ओलीको बोली र भोलि

एमाले अध्यक्ष तथा नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओली आफ्नाबीच अत्यन्तै प्रिय र विपक्षीका निम्ति अत्यन्तै अप्रिय नेता हुन् । उनको जति प्रशंसा नेपाली राजनीतिमा भएको छ, त्यति नै धेरै आलोचना पनि भएको छ । उनी खरो स्वभावका लागि परिचित छन् । खरो कुरा गर्दा कहिले आफ्ना मान्छे गदगद गर्छन् र कहिले विपक्षी मुर्मुरिन्छन् । त्यस्ता नेताका कुराले उत्तेजित हुने पक्ष र विपक्ष विचारका मान्छेहरु भइहाल्छन् । समयको पांग्रा गुड्दै आउँदा केपी ओली राजनीतिबाट प्राप्त हुनेसम्मको सबैभन्दा सर्वाेच्च पदमा पुग्न सफल भएका छन् । यी तिनै केपी ओली हुन् जो, गणतान्त्रिक संविधान बनिसकेको नेपालको पहिलो प्रधानमन्त्री भए, जसले आन्दोलन गरेर गणतन्त्र ल्याउनु भनेको काठमाडौंको रत्नपार्कबाट बयल गाडामा अमेरिका जान्छु भन्नु हो भन्थे ।
माओवादी हिंसात्मक आन्दोलनप्रति पनि ओली बोली खरो गरी निस्कन्थ्यो । सायद त्यही खरो टिका टिप्पणी नै हो उनलाई आलोचना र प्रशंसाको चुचुरोमा पु¥याउने चिज पनि । पछिल्लो समय मधेस आन्दोलनको पनि कटु आलोचना गरेपछि ओलीको बोली निकै चर्चित बन्यो । पहाडमा मेरो घरको आँगन पनि समथर छ, मधेसमा राख भन्दै मधेस केन्द्रित दलहरुलाई तीखो प्रहार गरेपछि तराई मधेसका नेता तथा जनता बिच्किए पनि । हिजो गैरसत्ताधारी दलमा रहँदा उनले जे बोले पनि भएको थियो । अब अर्थात प्रधानमन्त्री भइसकेपछि त्यस्ता बचन दुर्बचन बोल्न सुहाउने कुरा होइन् । टुक्के महाराज भन्नेसम्मको संज्ञा उनलाई आलोचकहरुले भिराइसकेका छन् । उनले त्यो छवि सुधार्नै पर्छ । हिजो गिरिजाप्रसाद कोइराला जीवनको धेरै कालखण्ड आलोचित भएर रहे अनि अन्तिम क्षणमा आएर भने प्रशंसित बने सशस्त्र द्वन्द्वको अन्त्यका लागि गरेको प्रयासका कारण । ओलीले पनि मौका पाएका छन्, देशमा दीर्घकालीन शान्तिको जग बलियो बनाउने र आर्थिक क्रान्तिको जग बसाल्ने ।
२०५१ सालमा मनमोहन अधिकारी नेतृत्वमा एमालेले सरकार बनाएपछि आफ्नो गाउँ आफैं बनाऔं कार्यक्रम ल्यायो र लोकप्रिय भयो । वृद्ध भत्ताको कार्यक्रमले पनि उसलाई लोकप्रिय बनायो । तर एमालेको सरकारले नै हो अरुण तेस्रो हाइड्रो पावर आयोजना सञ्चालनलाई रोकेको । त्यसैको प्रतिफल देशले आज बिजुलीको लोडसेडिङ भोगिरहेको छ । अझ भारतले पछिल्लो समय नाकाबन्दी लगाएपछि झन् बिजुलीको महत्व कति रैछ भन्ने वोध नेपालीलाई भएको छ । कनिका छराइको बजेट निर्माण गर्नु र ठूला विद्युत आयोजना रोक्ने पक्का कम्युनिस्ट चरित्रले एमालेको तत्कालीन सरकारको आलोचना पनि विज्ञहरुले गर्दै आएका छन् । तर, पछि त्यही पार्टीबाट प्रधानमन्त्री बनेका झलनाथ खनालले भित्तामा …औं प्रधानमन्त्री भनेर फोटो झुन्ड्याउने सिवायको उपलब्धि हासिल गरेनन् । माधव नेपालले भने शान्ति प्रक्रियालाई अघि बढाएका थिए । अब ओलीको पालो आएको छ । देशले भारतबाट नाकाबन्दी भोगेका बेला तत्कालका लागि उनको कार्यक्षमता छिमेकीसँगको कूटनीतिक सफलता पाउनुमा देखिएला तर, दीर्घकालीन रुपमा उनले पूरा गर्नुपर्ने कर्तव्य धेरै छन् । नयाँ संविधानलाई सबै देशबासीले अपनत्व अनुभूति दिलाउन सक्नुपर्छ प्रधानमन्त्री ओलीले । अब नेपालमा राजनीतिक क्रान्ति पूर्ण भएको छ । त्यसैले आर्थिक क्रान्तिको जग राख्नैपर्छ । तब मात्रै ओलिलाई भोलिले पनि सम्झने छ । होइन भने उनी पनि फोटो झुन्ड्याउनै प्रधानमन्त्री भएको सावित हुनेछ । त्यस्तो फोटे प्रधानमन्त्री भएर जनतालाई न हर्ष हुनेछ न त विस्मात नै ।