राष्ट्रियसभा निर्वाचनका लागि ४५ उम्मेदवार

राष्ट्रियसभा सदस्यको १८ पदका लागि आगामी माघ ९ गते हुने निर्वाचनमा ४५ जनाको उम्मेदवारी परेको छ । उक्त निर्वाचनका लागि मुलुकका सातै प्रदेशमा आज भएको उम्मेदवारी मनोनयपत्र दर्ता शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद गौतमले जानकारी दिएका छन् ।

बिहान १०ः०० देखि अपराह्न ३ः०० बजेसम्म उम्मेदवारी मनोनयन दर्ता कार्यक्रम सञ्चालन भएको थियो । आगामी फागुन २० मा दुईवर्षे कार्यकाल पूरा गर्ने नेपाल कम्युनिष्ट पार्टी नेकपाका ९, नेपाली काँग्रेसका ७, राजपाका २ र समाजवादी पार्टीका १ सदस्यको स्थानमा निर्वाचन हुन लागेको हो निर्वाचनबाट महिला सात, दलित दुई, अल्पसङ्ख्यक दुई र अन्य समूहबाट सात सदस्य निर्वाचित हुने छन् ।

निर्वाचन आयोगका अनुसार, प्रदेश नं १ मा महिला, दलित र अन्य समूहका १÷१ पदका लागि ३÷३ को उम्मेदवारी परेको छ । प्रदेश नं २ मा महिला, दलित, अल्पसङ्ख्यक र अन्य समूहका १÷१ पदका लागि २÷२ जनाले उम्मेवारी दर्ता गराएका छन् ।

प्रदेश नं ३ मा महिला र अन्य समूहका १÷१ पदका लागि ३÷३ को उम्मेदवारी मनोनयन पत्र दर्ता भएको छ । गण्डकी प्रदेशमा महिला र अन्य समूहका १÷१ पदका लागि महिलातर्फ २ र अन्य समूहतर्फ ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश नं ५ मा महिला एक, अल्पसङ्ख्यक १ र अन्य समूहका १÷१ पदका लागि क्रमशः २, ३ र ४ जनाको उम्मेदवारी परेको छ । कर्णाली प्रदेशमा रिक्त हुने महिला १ र अन्य समूहको १ पदका लागि २÷२ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ । प्रदेश नं ७ मा महिला र अन्य समूहका १÷१ पदका लागि २÷२ जनाको उम्मेदवारी परेको छ ।

५९ सदस्यीय राष्ट्रियसभाका १९ जनाको आगामी फागुन २० गते पदावधि सकिँदैछ । पदावधि सकिनेमध्ये १ सदस्य मनोनित गरिने छन् । राष्ट्रियसभा सदस्यका मतदाता गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख, प्रदेशसभाका सदस्य हुन् ।