो ?
आनन्द ः यसबीचको अवस्था सम्झनु पर्दा मलाई धेरै कहाली लाग्छ विशेष गरी विवाह भएको ३ वर्षपछाडि २०५४ सालमा म अमेरिका आउँदा उनी कलिलै उमेरकी थिइन् त्यसपछिको नौ वर्षको यात्रा उनले मेरो लागि जसरी पीडामा बिताइन्, त्यो मेरो जीवनमा उनीप्रति कहिल्यै बिर्सन नसक्ने क्षणको रुपमा रहेको छ ।
संगीता ः विवाह गर्दा म सानै थिएँ । अरुका श्रीमान्श्रीमतीहरु सँगै हिँड्दा पनि आफूलाई पनि रहर लागेर आउँथ्यो । उहाँलाई एक्लै हुँदाको पीडाजस्तो हुन्थ्यो, मलाई पनि त्यस्तै पीडा हुन्थ्यो ।

—तपार्इंहरुको प्रेम विवाह घर परिवारलाई मनाउन कसरी सफल हुनुभयो ?
आनन्द ः मेरो स्कुले जीवन भारतको देरादुनमा नै बित्यो । त्यसपछि २०४८ सालमा म काठमाडौं शंकरदेव क्याम्पस भर्ना भएँ । म आएको तीनचार महिनामा नै बुबा बित्नु भयो । मेरो परिवारमा आमा र दाइहरु हुनुहुन्थ्यो । सानैदेखि केही गरांै भन्ने उत्साही स्वभाव भएकाले मप्रति परिवारको ठूलो आशा, भरोसा थियो तर म काठमाडौं आएको केही समयमै विवाह गर्ने कुरा घर परिवारले थाहा पाएपछि उहाँहरु अली निरास हुनुभयो । छोराले केही गर्छ कि भनेर पढ्न पठाएको २१ वर्ष पनि नपुग्दै विवाह गर्ने कुरा सुनेर परिवारमा केही तनावसमेत भयो । त्यसैबीचमा हाम्रो विवाह भयो । विवाह भएको केही समयसम्म परिवार खुसी भएन । तर मेरो डेमोक्रेटिक परिवार भएकाले पछि सहज रुपमा नै लिनु थाल्नुभयो ।
संगीता ः मलाई पनि घरपरिवार मनाउन गाह्रो भएको थियो किन कि मेरो उमेर पनि सानै थियो । त्यसमाथि उहाँको घर काठमाडांै भन्दा बाहिर भएकाले केटाको घरमा कस्तो छ न उसको बिहे पो भइसकेको पो छ कि ? भन्ने किसिमका कुराहरु भएकाले ममीले अलि गाह्रो मान्नुभएको थियो । पछि सबै बुझ्नुभयो त्यसपछि हुन्छ त नि भनेर सबै मान्नुभयो ।

—आनन्दजी एकदम व्यस्त मान्छे, यस्तो अवस्थामा छोराछोरीले बाबाले हामीलाई समय दिनुभएन भनेर तपाईंसग केही गुनासो त गर्दैनन् ?
संगीता ः किन नगर्ने ? गर्छन् नि । छोरा त अलि ठूलो भसइसक्यो । उसलेचाहिँ बाबाको कामबारे धेरै थाहा पनि पाइसकेकाले खासै धेरै कुरा गर्र्दैन । तर छोरी सानी पनि छ । उसले बाबालाई धेरै मिस गरेकी हुन्छे कहिलेकहिले त फोन गरेर बाबा तपार्इं आज आउने हो कि भोलि आउने हो भनेर सोध्छे । किन कि बाबा घरबाट हिँडेपछि घर आउने हो कि नआउने हो भनेर ऊ पनि दोधारमा हुन्छे ।

—आनन्दजी तपाईंले के घरपरिवारलाई कम टाइम दिनुभएकै हो र ?
आनन्द ः हो मैले घरपरिवारलाई कम समय दिएको छुजस्तो मलाई पनि फिलिङ भएको छ । म एक त पोल्टिकल कार्यकर्ता पनि भएँ । सामाजिक कार्यकर्ता पनि भएको कारणले मेरो दायित्व राजनीतिक संस्थाप्रति त छँदैछ अर्कोतर्फ समाजतर्फ पनि मेरो उत्तिकै दायित्व भएको कारणले सबै साथीभाइहरुलाई सयोग गर्ने पर्ने कामहरु बेलाबेलामा आइरहन्छन् त्यसकारणले गर्दा श्रीमती बालबच्चाहरुलाई भने जति समय दिन सकिरहेको छैन ।

—संगीताजीलाई आनन्दजीको सबैभन्दा तपाईंलाई मन पर्ने कुरा ? साथै मन नपर्ने कुरा ?
संगीता ः उहाँको सबैभन्दा मन पर्ने बानी उहाँ रिसाउनुहुन्न, रिसाए पनि एकैछिनमा हाँसिहाल्नुहुन्छ, बोलिहाल्नुहुन्छ । मन नपर्ने कुरा त खासै केही छैन तै पनि घरपरिवारलाई धेरै टाइम दिन सक्नुहुन्न त्यही हो ।

—संगीताजीबारे आनन्दजीको ?
आनन्द ः माथि उनले मेरो सबैभन्दा मन पर्ने कुरा भनिन् । त्यसको ठिक उल्टो उनी रिसाएपछि दुई तीन दिनसम्म पनि नबोल्ने उनको बानी छ ।

—आनन्दजीले के खाना मनपराउनुहुन्छ ?
संगीता ः उहाँलाई यो उ, भन्ने छैन जे पनि मन पराउनुहुन्छ ।

—खाना पकाउन आननन्दजी कतिको सिपालु हुनुहुन्छ ?
संगीता ः सिपालु नै हुनुहुन्छ । परेको बेलामा पकाउनुहुन्छ ।

—सगीताले पकाएको सबैभन्दा आनन्दजीलाई मन पर्ने परिकार ?
आनन्द ः उनले पकाउने धेरैजसो परिकारहरु स्वाथ्यको हिसाबले बनाउएकी हुन्छिन् । नुन, मसला, पिरो, चिल्लो, सबै ठिकठिकै किसिमले राखेकी हुन्छिन् । तर मलाई चिटिक्क परेको पिरो नुनिलो ट्वाक्क परेको चाहिन्छ । उनले बनाएको खसीको मासु मलाई एकदम मन पर्छ ।