नेपालयको अठोट

nepalayanews-logo-2015अमेरिकी स्वतन्त्र संग्रामका नेता तथा तेस्रो अमेरिकी राष्ट्रपति थोमस जेफरसनले भनेका थिए—सरकारबिना पनि देश चल्नसक्ला तर पत्रकारिताबिना देश चल्न सक्दैन । पत्रकारिताको महत्व कति छ भनेर यही भनाइले प्रष्ट पारेको छ । अमेरिकाको नेपाली समुदायले आफ्नै सरकार पाउने त तत्कालका लागि सम्भव हुने कुरा भएन, तर थोमस जेफरसनले भनेको जस्तो पत्रकारिता पाओस् भन्ने अभिप्रायबाट हामीले ‘नेपालय’ पाक्षिक पत्रिकाको सुरुवात गरेका छौं ।

अमेरिकामा बस्ने नेपालीहरुको हितमा कलम चलाउनु नै नेपालय पत्रिकाको उद्देश्य हो । आवाजविहीनहरुको आवाज भनिन्छ पत्रकारितालाई । अमेरिका जत्रो विशाल देशमा नेपाली समुदाय भनेको वास्तवमा आवाजविहीन समुदाय पनि हो । त्यसैले यो समुदायको आवाज मुखरित गर्नु नेपालय पत्रिकाको पहिलो कर्म हुनेछ । विश्वभरिका मानिसहरुको आगमनले विविधतापूर्ण समाज बनेको अमेरिकामा नेपालीहरुको पहिचानलाई उठाउने धर्म पनि नेपालय पत्रिकाले निर्वाह गर्नेछ ।
पहिचानका पहिला सर्तहरुमध्येमै पर्छ भाषा । नेपाली भाषामा पत्रिका सञ्चालन गरेर यो भाषालाई अमेरिकामा पनि सजीव बनाउन प्रयत्न गर्नुपर्छ भन्ने मान्यताकै बीचबाट नेपालय पत्रिका जन्मिएको हो । हामी सकेसम्म मौलिक र मानक नेपाली भाषाको प्रयोगमा जोड दिनेछौं । यही पत्रिकामार्फत नेपाली कलासंस्कृतिलाई प्रवद्र्धन गर्ने कर्तव्य पूरा हुने विश्वास पनि समादरणीय पाठकहरुसामु व्यक्त गर्छाैं ।

न्युयोर्कमा नेपाली मिडियाको अभाव थिएन र छैन । तर अभाव थियो त केवल सबै नेपालीले विश्वास गर्न सक्ने अखबार र अनलाइनको । त्यही अभाव पूरा गर्ने जमर्काे नेपालय पत्रिका र नेपालयन्युज डटकमले गर्नेछ । हामी सबै नेपालीबीच सामुदायिक एकताका लागि ‘पहल पत्रकारिता’ पनि गर्नेछौं । सबै जात, लिंग, भाषा, भूगोल र धर्मका नेपालीको समावेशी आवाज पनि दिनेछौं । लोक कल्याणकारी प्रजातान्त्रिक मूल्य मान्यतालाई सम्मान गर्दै मातृभूमि नेपालको सेवामा जहाँबाट भए पनि लाग्न प्रेरित गर्ने हाम्रो पत्रिकाको उद्देश्य हुनेछ । नेपाली र अरु आप्रवासीका लागि आवश्यक हुन सक्ने यो कर्मभूमि अमेरिकाको र नेपालको खबर हामी छुटाउने छैनौं । नेपालीका आलावा हाम्रो कथाव्यथा सुहाउने आप्रवासीहरुको हित अनुकूलको कलम चलाउनुपर्छ भन्ने पनि बिर्सने छैनौं । हाम्रा तमाम उद्देश्य र लक्ष्य पूरा गर्न तपाईं विद्वान पाठक र शुभेच्छुक विज्ञापनदाता तथा ग्राहक वर्गको सधैं साथ र सहयोगको अपेक्षा गर्दछौं ।