भारतीय हेपाइको पराकाष्ठा

मित्र बदल्न सकिन्छ, तर छिमेकी सकिन्न भन्ने भनाइको राम्रो पाठक अहिले नेपाली जनता जति अरु कसैले बुझ्न नसकेको हुनुपर्छ । छिमेकी भारतले मुखले होइन भन्दै व्यवहारमा नाकाबन्दी गरेपछि केही वर्षयता मत्थर एन्टीइन्डियन सेन्टीमेन्ट फेरि उत्पातै उर्लेको छ नेपालमा छ । उल्कापातै गरेपछि यो स्वभाविक पनि हो । नेपाली राजनीतिमा भारतले सधैं आफू अनुकूलता खोज्छ भन्ने भनिन्थ्यो । यथेष्ट प्रमाणबिना पनि यस्तो कुरा हो भन्ने लाग्थ्यो । तर, उदाहरणकै लागि भनेर दसीसहित पेस गर्न सकिने अवस्था थिएन । नेपालमा संविधान बनेको भोलिपल्टदेखि नै भारतले नेपालमा नाकाबन्दी गरेपछि उसको दादागिरी छरपस्टै भयो । संविधानले त दीर्घकालीन असर गर्ने भएकाले भारत तल्लो स्तरमै ओर्लेर यति साह्रो दबाब दियो नेपाललाई ।
फिजी भन्ने मुलुकमा त्यहाँका आदिवासीलाई अल्पमतमा पारेर भारतीय आप्रवासीहरुले राज गरिरहेका छन् । अंगिकृत नागरिकता भएकाहरुलाई पनि राष्ट्रपति, प्रधानमन्त्री वा अन्य प्रमुख पदमा पुग्न दिनुपर्छ भनेर भारतले दबाब दिनुभनेको नेपाललाई पनि फिजी बनाउन चाहनु हो । आफ्नो हत्केलामा नेपाललाई नचाउन चाहनु हो । मधेसमा जहिले पनि नागरिकताको विषय उठाइन्थ्यो र त्यसलाई भारतको इन्ट्रेसमा उठेको आरोप लगाइन्थ्यो । आज आएर त्यो कुरा पनि सिद्ध भएको छ । अंगिकृत नागरिकतावालालाई पनि वंशजको सरह मान्यता दिनु भनेको त हाम्रो मधेसी नेपालीलाई पनि पछि पार्न खोज्नु हो । यो कुराचाहिँ हाम्रै नेपाली दाजुभाइ दिदीबहिनीले बुझ्नुपर्छ ।
२००७ सालपछि नेपाल सरकारको मन्त्रिपरिषद बैठक बस्दा भारतीय दूत सदस्य सचिव को भूमिकामा बस्थे । त्यतिसाह्रो थियो नेपालमाथि भारतको हस्तक्षेप । त्यो हस्तक्षेत्र बल्लतल्ल हटाएका थिए नेपालीले । २०२५ सालसम्म नेपालको उत्तरी सीमामा भारतीय फौज बस्थ्यो । राजा महेन्द्रले त्यो हटाए ठूलो जोखिम र साहससहित । आफ्नो भूमिका नेपालमा साँघुरिँदै गएको भान भारतलाई भएपछि ऊ आफ्ना नागरिकहरुलाई नेपालमा बहुमतमा पु¥याएर फिजी बनाउने सपना देख्दैछ । त्यसको मतियार बननून नेपालको मधेसका जनता भन्ने कामना अहिले सच्चा नेपालीले गर्नुपरिरहेको छ । हो मधेस हेपिएको छ, चेपिएको छ । तर, यो मामलामा लडाइँ झगडा गर्ने भनेको नेपालीहरुसँगै हो । भारतीय हस्तक्षेपमा निम्तो दिनुभनेको चाहिँ देशद्रोह हो ।
भारतले लगाएको नाकाबन्दीलाई अवसरमा बदल्न सके नेपालले विकासको फड्को मार्छ । तर, नेपालीहरु जति खाल्डोमा परे पनि बाहिर निस्केपछि खाल्डो पुर्न बिर्सने जाति भएको छ । अस्ति भर्खर भइँचालोले तातोपानी—काठमाडौं सडक बिगारेपछि असोजसम्म पनि नबनाउनु त्यही खाल्डो रहिरहन दिनु हो । बिर्सने र पाठ नसिक्ने बानीको उपज हो । अब भारतले जुनसुकै बेला जे गरोस् हामी आत्मनिर्भर हुनुपर्छ भन्ने पाठ सिकेर जलविद्युत आयोजनाहरुलाई द्रूततर गतिमा निर्माण गर्नुपर्छ नेपालले । भारतसँग मात्रै होइन, चीनतिरबाट पनि आयात गर्न सकिने थुप्रै नाका छन् नेपालको सीमामा । तर चीनले ती नाका खोलेको छैन । र नेपालले ती नाकाबाट आफ्नोपट्टि बाटो लगायत पूर्वाधार बनाएको छैन अहिलेसम्म । अब बनाउनुपर्छ । उत्तर विकल्प खुला गर्नुपर्छ । होइन भने भारतले फेरि हेप्छ । हामी नेपाली जन्मदेखि स्वतन्त्र छौं । हामीलाई कसैको परतन्त्र स्वीकार छैन ।